npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

‘सरी दाइ गल्ती भयो’ भन्दै जब सुलभ अग्रवाल दीपक भट्टको खुट्टा समातेर रोए…

रोविन पौडेल 7 hours ago

अघिल्लो भागबाट क्रमश…

काठमाडौं । जसले आफ्नै बुबालाई जेल हाल्यो, भाइको करियर सिध्याइदियो र साझेदारहरूलाई पनि धोका दिएर बदनाम गर्यो, उही सुलभ अग्रवालसँग यतिबेला ‘हिमालयन ग्रुप’का साझेदारहरू ‘फायर’ छन् ।

हिमालयन ग्रुप कुनै कागजमा कोरिएको समूह होइन । यो त व्यापारिक घराना शंकर ग्रुप, शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल र इन्फिनिटी होल्डिङ्समार्फत व्यापार व्यवसाय गर्दै आएका स्थापित ‘पावर ब्रोकर’ दीपक भट्टमाथि अतिविश्वास गर्ने व्यवसायीहरूको सञ्जाल मात्र हो। 

हिमालयन नामका विभिन्न कर्पोरेट हाउस आफ्नो स्वामित्वमा लिएर वित्तीय क्षेत्रको एउटा साम्राज्य नै हाँक्ने योजना बनाएका व्यवसायीहरूको समूह हो । सुरुमा हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्सपछि हिमालयन स्टक एक्सचेन्ज ताकेर बसेका यी व्यवसायीको नजरमा हिमालयन नाम जोडिएका सबै वित्तीय संस्थालाई एउटै छानामुनि ल्याउने योजना थियो । हिमालन बैंकमा भएको हबिब बैंकको सेयर किन्न मरिहत्ते गरेको यो ग्रुप सुलभकै हठका कारण नराम्रोसँग चिप्लिइसकेको छ ।

पछिल्लो समय सुलभले अनावश्यक रुपमा शक्तिको दम्भ देखाउँदा यो समूह कतियप चिताएका कामहरु गर्न असफल हुँदै आएको थियो ।

हिमालयन साम्राज्य नै चलाउने योजनाले उचाइ लिँदै गर्दा यो समूहमा आबद्ध अन्य व्यवसायीहरूले सुलभ र भट्टलाई आँखा चिम्लेर विश्वास गरे ।

यतिसम्म कि सुलभले ‘डिफ्याक्टो’ शासक बनेर कम्पनी चलाउँदा आफूहरू ‘सेरेमोनियल’ सञ्चालक बनेर मौन समर्थन गरे । कतिपय ठाउँमा त सुलभको संरक्षक बनेर उभिए ।

अहिले भने सुलभले ‘पब्लिक मनी’ (जनताको पैसा) दुरुपयोग गरेर आफू र आफ्नो इज्जतलाई खाडलमा हालिदिएको भनेर हिमालयन ग्रुपका साझेदारहरू सुलभसँग विषवमन गरिरहेका छन् । करिब ५ वर्ष एकछत्र राज गरेको हिमालय समूह सुलभ र भट्ट पक्राउ परेसँगै तितरवितर भएको छ ।

‘उसलाई पैसा कमाउन यति धेरै हतार छ, यति हतार छ कि आफ्नो बुबालाई पुलिसको हिरासतमा पुर्‍यायो, भाइको करियर बर्बाद गरिदियो, ऊ कति खतरनाक होला ? कति अपराधिक मानसिकताको होला ?’ सुलभका साझेदारसमेत रहेका एक व्यवसायीले क्लिकमान्डुसँग भने, ‘हिमालयन ग्रुपका दुई–चार जना पार्टनरहरू अहिले सुलभले धोका दियो, यति कमजोर भएको महसुस बिजनेस करियरमा कहिल्यै गरेको थिइनँ, सुलभलाई धेरै विश्वास गर्नुको परिणाम भनौं, यतिको बेइज्जती कहिल्यै भोगेको थिइनँ भन्दै हिँडेका छन् ।’

सुलभलाई समयमै चिन्न नसक्नु गल्ती भएको महसुस गरेर आत्मग्लानी गरिरहेका छन् ।

के सुलभ साँच्चिकै ‘क्रिमिनल माइन्डेड’ व्यक्ति थिए ?

