राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
नागरिक सरकारबाट सर्वपक्षीय सरकारमा पुगे जेनजी
काठमाडौं । जेनजी आन्दोलनको बलमा नागरिक सरकार बनेको सय दिन नपुग्दै जेनजी अभियन्ताहरू नै सर्वपक्षीय सरकार निर्माणका लागि दबाब दिन थालेका छन् ।
जेनजी अभियन्ता मिराज ढुंगानासहितका अभियन्ताले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सुशीला कार्की नेतृत्वको सरकार जेनजीको माग र भावना पूरा गर्न असफल भएको भन्दै विकल्प खोज्ने निष्कर्षमा पुगेका हुुन् ।
पत्रकार सम्मेलन गरेरै अभियन्ता ढुंगानाले सर्वपक्षीय सरकार निर्माण गरी सर्वपक्षीय गोलमेच गरेर संविधानको पुनर्लेखन गर्नुपर्ने माग अघि सारेका छन् ।
कार्की नेतृत्वको सरकारले धोका दिएको भन्दै उनीहरूले भ्रष्टाचारीलाई कारबाही गर्न र जेनजीका माग पूरा गर्न सकरार पूर्णतः असफल भएको दाबी गरे । ‘हामीमाथि धोका मात्रै दिइयो, अरूभन्दा यो सरकार फरक देखिएन, भ्रष्टाचारीलाई कारबाही गर्न, राम्रो काम गर्न केले रोकेको छ ?’ पत्रकार सम्मेलनमा ढुंगानाले भने, ‘हामी यो सरकारको विकल्प खोज्छौं, अब सर्वपक्षीय सरकार गठनका लागि दबाब दिनैपर्छ, शान्तिपूर्ण आन्दोलन सुरु गर्छौं ।’
सरकारलाई कामचोर भन्दै उनले प्रधानमन्त्री कार्कीलाई ‘खानका लागि मात्रै प्रधानमन्त्री बन्नुभएको हो ?’ भन्दै प्रश्नसमेत गरे ।
सरकार कसैलाई पनि विश्वासमा लिनसक्ने अवस्थामा नभएको जेनजी अभियन्ता ढुंगानाले बताए । ‘सय दिनमा सरकारका काम प्रभावकारी भएन, यसैले हामीले सर्वपक्षीय सरकार बनाउन माग गरेका हौं,’ उनले भने, ‘सबै पक्षलाई विश्वासमा लिनसक्ने, संवाद र न्याय, शान्ति दिने बाटोको आन्दोलन भएको थियो, सुशीला कार्कीजीले हामीलाई भ्रममा पार्न खोज्नुभएको हो ? यो सरकारले के काम गरेको छ ? पात्र र सिस्टम त्यही राखेर निर्वाचन गर्दा के हुन्छ ?’
संविधान संशोधन नगरे पनि सुशासनको काम देखाउनसक्ने अवस्था नभएको उनको भनाइ छ । उनले आफूहरूको आन्दोलनमाथि टेकेर ७६ जना शहीद र ५ सय गम्भीर घाइते भएको भन्दै सरकारलाई जिम्मेवार बन्न आग्रह गरे ।
The post नागरिक सरकारबाट सर्वपक्षीय सरकारमा पुगे जेनजी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....