राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
एचआईभी नियन्त्रणमा सञ्चारकर्मीको भूमिका खोजिँदै
वीरगन्ज । एचआईभी–एड्स अझै पनि नेपालका लागि सार्वजनिक स्वास्थ्यको गम्भीर चुनौतीका रूपमा रहँदै पाइएको छ । संक्रमण नियन्त्रण, उपचारमा पहुँच विस्तार र समाजमा व्याप्त कलंक तथा विभेद न्यूनीकरणका लागि सञ्चारमाध्यमको भूमिका खोजिनुले अझै यसको समस्या रहेको पाइएको हो ।
समावेशी, समतामूलक तथा पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यसहित एड्स हेल्थ फाउन्डेसन (एएचएफ) नेपाल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको सहकार्यमा शनिबार वीरगन्जका पत्रकारहरुसँग एचआईभीको वर्तमान अवस्था, सरकारी नीति, उपचारको उपलब्धता र भावी रणनीति’bout अन्तरक्रिया पनि गरिएको छ । कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले सन् २०३० सम्म नेपालमा एचआईभीलाई सार्वजनिक स्वास्थ्य समस्याका रूपमा अन्त्य गर्ने सरकारी लक्ष्य रहेको जनाए । तथापि दातृ निकायहरूको अनुदान कटौती र राज्यको लगानी घट्दै जानुले लक्ष्य हासिलमा भने चुनौती थपिएको उनको तर्क थियो । यद्यपि, समावेशी र समानतामूलक स्वास्थ्य सेवामार्फत एचआईभी उपचारलाई निरन्तरता दिने सरकारको प्रतिबद्धता भने कायमै रहेको उनले बताए ।

नयाँ संक्रमण रोकथाम, संक्रमितको स्वास्थ्य सुधार र उच्च जोखिम समूहमा देखिएको असमानता घटाउने राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२०२६ ले लक्ष्य लिएको छ । योजना विश्वव्यापी ९५–९५–९५ लक्ष्यअनुरूप तयार गरिएको पाइएको हो । लक्ष्य पूरा गर्न अधिकांश संक्रमितको पहिचान, उपचारमा समावेशीकरण र भाइरल लोड संप्रेसन सुनिश्चित गर्ने पनि राष्ट्रिय लक्ष्य छ ।
राष्ट्रिय एचआईभी अनुमान २०२५ अनुसार नेपालमा हाल ३६ हजारभन्दा बढी मानिस एचआईभीसँग बाँचिरहेका छन् । वार्षिक रूपमा झन्डै ७ सय नयाँ संक्रमण देखिनु र ५ सयभन्दा बढीको मृत्यु हुनु चुनौतीपूर्ण अवस्था भएको विज्ञहरूको विश्लेषण छ । विशेषगरी मधेश प्रदेशमा बागमतीपछि संक्रमितको संख्या बढी देखिनुले स्थानीयस्तरमै जनचेतना र पहुँच विस्तारको आवश्यकता खड्किएकोले कार्यक्रम पर्सामा पनि गरिएको आयोजक संस्थाले जनाएको छ ।
आर्थिक वर्ष २०८१–८२ मा देशभर २७ हजारभन्दा बढी संक्रमित एआरटी उपचार प्रयोगमा छन्। प्रदेशगत तथ्यांकले उपचार सेवामा पहुँच विस्तार भए पनि अझै केही समुदाय र भूगोलमा सेवाको प्रभावकारिता बढाउनु पर्ने टड्कारो अवस्थालाई नकार्न नसकिने राष्ट्रिय एड्स तथा यौन रोग विारण केन्द्र (एनसिएएससी) का नेर्देशक समेत रहेका डा शर्माले बताए ।
एड्स हेल्थ फाउन्डेसन नेपालका वरिष्ठ कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले एचआईभीलाई स्वास्थ्य मात्र नभई विकासको अवरोधका रूपमा बुझ्नुपर्ने तर्क पनि गरे । “यो साझा समस्या हो, सबैको सहकार्यबिना नियन्त्रण सम्भव छैन,” उनले भने ।
सञ्चारकर्मीसँगको सहकार्यले एचआईभी–एड्सविरुद्धको लडाइँमा सही सूचना प्रवाह, भ्रम चिर्ने र संक्रमित प्रति समाजले हेर्ने दृष्टिकोण परिवर्तन हुनेमा केन्द्रका सूचना अधिकारी लोकराज पाण्डेको पनि भनाइ छ । वीरगन्जका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो ।
The post एचआईभी नियन्त्रणमा सञ्चारकर्मीको भूमिका खोजिँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....