स्रोतका अनुसार शेखर गोल्छा हिमालयन रिका अध्यक्ष भए पनि कम्पनी भने सुलभले नै चलाउँथे । सुलभ र भट्टले मिलाएको चाँजोपाँजोमा तत्कालीन नेपाल बिमा समिति (हालः नेपाल बिमा प्राधिकरण) ले हिमालयन रिलाई लाइसेन्स दिएको थियो ।

१०० वर्ष पुरानो औद्योगिक घरानाको सदस्य रहेका गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षसमेत रहेका कारण सुलभ र दीपकले गोल्छालाई अध्यक्ष बनाएका थिए। किनकी गोल्छाको लिगेसी र क्रेडिबिलिटीले बजारमा विश्वास आर्जन गर्न सकिने र राज्यसत्तासँग डिल गर्न पनि सजिलो हुने देखेर उनलाई हिमालयन रिको अध्यक्ष बनाइदिए । देशकै ठूलोमध्येको पुँजीकरण भएको कम्पनीको अध्यक्ष बन्न पाएपछि गोल्छा पनि त्यतिबेला सहमत भएका थिए ।

तर, हिमालयन रिमा गोल्छा कार्यकारीभन्दा पनि औपचारिक अध्यक्ष मात्र थिए । सञ्चालक समितिको बैठकमा उपस्थित भएर सुलभले कम्पनी चलाउँथे । सुलभले हिमालयन रिका अध्यक्ष गोल्छा र अरू सञ्चालकहरूलाई अनेक लोभ देखाउँथे, कहिलेकाहीँ १ महिना जस्तोमा १५–२० प्रतिशतसम्म नाफा हुने आइडिया ल्याउँथे । कहिलेकाहीँ भनेको काम १५–२० मिनेटमै गरिदिन्थे । एकदिन ग्रुपकै एकजना सदस्यलाई चीनको बेइजिङमा आपत् पर्यो, उनले सुलभलाई एक कल फोन लगाए । सुलभले नभन्दै १० मिनेटमै काम सल्टाइदिएका थिए । ‘त्यस्तो ठाउँमा (हिमालयन रिको बोर्डमा) किन बसेको ?’ भनेर निकटस्थले सोध्दा ‘आपत् परेका बेला काम लाग्छ’ भनेर जवाफ दिन्थे अध्यक्ष गोल्छा र सञ्चालकहरू ।

हिमालयन रिमा सुलभ अध्यक्ष थिएनन्, न त सञ्चालक नै । तर, उनी हरेक बोर्ड मिटिङमा उपस्थित हुन्थे । कसैले चुइँक्क प्रश्न गर्दैनथ्यो । निर्णय पनि सुलभले भने अनुसार नै हुन्थ्यो । उनी हिमालयन लाइफको मात्र अध्यक्ष थिए । लाइफमा त सुलभले भने अनुसार चल्थ्यो चल्ने भैगयो, रिमा पनि उनैले भनेअनुसार हुन्थ्यो । ‘एस म्यान’ जस्तै थिए अरू, कसैले प्रश्न गर्दैनथ्यो सुलभलाई ।

सुलभलाई सबैले विश्वास गर्थे । थर्मल गन काण्डमा पक्राउ परेका सुलभ दीपक भट्टको राजनीतिक शक्ति लगाएर जोगाएपछि मात्तिन थालेका थिए । सुलभ शक्तिको आडमा यतिसम्म लठ्ठ भएर मात्तिएका थिए कि उनी सरकारी उच्च तहका अधिकारीलाई समेत मुखै छाडेर गाली गर्थे । मन्त्रीकै अगाडि सचिव, सहसचिव र नियामक नियकायका हाकिमहरुलाई अपशब्द प्रयोग गरेर गाली गलौज गर्दा पनि मन्त्री चुपचाप सहेर बसेका थुप्रै उदाहारण उनका साझेदारहरु प्रत्यक्ष देखेको र सुनेको बताउँछन् । सुलभको यही शक्ति देखेर उनीमाथि साझेदारहरू अन्धभक्त भएर विश्वास गर्न थाले । केही परे सुलभले मिलाइहाल्छ नि ‘टेन्सन मत करो’ (चिन्ता नगर्नु) भन्थे ।

मिलुन्जेलसम्म यो चमत्कार नै थियो ।

एकदिन सुलभले गोल्छा, अमित मोर, रोहित गुप्ता र राजबहादुर शाहलाई आफ्नो अफिसमा बोलाए । अनि भने, ‘एकदम राम्रो अपर्चुनिटी छ, लगानी गरौं ।’ सबैले ‘के त्यस्तो अवसर हो ?’ भनेर सोधे । सुलभले ‘नेपाल रिइन्स्योरेन्सको हकप्रद सेयर आउँदै गरेको’ विषय सुनाए । उनको प्रस्ताव थियो, ‘४०–४० करोड रूपैयाँ (कुल २ अर्ब) संकलन गरेर एउटा पुल फन्ड बनाऔं । हिमालयन रिका सञ्चालकहरू बाहेकको नाममा नेपाल रिको सेयर किनौं ।’

