npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

चलचित्र ‘परान’को कमाइ साढे १७ करोड, ‘चिराग’को ६८ हजार, कुन फिल्मले कतिको गरे व्यापार ?

क्लिकमान्डु 21 hours ago

काठमाडौं । चलचित्र विकास बोर्डले पछिल्लो शनिबार (५ पुस) सम्मको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांक अनुसार कात्तिक १४ गते (लक्ष्मीपूजा) देखि प्रदर्शनमा आएको फिल्म ‘परान’ ले नेपाली चलचित्र क्षेत्रमा नयाँ इतिहास रच्दै गर्दा मंसिर महिनामा प्रदर्शनमा आएका अन्य फिल्महरूको अवस्था भने निकै दयनीय देखिएको छ ।

निर्देशक दीपक प्रसाद आचार्य निर्देशित चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन (५ पुस) सम्म देशभरबाट १७ करोड ६१ लाख ५ हजार २८८ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यस अवधिमा फिल्मका ६ लाख २५ हजार ६२५ वटा टिकट बिक्री भएका छन् ।

यो कमाइसँगै ‘परान’ ले नेपाली फिल्म इतिहासमै सर्वाधिक कमाउने फिल्महरूको सूचीमा चौथो स्थान सुरक्षित गरेको छ । यसले बक्स अफिसमा यसअघिका सफल फिल्महरू ‘छक्कापञ्जा ४’ र ‘जारी’ को लाइफटाइम कमाइलाई समेत उछिनेको छ । यो फिल्म यस वर्षकै सबैभन्दा धेरै कमाउने हिट फिल्म सावित भएको छ ।

मंसिरका फिल्म: लगानी डुब्ने खतरा

‘परान’ ले बक्स अफिसमा तहल्का मच्चाइरहँदा मंसिर महिनामा प्रदर्शनमा आएका ५ वटा फिल्मको व्यापार भने निकै निराशाजनक छ । बोर्डको तथ्यांक अनुसार यी फिल्महरूले संयुक्त रूपमा १ करोडको व्यापार समेत गर्न सकेका छैनन् । करिब ५ करोडको लगानीमा बनेका यी फिल्महरूको व्यापार ‘बालुवामा पानी’ सरह भएको छ ।

मंसिरमा प्रदर्शन भएका फिल्महरूको व्यापारिक विवरण:

१. हर्ष: खगेन्द्र लामिछाने अभिनित यो फिल्मले शनिबारसम्म २८ लाख ७८ हजार ५३६ रुपैयाँ ग्रस कमाएको छ । यसका ८,८६६ वटा टिकट बिक्री भएका छन् ।

२. अभिमन्यु: कामेश्वर चौरासिया स्टारर यो फिल्मले २१ लाख ४८ हजार ७०२ रुपैयाँ ग्रस कमाएको छ । यसका ६,८५० वटा टिकट बिक्री भएका छन् ।

३. पीआर: शोभित बस्नेत निर्देशित यो फिल्मले प्रदर्शनको ९ दिनमा जम्मा ६ लाख ६८ हजार ६३३ रुपैयाँ ग्रस व्यापार गरेको छ । यसका २,१०९ वटा टिकट मात्र बिक्री भएका छन् ।

४. लोकन्ती: यशराज गाराच अभिनित यस फिल्मले ४ लाख १ हजार ३४० रुपैयाँ मात्र कमाएको छ । यसका १,३५७ वटा टिकट बिक्री भएका छन् ।

५. चिराग: यो फिल्म यस वर्षकै सबैभन्दा कम कमाउने फिल्म बनेको छ । यसले शनिबारसम्म जम्मा ६८ हजार ४५० रुपैयाँ ग्रस व्यापार गर्दै केवल ३३० वटा टिकट बेचेको छ ।

Read more news from Clickmandu

Explore by Source or Category