कतिपय पुर्ख्यौली पेशाहरु हराउन थालेका छन् । तीनलाई जोगाउनु पर्छ भन्ने आवाज सुनिन्छ । तर नेपालमा एउटा यस्तो समुदाय छ जसको पुर्ख्यौली पेशा जोगाइराख्न यही समुदायलाई पनि मन छैन । नेपालगन्ज वरपरका केही गाउँमा भेटिने मगन्ता समुदायको पुर्ख्यौली पेशा नै माग्नु हो । मगन्ताका कथाबाँकेको डुडुवा गाउँ पालिकाको हिरमुनिया महाउत टोल पुग्दा यहाँका धेरै घरहरुमा ताल्चा लागेको थियो । अहिले माग्ने सिजन हो रे । यहाँका मान्छेहरु मागी खानको लागि बुटवल, नारायणघाट र काठमाडौंसम्म पुगेका छन् । नेपालगन्जतिर माग्नेहरु चाहिँ घरबाटै आतेजाते गर्छन् । शहरबजारका बाटाघाटातिर मागिरहेका मान्छे देख्नुभयो भने उनीहरु यही मगन्ता समुदायका हुन सक्छन् । कोही हात खुट्टा नभएको नक्कल गरेर माग्ने, कोही फर्जी कागज बनाएर माग्ने, कोही चाहिँ जोगीको भेष बदलिएर माग्ने । गाउँमा भेटिएका शोभाराम महाउत सानोमा बाजेसँग माग्न हिँड्थे । अघिल्लो पुस्ताका पाकाहरु माग्ने कामसँगै अर्काको जग्गामा शिला खोज्ने काम गर्थे । कतिपयले चाहिँ चुँगी लाउने काम पनि गर्थे । आजकल चुँगी लाउनेहरु एकाध मात्र भेटिन्छन् । ४ कक्षासम्म पढ्न पाएका शोभारामले बिस्तारै माग्ने काम छोडे । आजकल उनी खेतीपाति गर्छन् । भाइहरुलाई पढाएका छन् । उनको परिवारको जिन्दगी फेरिएको छ । तर शोभारामका अनुसार गाउँमा अझै पनि ७५ प्रतिशतले माग्ने काम नै गर्छन् । उनको चाहना छ आफ्नो समुदायले बिस्तारै माग्ने काम काम छाडोस् । माग्ने काम बाटै आफ्नो जाति र समूदायको नाम पाएको मगन्ताहरुलाई आजकल यही शब्द मन पर्न छाडेको छ । आत्मसम्मान खोजिरहेको नयाँ पुस्ताले आफ्नो थर महाउत लेख्न थालेका छन् । मगन्ता समुदायलाई माग्ने कामसँग आफ्नो पहिचान जोडिरहन मन छैन । तर यो समुदायको लागि परिवर्तन अझै टाढा छ ।