नेपाल रिले हकप्रद जारी गर्छ भन्ने सार्वजनिक ज्ञानको विषय थियो । नेपाल बिमा प्राधिकरणले पुनर्बिमा कम्पनीको चुक्तापुँजी २० अर्ब रुपैयाँ हुनुपर्छ भनेको छ ।

उपस्थित चारै जनाले ‘के नयाँ भयो त ?’ भनेर प्रतिप्रश्न गरेपछि सुलभले ‘आफूले सबै सेटिङ मिलाएको र केही दिनमै अर्थ मन्त्रालयबाट स्वीकृति आउने’ जवाफ दिए ।

यो असारको कुरा हो । त्यतिबेला विष्णु पौडेल अर्थमन्त्री र घनश्याम उपाध्याय अर्थसचिव थिए । उनले अर्थका सबैसँग कुरा मिलाइसकेको भन्दै ‘अहिले लगानी गर्ने हो भने १५-२० प्रतिशत नाफा तुरुन्तै हुन्छ’ भन्ने जवाफ दिए ।

त्यसपछि सबैले आ–आफ्नो वकिलसँग यसरी लगानी गर्दा के-कसो हुने हो ? भन्ने राय मागे । सबैका वकिलले ‘कर तिरेको पैसा हालेर सेयर किन्दा फरक पर्दैन, तर आफ्नो नाममा नकिन्नु’ भन्ने जवाफ दिएपछि उनीहरूले राम्रै लाभ पाउने आशमा ‘हुन्छ’ भने ।

सहमति अनुसार गोल्छा, गुप्ता र शाहले शाहको नाममा, अमितको सेयर भाइ ऋषिराज मोरको नाममा र सुलभको सेयर दीपक भट्टको नाममा किन्ने तय भयो । सुरुमा दीपकले आफ्नो नाममा सेयर किन्न अस्वीकार गरेपनि सुलभले ढिपी गरेपछि सहमत भए।

पछि सो फन्डमा सबैले ५०-५० करोड रूपैयाँ हाले, राम्रै नाफा देखेर । त्यो बेला नेपाल रिको औसत मूल्य १३५०–१३६० रूपैयाँ प्रतिकित्ता थियो । गोल्छा र गुप्ताले भृकुटी स्टक ब्रोकरमा १ अर्ब रुपैयाँ हाले । गोल्छाले साढे ५२ करोड र गुप्ताले साढे ४७ करोड रूपैयाँ । सहमतिअनुसार भृकुटीले राजबहादुरलाई कुल डेढ अर्ब रूपैयाँ एडभान्स दियो । ऋषिराजको नाममा १ अर्ब रुपैयाँ (अमितले हालेको भन्दा ५० करोड रूपैयाँ बढी) एडभान्स दियो । त्यस्तै भृकुटी ब्रोकरबाट सुलभले आफ्नी श्रीमती सुभी अग्रवालका नाममा ५० करोड रुपैयाँ नगदै लिए । र, त्यो पैसा आफ्नो खातामा सारे ।

भृकुटी स्टक ब्रोकरमा सुलभले जे भन्यो त्यही चल्थ्यो । भृकुटीकी लगानीकर्ता सुधा मनोज कर्णकी श्रीमती हुन् । मनोज सुलभका कर्मचारी हुन् भने चाचन थर भएका अर्का लगानीकर्ताले पैसा कमाउने आशमा सुलभले जे भन्यो त्यही मान्थे । २० करोड पुँजी हालेका ती सञ्चालक केही महिनामै ५-७ करोड रुपैयाँ कमाउने भएपछि सुलभले जे भन्यो त्यही गर्न तम्तयार बने ।

सुलभले चाचन र कर्णलाई एडभान्स हाल्ने आदेश दिँदा ‘टेन्सन क्यू ले रहे हो ? हिमालयन रिका पैसा है ना’ (टेन्सन किन लिन्छौ ? हिमालयन रिको पैसा छ नि) भन्थे ।

ब्रोकरले बयान दिएका छन्, ‘मलाई सुलभ सरले महिनाको केही लाख दिनुहुन्थ्यो । मैले के गर्ने त ? पैसा पनि उताबाट आउँथ्यो, खर्च पनि उहाँ नै गर्नुहुन्थ्यो । मेरो खातामा पैसा आएकै छैन, जसै आउँथ्यो तसै जान्थ्यो । म त सानो मान्छे हो, मैले के गर्ने ?’

