npl.977 Nepal News Stream

Sutra News logo Sutra News

बालेन, हर्क र कुलमानमाथि किन खनिँदै छन् प्रचण्ड ?

सुत्र न्युज 6 hours ago

काठमाडौं । ‘अहिले कुलमानले गुन बिर्सिएर जुन थालमा खाए, त्यही थालमा छेद हाल्न खोज्या छन्, तिनले त्यसो नगरुन्, उनको बुद्धि फिरोस् ।’

यो अभिव्यक्ति नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हो । पार्टीको कर्णाली प्रदेश स्तरीय एकता सन्देश सभालाई सम्बोधनका क्रममा २८ मंसिरमा प्रचण्डले कुलमानविरुद्ध यसरी आक्रोश पोखेका थिए ।

आफूले बनाएको मान्छे आफैंविरुद्ध लागेको आशय प्रचण्डको छ । ‘प्रधानमन्त्रीको हैसियतले मैले टिपेर ल्याएँ, यो मान्छे राम्रो छ भनेर’ प्रचण्डले भनेका छन्, ‘उनले पहिला–पहिला भनेको पनि हो फेरि प्रचण्डले हो मलाई बनाएको भनेर, कुरा बिर्सिएर अहिले लाज मर्नु छ, म यो भन्दा बढी भन्दिनँ, बिचरा !’

नसच्चिए कुलमानलाई जनताले माफ नदिने तर्क प्रचण्डको छ । ‘यस्तो बैगुनी भएर तिनले पार पाउने छैनन्, नेपाली जनताले यसो गरे भने तिनलाई धेरै माफ दिन्छ जस्तो मलाई लाग्दैन,’ प्रचण्डले भनेका छन् ।

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङ यतिबेला अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रीको भूमिका छन् भने सँगै उनले उज्यालो नेपाल पार्टी पनि खोलेका छन् । उनी उज्यालो नेपाल पार्टीमार्फत राजनीतिमा अगाडि बढ्न थालेपछि प्रचण्डले सार्वजनिकरूपमा आक्रोश पोखेका हुन् ।

तर, प्रचण्डले कुलमानविरुद्ध मात्रै होइन, काठमाडौंका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क साम्पाङ विरुद्ध पनि सार्वजनिकरूपमै आक्रोश पोखेका छन् । आफूहरूले ल्याएको लोकतन्त्रको फाइदा उठाएर आफूहरू विरुद्ध नै उभिन खोजेको तर्क प्रचण्डको छ ।

‘मैँले बालेन र हर्क साम्पाङलाई संसदको रोष्टमबाटै भने– हामीले रगत बगाएर ल्याएको लोकतन्त्रको फूल हो तपाईँहरू । तर, अहिले फुलहरू त बिस्तारै काँडै काँडा हुने हो कि जस्तो देखियो’, शनिवार काठमाडौंमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले भने, ‘मेरो आग्रह छ, यसो नगर्नुस् ।’

प्रचण्डले बालेन र हर्कलाई इतिहास र आन्दोलन बुझ्न भनेका छन् । ‘यो व्यवस्था कसरी आयो, इतिहास बुझ्नुस्, आन्दोलन सहिदको रगतको मूल्य बुझ्नुस्’, बालेन र हर्कलाई प्रचण्डको आग्रह छ ।

अहिले काठमाडौंका मेयर बालेन्द्र कुनै पनि दलमा खुलेका छैनन् तर हर्क स्वयंले भने श्रम संस्कृतिको नामको पार्टी खोलेका छन् । बालेन राजनीतिमा मौन देखिँदा हर्कले देशव्यापी अभियान चलाइरहेका छन् ।

नयाँ शक्तिको रूपमा उभिन खोजेका यी तीन पात्रप्रति प्रचण्डबाट पोखिएको आक्रोशलाई चुनौतीको रूपमा बुझेकाे मान्न सकिन्छ । किनकि नेपाली राजनीतिका यी तीन पात्र नयाँ भइरहँदा, प्रचण्डले पनि आफूलाई धेरै पुरानो भन्ने गरेका छैनन् ।

Read more news from Sutra News

Explore by Source or Category