टिकटकद्वारा २०२५ को चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक, नेपालमा १९ लाखभन्दा बढी भिडियो हटाइए
काठमाडौँ – टिकटकले प्रयोगकर्ताका लागि सुरक्षित र सकारात्मक डिजिटल वातावरण निर्माण गर्ने आफ्नो निरन्तर प्रतिबद्धता अनुरुप सन् २०२५ को चौथो त्रैमासिक (अक्टोबर–डिसेम्बर) को ‘कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट’ सार्वजनिक गरेको छ ।
यस प्रतिवेदनले प्लेटफर्मको नियम उल्लङ्घन गर्ने सामग्री र खाताहरूमाथि गरिएको कारबाहीको विस्तृत विवरण प्रस्तुत गरेको छ ।
नेपालको सन्दर्भमा, टिकटकले यस अवधिमा मात्रै कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेका कुल १९ लाख ३२ हजार ५७५ भिडियोहरू हटाएको छ ।
नेपालमा कन्टेन्ट हटाउने सक्रियता निकै उच्च देखिएको छ, जहाँ ९९.९% भिडियोहरू टिकटक आफैले सक्रिय रूपमा पहिचान गरी हटाएको थियो भने त्यसमध्ये ९८.४% भिडियोहरू पोस्ट भएको २४ घण्टाभित्रै हटाइएका थिए ।
विश्वव्यापी रूपमा टिकटकले यस त्रैमासिकमा कुल १७ करोड ५३ लाख २ हजार ८५ भिडियोहरू हटाएको छ, जुन प्लेटफर्ममा अपलोड गरिएका कुल सामग्रीको करिब ०.५% हो ।
हटाइएकामध्ये १५ करोड २५ लाखभन्दा बढी भिडियोहरू अटोमेटेड डिटेक्सन प्रविधिमार्फत हटाइएको थियो भने समीक्षापछि ८३ लाख ६० हजारभन्दा बढी भिडियोहरू पुन:स्थापना गरिएका थिए । यसका साथै, प्लेटफर्मको विश्वसनीयता कायम राख्न १४ करोड ७७ लाखभन्दा बढी नक्कली खाताहरू र १३ वर्षमुनिका हुनसक्ने आशंका गरिएका करिब २ करोड ३८ लाख खाताहरू पनि हटाइएको छ ।
यस पटकको प्रतिवेदनले टिकटकको मोडरेशन रणनीतिमा केही परिवर्तनहरू पनि संकेत गरेको छ। एआई-आधारित प्रणालीमा भएको सुधारका कारण पुराना उल्लङ्घनकारी सामग्री हटाउने क्षमता बढेको छ ।
साथै, आपत्तिजनक कमेन्टहरू सिधै हटाउनुको साटो तिनीहरूको पहुँच घटाउने (demote) रणनीति अपनाइएकाले कमेन्ट हटाउने दरमा कमी आएको छ ।
हटाइएका सामग्रीहरूमध्ये २१.२% संवेदनशील वा वयस्क विषयवस्तुका थिए भने बाँकी सुरक्षा, गोपनीयता, भ्रामक सूचना र एआई-निर्मित सामग्री (AIGC) सँग सम्बन्धित रहेका थिए ।