यसरी ५५ नम्बर ब्रोकरले पनि सुलभले जहाँ–जहाँ भन्थे त्यही खातामा एडभान्स हालिदिन्थ्यो । सो ब्रोकरमा हिमालयन रिले सेयर किन्न भनेर २ अर्ब ७३ करोड ३० लाख रूपैयाँ राखेको थियो ।

यसरी हेर्दा गोल्छा र गुप्ताले भृकुटीसँग १ अर्ब रूपैयाँ लिन बाँकी छ । अमित मोरले ५० करोड रुपैयाँ लिन बाँकी छ । शाहले भृकुटीलाई १ अर्ब तिर्न बाँकी छ भने ऋषिराजले १ अर्ब रुपैयाँ तिर्न बाँकी देखिन्छ । उता सुलभको सेयर दीपक भट्टको नाममा किनेको देखिन्छ भने श्रीमतिका नाममा ५० करोड रुपैयाँ लिएर पनि सुलभले सेयर किनेको देखिन्छ । प्राविधिक रूपमा हेर्ने हो भने गोल्छा र गुप्ताले हालेको पैसाले शाहको नाममा सेयर खरिद भएको देखिन्छ ।

हिमालयन रिलगायत कम्पनीको ३ अर्ब ८१ करोड रूपैयाँ एडभान्स लिएको ब्रोकरलाई स्रोत जुटाउन कुनै सकस परेन ।

भट्टको नाममा रहेको सेयरको विषयमा यसअघिको भागमा उल्लेख भइसकेको छ ।

नेपाल रि किन्ने गोल्छा, शाह, गुप्ता र मोर भदौ दोस्रो साता नै सेयर बेच्न खोजेका थिए । त्यतिबेला साढे प्रतिकित्ता १३ सय किनेको सेयर १७ सय रूपैयाँ पुगिसकेको थियो । तर, सुलभले ‘ग्रुपमा बसेपछि एक्लै निस्कन पाइँदैन । तपाईंहरूले बेच्नुभयो भने सप्लाइ बढ्छ र मूल्य घट्छ’ भन्दै रोके । अझै १०–१५ दिन बसौं भन्ने निष्कर्षमा पुलमा पैसा हाल्ने समूह पुग्यो । भदौ २३ र २४ गते देशमा जेनजी विद्रोह भयो । त्यसपछि सेयरको मूल्य घट्यो । मूल्य बढ्ला र बेचौंला भन्दा भन्दै परिबन्धमा फसे उनीहरू ।

२ महिना पहिलातिर भृकुटीले उधारोमा सेयर किन्न दिएको विषय सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसम्म पुग्यो । तीमध्ये हिमालयन रिका सञ्चालकलाई विभागले सोधपुछ गर्‍यो । यस विषयमा हिमालयन रिका सञ्चालकहरूले सुलभसँग सल्लाह गरे । सुलभले सजिलै भने, ‘आप बोल दिजिए ये ट्याक्स पेड पैसे है । कुछ नही होगा ।’ (तपाईं भन्दिनुहोस् कि आफूले हालेको पैसा कर तिरेको पैसा हो । केही हुँदैन ।) 

त्यतिबेलै अनुसन्धानका क्रममा गोल्छा, अमित र रोहितले हालेको पैसा राजबहादुर, ऋषिराज र सुलभकी पत्नीको नाममा गएको देखिएको थियो । उता भट्टको खातामा भृकुटीले २ अर्ब ९० करोड रूपैयाँ एडभान्स दिएको देखियो, जुन पैसा हिमालयन रिको पैसा हो भन्ने आशंक गरिएको छ ।

यसैगरी भृकुटीले हिमालयन रिलाई २ अर्ब ७३ करोड रूपैयाँ दिन बाँकी देखियो । त्यसपछि सुरू भयो, हिमालयन रिको पैसा खोजी । यस विषयमा हिमालयन रिको सञ्चालक समितिले कम्पनीको सीईओ उपासना पौडेललाई सोध्दा उनले आफूहरू नभएर ब्रोकर फस्ने जवाफ दिइन् । साथै ३ पल्ट आग्रह गर्दा पनि भृकुटीले पैसा नदिएपछि लिगल नोटिस पठाइसकेको जानकारी दिइन् । सञ्चालक समितिले उपासनालाई ‘आफूहरूलाई जानकारी दिन आवश्यक देख्नुभएन ?’ भनेर सोध्दा उपासनाले जवाफ दिइन्, ‘मैले सुलभ सरलाई भनेको थिएँ ।’

त्यसपछि प्रश्न उठ्यो, ‘को सुलभ ?’

जो सुलभ हिमालयन रिको सञ्चालक हैनन्, न त कुनै समिति वा उपसमितिमा छन् । न त कुनै विषयका हस्ताक्षरकर्ता नै हुन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत पौडेल सुलभले जे–जे भन्यो त्यही गर्दी रहिछन् भन्ने निष्कर्षमा शेखर, साहिल, अमित र रोहित पुगे ।

त्यसो भए ‘सुलभले तपाईंलाई के भन्थे त ?’ भनेर उपासनालाई सोध्दा उपासनाले भनिन्, ‘पख न पख, घुमेर आउँछ भन्नुभयो ।’

यो विषयमा लगानी समितिको संयोजक रहेका साहिलसमेत अनभिज्ञ थिए ।

त्यसपछि पुल फन्डमा पैसा हाल्ने समूहको मिटिङ भयो । सो मिटिङमा सबैले सुलभलाई प्रश्न गरे, ‘सुलभ के हो यो ?’ त्यतिबेला सुलभको बडी ल्याङ्ग्वेज निकै फरक थियो । उनी निकै कमजोर देखिन्थे ।

१० मिनेटसम्म बोल्न नसक्ने अवस्थामा भएका सुलभले आफूबाट गल्ती भएको स्वीकार गरे । ‘मूल्य घटिरहँदा म बाहिरिनै सकिनँ’ भन्दाभन्दै सुलभले आफूलाई सास फेर्न पनि गाह्रो भएको बताए । त्यसपछि उनलाई अस्पताल लगियो ।

अब सुलभको कर्तुत हिमालयन रिको सञ्चालक समिति, सुलभका पिता शंकरलाल अग्रवाल, भाइ साहिल र दीपक भट्टलाई पनि थाहा हुनुपर्छ भन्ने निष्कर्षमा पुग्यो । पुल फन्डमा पैसा हाल्नेहरूबीच त्रिपुरेश्वरस्थित गुप्ताको कार्यालय रमेश कर्पमा बसेको बैठकपछि सानेपाको किरणभवनस्थित भट्टको कार्यालयमा सर्वपक्षीय बैठक बस्यो ।

सुलभका पिता तथा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल र उनका भाइ साहिललाई व्यावसायिक जगतले राम्रै मान्छ । सुलभ भने पैसा भएर पनि दुई–चार पैसाका लागि जे पनि गर्ने व्यक्तिका रूपमा चिनिन्छन् ।

हुन पनि कोभिड समयकालमा ३५ सयको थर्मल गन प्रतिगोटा १५ हजार रूपैयाँमा बेच्नुपर्ने आवश्यकता सुलभलाई थिएन ।

उनका निकटस्थहरू ‘सुलभ जस्तो पैसा भएको मान्छे फिलान्थ्रोपिस्ट (परोपकारी) बन्नुपर्ने हो, थर्मल गन नै बेच्नुपर्ने चाहिँ होइन’ भन्छन् ।

सुलभले नै कमजोरी गरेर फसाएको भन्ने निष्कर्ष किरण भवनको बैठकमा सहभागी सबैको रह्यो । त्यसपछि सबैले पैसा थपेर घाटा बेहोर्ने अनि हिसाब मिलाउने प्रस्ताव गरियो, जसलाई एक साझेदारले मानेनन् ।

त्यहाँ हिमालयन रिको मात्र पैसा थिएन । ६ वटा कम्पनीको करिब ४ अर्ब रूपैयाँ थियो । पैसा थप्न थाल्यो भने ‘मनी ट्रेल’ देखिने हुँदा सबै हिसाब सुलभका बुबा शंकरलाललाई मिलाउन एक सदस्यले प्रस्ताव गरे ।

भट्टले सुलभलाई त्यहीँ गाली गर्न थाले । आफू अमेरिकामा रहँदा आफ्नो नाममा सुलभले सेयर किनिदिएको बारे भट्टले त्यही बैठकमा जानकारी गराए । बैठकमा सहभागी एक सदस्यका अनुसार दीपकले सुलभलाई ‘भृकुटीबाट आफ्नो नाममा अर्बौं रूपैयाँ उधारो हालेर किन सेयर किनेको ?’ यो त धोका र जालसाजी हो’ भन्दै झपारेका थिए ।

आत्तिएका सुलभले ‘गल्ती भयो दाइ, सरी दाइ, सरी दाइ’ मात्रै भनिरहे । उनले दीपक भट्ट र शेखर गोल्छाको खुट्टा समाएर पटकपटक ‘सरी दाइ’ भन्दै माफी मागिरहे । अरुबेला धेरै बोल्ने सुलभले त्यो बैठकमा ‘सरी दाइ’ गल्ती भयो मात्रै भनेको सहभागी एक सदस्य बताउँछन् ।

सबै अचम्ममा परिरहेका थिए । आत्तिएका थिए ।

यता दीपक भने आफू जोगिन निरन्तर सुलभलाई आरोप लगाइरहेको महसुस बैठकमा सहभागीहरूले गरिरहेका थिए । ती सदस्य भन्छन्, ‘आफ्नो नाममा सेयर किनेको कसरी थाहा हुँदैन ? मोबाइलमा म्यासेज आएन होला, इमेल त आइरहेको थियो । खाली चेकमा सिग्नेचर गरेर दिने अनि मलाई थाहै नभई खाताबाट पैसा झिकिएछ भनेर कसैलाई आरोप लगाउन मिल्छ ?’

सानेपाको बैठकमा एउटा कुरा चाहीँ सबैले बुझे, ‘ब्रोकर त सुलभको रहेछ । सुलभले जेजे भन्यो त्यही त्यही गरिदिँदो रहेछ ।’

यतिबेलासम्म साहिल चकित भइसकेका थिए । भन्दै थिए, ‘सुलभले सबै बर्बाद गरिदियो, हाम्रो पूरै संस्था डुबाइदियो ।’ सहभागी अरूलाई ‘मेरो छोराछोरीलाई कसैले हेरिदिनु, मलाई सुलभले फसायो’ भन्दै कुनामा गएर रुन थाले उनी । किनकि हिमालयन रिको लगानी समितिका संयोजक थिए उनी ।

बैठकमा गोल्छा आफूले कहीँ कतै हस्ताक्षर नगरेको भन्दै पन्छिए र सुलभले धोका दिएर फसाएको भन्दै आक्रोश व्यक्त गरिरहे।

त्यसपछि हिमालयन रिको सञ्चालक समितिको बैठक बस्यो । अध्यक्ष भएको नाताले गोल्छाले सबैलाई पेल्न थाले । ‘गोल्छाले भृकुटीसँगको कारोबारको विषय बोर्डले कहिले स्वीकृत गरेको छ ? भन्दै प्रश्न गर्न थाल्नुभयो,’ स्रोत भन्छ । सीईओले ‘छैन’ भन्ने जवाफ दिएपछि गोल्छाले ‘सुलभले जे भन्यो त्यही गर्ने भए हामी किन चाहियो ?’ भन्दै गोल्छा झोक्किए ।

त्यो दिन हिमालयन रिको सञ्चालक समितिले भृकुटी ब्रोकरलाई पैसा तिर्न ताकेता गर्दै औपचारिक पत्र (लिगल नोटिस) पठाउने निर्णय गर्‍यो । ‘त्यो दिनसम्म ब्रोकरसँग मौखिक जानकारी मात्र गराइएको त्यहीँ थाहा भयो,’ स्रोत भन्छ । त्यो बैठकपछि गोल्छाले सञ्चालक समितिबाट राजीनामा दिए । 

त्यसपछि सबैको भागाभाग सुरू भयो । अमित मोर देश छाडेर भागे भने अन्य साझेदारहरू गोल्छा, गुप्ता र शाह अनुसन्धानलाई सहयोग गर्ने भन्दै कतै जानुअघि अनुसन्धान गर्ने निकायको अनुमति लिएरमात्र यात्रा गरे ।

सुलभलाई नजिकबाट चिन्नेहरू ‘उनी निकै सौखिन व्यक्ति हुन्’ भन्छन् । उनलाई पैसा र शक्तिको सोख छ । ‘सुलभको सोच यतिसम्म अपराधी हो कि उनले आफ्नो लाभका लागि कसैको भलो चाहेनन्,’ उनका एक साझेदार भन्छन्, ‘सरकारी अधिकारीहरूलाई गालीगलौज गर्ने, आफ्नो काम नगरे सरुवा गरिदिने, आफूले भनेको व्यक्तिलाई नियुक्ति गराउने धाक लगाउने गर्थे । मान्छेहरूका अगाडि ‘मै अगर इस पत्थर को चाहूँ तो इसको भगवान बना दूँगा’ (मैले चाहेँ भने यो ढुङ्गालाई पनि देउता बनाइदिन्छु) भन्थे ।’

सुलभले व्यवसायीहरू सामु देखाएको सोही सामर्थ्य देखेर ‘यसले त जे भन्यो त्यही काम गराउन सक्छ’ भनेर उनीहरू सुलभ निकट भएका हुन् । साथीभाइका लागि सुलभ रातको १२ वा ३ बजे पनि सहयोग गर्न तयार हुन्थे । ‘केही आपत् पर्यो भने सुलभलाई नै सम्झिन्थ्यौं, उनले नसोचेको काम गर्दिन्थे, चमत्कार नै हुन्थ्यो,’ सुलभ निकट एक व्यवसायी भन्छन् ।

