npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

४१ दलका घोषणापत्र सार्वजनिक, ८ सय ६७ उम्मेदवारको बैंक खाता

राजधानी समाचारदाता 4 hours ago

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आयोगका अनुसार प्रत्यक्ष तथा समानुपातिकतर्फका मतपत्र छापिएर जिल्लामा जानेक्रम तीव्र बनेको छ । प्रत्यक्षतर्फ २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ गरी निर्वाचन क्षेत्रका लागि तयार बनाइएको जानकारी दिँदै आयोगले १० लाख ९८ हजार २ सय नमूना मतपत्र तथा २ करोड ८ लाख ३० हजार समानुपातिक मतपत्र छापेको बताएको छ ।

सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्र ढुवानी सकिएको जानकारी दिँदै आयोगले ३ देखि १७ फागुनसम्म ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा मतदाता शिक्षा अभियान निरन्तर चल्ने जनाएको छ । आयोगद्वारा जारी आचारसंहिताअनुसार ४१ राजनीतिक दलले आफ्नो निर्वाचन घोषणापत्र सार्वजनिक गरेका छन् । शुक्रबार आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सीता पुन श्रीषले गत ३ फागुनभित्र आयोगमा बुझाउन तथा मतदातासमक्ष सार्वजनिक गर्न सूचित गरेअनुसार ४१ दलले घोषणापत्र सार्वजनिक गरेको जानकारी दिइन् ।

आयोगले निर्वाचन खर्च व्यवस्थित तथा पारदर्शी बनाउनका लागि बैंक खाता खोल्न निर्देशन दिएअनुसार ७ राजनीतिक दल र ८ सय ६७ उम्मेदवारले बैंक खाता खोलेको जानकारी अद्यावधिक भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । आयोगले निर्वाचन खर्ब पारदर्शी गर्नका लागि ७५ राजनीतिक दलका प्रतिनिधि बोलाएर छलफल गरेको जनाएको छ ।

राजनीतिक दल तथा उम्मेदवारलाई नागरिकसमक्ष जवपाफदेही बनाउने उद्देश्यले घोषणापत्र सार्वजनिक गर्ने र आयोग तथा सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्ने व्यवस्था निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ ले गरेअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा भाग लिएका राजनीतिक दललाई घोषणापत्र पेस गर्न निर्देशन दिइएको थियो ।

त्यस्तै, निर्वाचन आयोगले विभिन्न ‘डिजिटल प्लेटफर्म’बाट ३४५ वटा सामग्री स्वीकृत गरी प्रचारप्रसार गरिएको जानकारी दिइएको छ । निर्वाचन आयोगको सूचना सम्प्रेषण तथा समन्वय केन्द्रबाट आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युबमा राखिएको जानकारी गराइएको छ ।

निर्वाचन आयोगले हानीकारक सूचना पहिचान तथा कारबाहीमा सक्रियतापूर्वक लागेको प्रस्ट्याएको छ । एक सातामा ३७७ वटालाई कारबाही गरिएको जानकारी दिइएको छ । हानिकारक कन्टेन्ट उत्पादन तथा सम्प्रेषण गर्ने २९० उत्पादक प्रशारकलाई विद्युतीय कारोबार ऐनअन्तर्गत प्रहरीको साइबर ब्युरोमा लेखी पठाइएको तथा ११ वटालाई कारबाही गर्न दुरसञ्चार प्राधीकरण पठाइएको आयोगले जनाएको छ । आयोगले ६५ वटा कन्टेन्टलाई प्रेस काउन्सिल र १ वटालाई विज्ञापन प्राधीकरण पठाइएको पनि पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

४१ संस्था पर्यवेक्षक
निर्वाचन आयोगले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा २१ वटा स्वदेशी तथा अन्तर्राष्ट्रिय संस्थाले पर्यवेक्षण गर्ने जानकारी दिएको छ । आयोगबाट ३७ वटा राष्ट्रिय र ४ वटा अन्तर्राष्ट्रिय पर्यवेक्षकले पर्यवेक्षण अनुमति लिएको आयोगको सहायक प्रवक्ता श्रीषले बताइन् । पत्रकार सम्मेलनमा आयोगसमक्ष ३ हजार ६४ वटा जिज्ञासा निर्वाचन कल सेन्टरमा आएको पनि जानकारी दिइयो ।

आयोगको कल सेन्टरमा गत ५ माघदेखि ७ फागुनसम्म मतदाता नामावलीसँग सम्बन्धित १ हजार ५०८ वटा, निर्वाचन आचारसंहितासंग सम्बन्धित ३११, शिक्षासंग सम्बन्धित १३५ तथा अन्य ८ सय जिज्ञासा सोधिएको आयोगले जानकारी दिएको छ ।

The post ४१ दलका घोषणापत्र सार्वजनिक, ८ सय ६७ उम्मेदवारको बैंक खाता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category