Sutra News
अमेरिकाले युद्ध तयारी गरेपछि संयुक्त सैन्य अभ्यासमा जुटे रूस–इरान
काठमाडाैं । इरानले रुससँग संयुक्त सैन्य अभ्यास सुरू गरेको छ। यो अभ्यास यस्तो समयमा गरिएको छ, जब अमेरिकी विमानवाहक पोत पश्चिम एसियातर्फ अघि बढिरहेको छ।
इरानको आणविक कार्यक्रमबारे वार्ता असफल भए युद्ध हुन सक्ने संकेत दुवै पक्ष– अमेरिका र इरानले दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौताको आशा व्यक्त गरे पनि आणविक वार्ता वर्षौंदेखि ठप्प छ। इरानले भने अमेरिका र इजरायलका मागबारे छलफल गर्न अस्वीकार गरेको छ।
अमेरिका र इजरायलको मागअनुसार इरानले आफ्नो क्षेप्यास्त्र कार्यक्रम घटाउनुपर्छ र सशस्त्र समूहहरूसँगको सम्बन्ध तोड्नुपर्छ।
हालै भएका अप्रत्यक्ष वार्तामा खास प्रगति भएको छैन। कतिपय विश्लेषकहरूले भने यस अवधिलाई दुवै पक्षले सम्भावित युद्धको तयारीका रूपमा उपयोग गरिरहेको हुन सक्ने आशंका गरेका छन्।
गत वर्ष इस्राइल र अमेरिकासँग १२ दिनसम्म चलेको तनावपूर्ण संघर्ष तथा जनवरीमा भएका ठूला विरोध प्रदर्शनहरूलाई बल प्रयोग गरेर दबाएपछि इरानी सरकारको स्थिति कमजोर भएको बताइन्छ। यद्यपि, इरान अझै पनि इस्राइल र अमेरिकाका सैन्य ठेगानामाथि आक्रमण गर्न सक्षम रहेको दाबी गर्दै आएको छ। उसले कुनै पनि आक्रमणले व्यापक क्षेत्रीय युद्ध निम्त्याउन सक्ने चेतावनी दिएको छ।
यसै साता इरानले हर्मुज जलडमरूमध्यमा ‘लाइभ-फायर’ युद्धाभ्यास गरेको छ। फारसको खाडीस्थित यो साँघुरो समुद्री मार्गबाट विश्वको करिब पाँचौँ भाग व्यापारिक तेल ओसारपसार हुन्छ। यस क्षेत्रमा बढ्दो तनावले विश्व ऊर्जा बजारमा समेत असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
इरानभित्र पनि असन्तोष बढ्दो छ। सुरक्षाकर्मीको कारबाहीमा ज्यान गुमाएका प्रदर्शनकारीहरूको ४० दिन पूरा भएको अवसरमा आयोजित श्रद्धाञ्जली सभामा केही स्थानमा सरकारविरुद्ध नाराबाजी भएको थियो। अधिकारीहरूले भने कडा चेतावनी दिएका छन्।
अमेरिकाले थप युद्धपोत र लडाकु विमान तैनाथ गरेको छ। ‘यूएसएस जेराल्ड आर. फोर्ड’ नामक विमानवाहक पोत भूमध्य सागरको प्रवेशद्वार नजिक तैनाथ रहेको बताइएको छ। यद्यपि यसले अमेरिका तत्काल आक्रमण गर्ने निश्चित संकेत भने होइन। तर, ठूलो सैन्य उपस्थिति रहेकाले अमेरिकी प्रशासनसँग आवश्यक परे कारबाही गर्ने क्षमता बलियो भएको विश्लेषण गरिएको छ।
राष्ट्रपति ट्रम्पले हालसम्म इरानमाथि आक्रमण गर्ने आदेश दिएका छैनन्। उनले शान्तिपूर्ण प्रदर्शनकारीमाथि दमन र व्यापक फाँसीका घटनालाई ‘लक्ष्मणरेखा’का रूपमा उल्लेख गर्दै आएका छन्। साथै, जून महिनामा युद्धका कारण रोकिएको आणविक वार्ता पुनः सुरु गर्ने प्रयास जारी रहेको बताइएको छ। एजेन्सीबाट