‘सुलभ बिजनेस गरिरहेका थिए । उनलाई पैसाको अभाव थिएन तर पावर एक्सरसाइज गर्न पाइरहेका थिएनन्, जब थर्मल गनको कालोबजारी गर्दागर्दै रंगेहात समातिए, दीपक भट्टले पावर लगाएर निकाले । भट्टजीसँग सेटिङको मास्टर पावर थियो, उसँग पैसा थियो । त्यसपछि सुलभ पावर र पैसा दुवै भएर मात्तिए,’ ती व्यवसायीले भने, ‘त्यसपछि सुलभले आफ्नो हैसियत बिर्सिए, शक्तिको आडमा सबै बिर्सिए ।’

हिमालयन ग्रुप र सुलभ–दीपक जोडिएको पछिल्लो घटनाक्रमलाई नजिकबाट नियाल्ने क्रममा क्लिकमान्डुले करिब दर्जन व्यवसायीहरू, केही अनुसन्धानकर्ता, अनुसन्धान गर्न सघाउनेहरू र नियामक निकायका अधिकारीहरू यस विषयमा कुराकानी गरेको छ । सो आधारमा सुलभलाई चिन्ने व्यवसायीहरूको बुझाई सुलभलाई पावर (शक्ति)को बसमा चढेपछि कुन स्टेसनमा ओर्लिने भनेर थाहा नभएको पाइयो ।

‘सुलभ र दीपकको एकदम डेडली कम्बिनेसन हो । सुलभ क्रिमिनल माइन्डेड मान्छे, उसलाई यति हतार छ जसको कुनै हिसाब छैन,’ सुलभ र भट्टलाई चिन्नेहरू भन्छन्, ‘दीपकजीलाई थाहा थिएन भन्ने कुरा पत्याउनै सकिँदैन । साहिललाई थाहा थिएन भन्ने कुरा चाहिँ ग्यारेन्टीका साथ भन्न सकिन्छ ।’

व्यवसायीहरू शंकरलाल अग्रवाल र साहिल अग्रवाललाई एउटै प्रकृतिको मान्छे मान्छन् । ‘दुवै जना एकदम फेयर मान्छे हुन्,’ स्रोत भन्छ ।

एक साझेदारले सुलभलाई आफ्नै कार्यालय बोलाएर तिमीले यति धेरै सेयर किन्दा दीपकलाई थाहा थियो कि थिएन भनेर दोहोर्याइ तेहर्‍याई सोध्दा पनि सुलभले जवाफ नदिएपछि उनी थप सशंकित बने । र सुलभ संगत गर्न लायकको व्यक्ति नभएको भन्दै आजीवन संगत नगर्ने प्रण गरे ।

यो घटनामा अधिकांशले दीपकलाई ‘बेनिफिट अफ डाउट’ दिएका छन् । व्यवसायीहरु भन्छन्, ‘दीपकको खातामा सेयर आएको पक्का हो, हामीले बुझे अनुसार उहाँ आफैंले खरिद अर्डर नदिएको पनि पक्का हो । तर, सुलभले दीपकलाई फसाएको हो कि दुई भाइले मिलिभगतमा यो काम गरेका हुन् भन्ने ठ्याक्कै भन्न सकिँदैन । अनुसन्धानपछि प्रमाणित होला ।’

शेखर र रोहितले नाफा हुने लोभ राखेको जानकारहरूको निष्कर्ष छ । उनीहरू भन्छन्, ‘एउटा संस्थाको अध्यक्ष र सञ्चालक भएको व्यक्तिले प्रतिस्पर्धी कम्पनीको सेयर अर्कैको नाममा किन्ने र सीमित व्यक्तिको नियन्त्रणमा राख्ने काम (कर्नरिङ) गर्न सघाउने काम उहाँहरु जत्तिको व्यक्तिले गर्नु हुँदैनथ्यो ।’

अर्का सञ्चालक अमित मोरले भने यसबाट प्रत्यक्ष लाभ लिएको निकटस्थहरूको निष्कर्ष छ । ‘उहाँले आफूलाई यो हिमालयन रिको पैसा हो भन्ने थाहा थिएन मात्र भन्नुभएको छ । तर, भाइको नाममा १० करोड पुँजी भएको ब्रोकरले १०० करोड रुपैयाँ लोन दिन्छ भने कहाँबाट आयो भन्ने सोध्नु पर्दैन ?’ निकटस्थ व्यवसायीहरूको निष्कर्ष छ, ‘राजबहादुर शाह त कहीँ कतैको सञ्चालक होइनन्, उनले आफ्नै पैसा हालेर आफ्नो नाममा सेयर किने । उनी यो केसमा आउने कुरै भएन ।’

