npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

संघीय सरकारको निर्देशन अगावै भक्तपुर नगरपालिकाभित्र सञ्चालित विद्यालयहरू पूर्ववत् रूपमा सञ्चालन हुने

न्युज अफ नेपाल 13 hours ago

भक्तपुर ।

संघीय सरकारको निर्देशन अगावै भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालयहरू पूर्ववत् रूपमा सञ्चालन हुने  भएका छन्।

सरकारले नयाँ शैक्षिक सत्रको पठनपाठन वैशाख २१ गतेबाट सुरु गर्न भनेको भए पनि नगर कार्यपालिकाको आज बसेको बैठकले सामुदायिक, संस्थागत तथा गुठीअन्तर्गतका सबै विद्यालयहरू पूर्वनिर्धारित शैक्षिक क्यालेण्डरअनुसार सञ्चालन गर्ने निर्णय गरेको हो।

यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीले चैत २६ गतेको परिपत्रमार्फत मन्त्रिपरिषद्को निर्णयअनुसार २०८३ सालको शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने र शनिवार–आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गर्न निर्देशन दिएको थियो।

तर स्थानीय तहका विद्यालयहरू, परीक्षा समितिहरू तथा संस्थागत विद्यालय संघ नेपाल, प्याब्सन, नेसनल प्याब्सन, पेट्सान, हिसानलगायत संस्थाहरूले दुई दिन बिदा हुँदा पठनपाठन प्रभावित हुने र आवश्यक क्रेडिट आवर पूरा गर्न कठिनाइ हुने भन्दै आइतबार पनि विद्यालय सञ्चालन गर्नुपर्ने माग गरेका थिए।

यस्तै अभिभावक संघले पनि वैशाख १ गतेदेखि नै शैक्षिक सत्र सुरु गर्न र आइतबार विद्यालय सञ्चालन गर्न माग गर्दै नगरपालिकामा ज्ञापनपत्र बुझाएको थियो।

शिक्षा नियमावली, २०५९ (संशोधनसहित) अनुसार एक शैक्षिक सत्रमा २२० कार्य दिन हुनुपर्ने व्यवस्था छ । साथै, सर्वोच्च अदालतको चैत २० गतेको आदेशलाई पनि नगरपालिकाले ध्यानमा राखेको जनाएको छ।

स्थानीय तहको अधिकार क्षेत्रअन्तर्गत आधारभूत तथा माध्यमिक शिक्षा पर्ने संवैधानिक व्यवस्थाअनुसार, सरोकारवालाहरूको सुझाव, कानुनी प्रावधान र व्यवहारिक आवश्यकतालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको नगरपालिकाले स्पष्ट पारेको छ।

उपत्यका बाहिरका कतिपय स्थानीय तहले यसअघि नै यस्तो निर्णय गरेको भए पनि उपत्यकामा पहिलो पटक भक्तपुर नगरपालिकाले संघीय सरकारको निर्देशन अगावै नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालयहरू पूर्ववत् रूपमा सञ्चालन गर्ने निर्णय गरेको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

जसअनुसार वैशाख ६गते  आइतबारदेखि नियमित कक्षा सञ्चालन हुने भएका छन् ।

जिल्लाका अरु ३ नगरपालिका सुर्यबिनायक,चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाले पनि यसबारे छलफल गरिरहेको जनाएका छन् ।

Read more news from News of Nepal

Explore by Source or Category