Sutra News
कथा र अभिनयमा उत्कृष्ट ‘अभिमन्यु’ले अहिलेसम्म कति कमायो ?
काठमाडौं । मंसिर १८ गतेदेखि प्रदर्शनमा आएको क्राइम–सस्पेन्स फिल्म ‘अभिमन्युः : च्याप्टर १’ ले समीक्षक र दर्शकबाट प्रशंसा त बटुल्यो, तर बक्सअफिसमा भने अपेक्षित सफलता हात पार्न सकेन।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको हालसम्मको बक्सअफिस रिपोर्टअनुसार फिल्मले २१ लाख ४८ हजार ७०२ नेरु ग्रस मात्र कमाएको छ। पछिल्लो शनिबारसम्म फिल्मका ६ हजार ८५० टिकट बिक्री भएका छन्, जुन व्यापारिक हिसाबले कमजोर मानिन्छ।
कामेश्वर चौरासिया र लक्ष्मी वर्देवा मुख्य भूमिकामा रहेको फिल्मले प्रिमियर शोदेखि नै सकारात्मक प्रतिक्रिया पाएको थियो। क्राइम–सस्पेन्स विधामा बनेको फिल्मको कथावस्तु, प्रस्तुति, कलाकारको अभिनय र प्राविधिक पक्षलाई दर्शक तथा समीक्षकले खुलेर प्रशंसा गरेका थिए।
धेरै दर्शकले फिल्मले सुरूदेखि अन्त्यसम्म बाँधेर राख्ने प्रतिक्रिया दिए। तर राम्रो ‘वर्ड अफ माउथ’ हुँदाहुँदै पनि हलमा दर्शकको भीड भने जुट्न सकेन।
सुशान्त गौतमको डेब्यु निर्देशन रहेको ‘अभिमन्युः : च्याप्टर १’ ले तराई–मधेसको सामाजिक परिवेशमा जरा गाडेको दाइजो प्रथा र त्यसले निम्त्याउने पीडा लाई क्राइम–थ्रिलर शैलीमा प्रस्तुत गरेको छ।
फिल्ममा कामेश्वर र लक्ष्मीसँगै किरण श्रेष्ठ, गौमाया गुरुङ, सरिता गिरी, प्रकाश दाहाल र शिशिर बाङदेलको अभिनय छ। अभिनेत्री रेखा थापा अतिथि भूमिकामा देखिएकी छन्।
मुकेश खनालको लेखन रहेको फिल्मका ‘क्रिएटिभ डिरेक्टर’ मदन थापा हुन्। विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको फिल्म अहिले धेरै हलबाट उत्रिसकेको छ।