निकटस्थ व्यवसायी र यो घटनाक्रमलाई नियाल्नेहरूका अनुसार उधारोमा सेयर किनेको विषयमा सम्पत्ति शुद्धीकरण मुद्दा स्थापित गर्न निकै गाह्रो हुन्छ । ‘पैसा हाल्नेहरूले पनि कर तिरेको पैसा नै हालेको देखिन्छ,’ अनुसन्धानमा संलग्नहरू भन्छन्, ‘हिमालयन रिको पैसा दीपक भट्टलाई एडभान्स दिइयो भन्ने अनुमान मात्र गर्न सकिन्छ, त्यो पनि भृकुटी स्टक ब्रोकरमा सुलभले जे भन्यो त्यही चल्ने भएका आधारमा । तर, कहीँ कतै कर्नरिङ वा सर्कुलर ट्रेडिङ गरेको भनेर स्थापित गर्न सकिन्छ कि ? भन्ने पनि हेरिरहेका छौं ।’

स्रोतहरुका अनुसार विभिन्न म्युचुअल फन्डको सेयर किनबेचमा भने उनीहरुले अर्डर सेलिङ गरेर इन्साइडर ट्रेडिङ गरेको पाइएको अनुसन्धानमा संलग्नहरुले बताउँछन् ।

‘जेनजी आन्दोलनपछि घाटा खाएरै भए पनि सेयर बिक्री गरेका भए यो केस गुपचुप हुन्थ्यो’ स्रोतले भन्यो, ‘लोभले लाभ मिलेन बिलाप भइदियो ।’

स्रोतहरुका अनुसार सुलभ र भट्टले फागुन २१ मा हुने निर्वाचनमा कांग्रेस र एमालेले सम्मानजनक सिट ल्याउने र गठबन्धनको सरकार बन्ने विश्लेषण गर्दै आफूहरु शक्तिशाली हुने विश्लेषण गरे । उनीहरुको त्यो विश्लेषण फेल खायो । रास्वपाले करिब दुईतिहाइ सिट ल्याउँदा कांग्रेस एमालेले लज्जास्पद हार बेहोरे ।त्यसपछि उनीहरुमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान तेर्सियो । जुनबेला चाहेर पनि हिसाब मिलाउने समय नै भएन ।

कुनै समय सत्ता ढाल्ने र गठन गर्ने समार्थ्य राख्ने दीपक भट्टलाई बाहिर राख्दा आफूहरुमाथि पनि जोखिम आउन सक्ने रास्वपा सरकारका मन्त्रीमा पनि भयो । त्यसैले उनीहरु भट्टलाई जेल पठाउन तयार भए । भट्टमाथि निर्मम भएर छानबिन अघि बढिरहेको छ ।

अहिले सुलभ र दीपक एकअर्काले धोका पाएको आरोप प्रत्यारोपमा उत्रिएका छन् । उनीहरु दुवै अनुसन्धानका लागि हिरासतमा छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु दुवैको निजी निवास, कार्यालय र हिमालयन रिको कार्यालयमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिएको छ ।

अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार नक्सालस्थित प्रहरी प्रधान कार्यालयसँगै जोडिएको शंकर ग्रुपको मुख्य कार्यालयबाटमा रहेका विभिन्न कम्युटरबाट दीपकको टीएमएस खाता लग इन गरी ब्रोकरलाई सेयर किन्ने आदेश दिएको भटिएको छ । फुट प्रिन्टको अनुसन्धान गर्दा यस्तो देखिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चाँडै अदालतमा मुद्दा दर्ता गर्ने गरी तीव्र अनुसन्धान गरिरहेको अनुसन्धान अधिकारीहरु बताउँछन् ।

‘यो केसको बृहत्तर अनुसन्धान गर्दा धेरै रेपुटेड व्यवसायीहरु पनि मतियारका रुपमा दायरामा आउन सक्छन्, त्यसैले हाम्रो अनुसन्धान व्यवसायीलाई आतंकित बनाउनुभन्दा पनि मुख्य अभियुक्त र योजनाकारमा केाद्रित छ,’ विभागका एक अधिकारी भन्छन्, ‘चाँडै अदालतमा मुद्दा दर्ता गर्ने गरी अनुसन्धान अघि बढाइरहेका छौं ।’

‘सुलभ र दीपकले जनताको पैसाको जसरी दुरुपयोग गरे, यो अक्षम्य गल्ती हो’ हिमालयन ग्रुपका एक साझेदार भन्छन्, ‘यो हदसम्मको अपराध गर्लान् भनेर मैले त सोचेको पनि थिइँन । जब थाहा पाएँ मेरो मन कुँडियो । यस्ता खराब तत्त्वहरू कानूनी दायरामा आउनैपर्छ । हामी अनुसन्धानलाई निरन्तर सघाइरहेका छौं ।’

Read more news from Clickmandu

Explore by Source or Category