Sutra News
अमेरिकामा २ नेपाली पक्राउ : वृद्ध ठगीदेखि बाल शारीरिक शोषणसम्म
एजेन्सी । अमेरिकामा रहेका दुई नेपाली युवक हालै फरक–फरक आपराधिक घटनामा पक्राउ परेका छन्।
टेनेसीमा ज्येष्ठ नागरिक ठगी
टेनेसीको पुटनाम काउन्टीमा ३० वर्षीय तुल्सी तिम्सिनालाई ७० वर्षीय वृद्ध दम्पतीलाई ठगी गरेको आरोपमा पक्राउ गरिएको छ। नासभिल बसोबास गर्ने तिम्सिना ग्रिन कार्ड होल्डर रहेको बताइएको छ।
घटना गत सेप्टेम्बर १९ बाट सुरु भएको थियो। पीडित दम्पतीको कम्प्युटरमा ‘माइक्रोसफ्ट जस्तो पप–अप अलर्ट’ देखाइएपछि उनीहरूले देखाइएको नम्बरमा फोन गर्दा बैंक खाता ह्याक भएको र बाल अश्लील सामग्री अनुसन्धानको बहाना बनाएर तुरुन्त पैसा झिक्न निर्देशन गरिएको थियो।
अक्टोबरदेखि नोभेम्बर ५ सम्म २ लाख ६८ हजार २२९ अमेरिकी डलर ठगी गरिएको पुष्टि भएको छ। पैसा सुनको सिक्का किन्न लगाइयो र ती सिक्का लिन घरमै व्यक्ति पठाइएको थियो। फोटो र प्रमाणको आधारमा तिम्सिनालाई पक्राउ गरियो।
उनीमाथि ज्येष्ठ नागरिकको आर्थिक शोषणको अभियोग छ र अदालतले २ लाख डलर धरौटी तोकेको छ।
नर्थ क्यारोलिनामा बाल यौन शोषण सञ्जाल
अमेरिकाको नर्थ क्यारोलिनामा बस्ने २० वर्षीय प्रसन नेपाल उर्फ ‘ट्रिप्पी’लाई अन्तर्राष्ट्रिय बाल यौन शोषण सञ्जाल ‘७६४’ मा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ।
उनको साथमा ग्रीसबाट २१ वर्षीय अमेरिकी नागरिक लियोनिडास वारागियानिस उर्फ ‘वार’ पनि पक्राउ परेका छन्।
एफबीआईका अनुसार ‘७६४’ एउटा हिंसात्मक अनलाइन सञ्जाल हो, जसले नाबालिगहरूलाई ब्ल्याकमेल, मानसिक यातना र अमानवीय यौन क्रियाकलापमा बाध्य पार्ने गरेको पाइएको छ।
प्रसनले ‘७६४ इन्फर्नो’ उपसमूहको नेतृत्व गर्दै बालबालिकामाथि यौन शोषण गर्ने, भिडियो उत्पादन तथा वितरण गर्ने आरोप छ। सञ्जाल सन् २०२० देखि २०२५ सम्म सक्रिय रहेको र १३ वर्षसम्मका बालबालिकालाई निशाना बनाएको खुलेको छ।
अमेरिकी अधिकारीहरूले भनेका छन्, अभियोग प्रमाणित भएमा प्रसन नेपाललाई आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ।