News of Nepal
जनताको सुझाव र अपेक्षालाई आफ्नो प्राथमिकतामा राखेर अगाडि बढ्ने बढ्छुः नेता आले
धनगढी ।
कैलाली निर्वाचन क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेले आज शुक्रबार धनगढी उपमहानगरपालिका–१५ कनेरीस्थित शिद्धबाबा टोलमा आयोजना गरिएको घरदैलो कार्यक्रममा स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट गरेका छन्।

घरदैलोका क्रममा उम्मेदवार आलेले त्यहाँका जनताले भोग्दै आएका विभिन्न समस्याबारे जानकारी लिएका थिए। स्थानीयले शिक्षा, स्वास्थ्य सेवा, सडक स्तरोन्नति, ढलनिकास व्यवस्थापन, विद्युत आपूर्ति, जग्गाधनी प्रमाण पुर्जा प्राप्ति प्रक्रिया तथा कृषिका लागि आवश्यक मल अभाव जस्ता विषयमा आफ्ना गुनासा राखेका थिए।
स्थानीय बासिन्दाले आधारभूत पूर्वाधार विकासमा ढिलाइ हुँदा दैनिक जीवनयापनमा कठिनाइ भइरहेको बताएका थिए। उनीहरूले सडक र ढल व्यवस्थापनको अभावका कारण वर्षायाममा आवतजावतमा समस्या हुने गरेको गुनासो गरेका थिए। त्यस्तै, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्ने मागसमेत गरेका थिए।
उम्मेदवार आलेले स्थानीयका समस्या गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले जनताको सुझाव र अपेक्षालाई आफ्नो प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए।
घरदैलो कार्यक्रममा स्थानीय बासिन्दा, पार्टीका कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।