npl.977 Nepal News Stream

Sutra News logo Sutra News

‘देउवा, ओली, प्रचण्डको मुख हेर्दिनँ’ भनिन् प्रधानमन्त्रीले, तीनै जनालाई भेट्न बोलाए राष्ट्रपतिले

सुत्र न्युज 7 hours ago

 

काठमाडौं । गएको १४ कार्तिकमा बालुवाटारमा विभिन्न मिडियाका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई तीन शीर्ष नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर कुरा गर्ने मनै नभएको बताइन्। आफूलाई मन नभएको र जेनजीले पनि अंकुश लगाएको उनको दाबी थियो।

‘तीन नेतासँग भेटेर कुरा गर्न मन मलाई नै छैन। त्यसैमाथि जेनजीले अंकुश पनि लगाएका छन्,’ उनले भनेकी थिइन्, ‘उहाँहरू आफैँ बहिर्गमन भएर राजनीतिको सञ्चार चलायमान बनाउन योगदान दिए हुने हो।’ आफूलाई भेट्न चाहे बालुवाटारले सँधै स्वागत गर्ने पनि उनले सुनाइन्।

त्यसयता प्रधानमन्त्री कार्कीले पटक-पटक सर्वदलीय, सर्वपक्षीय बैठक डाकी सकेकी छन्। त्यसमा शीर्ष नेताहरू उपस्थित छैनन्, बरू दोस्रो तहका नेताहरू सहभागी भैरहेका देखिन्छन्।

हिजो मात्र पनि आगामी निर्वाचनका विषयमा छलफल गर्न प्रधानमन्त्री कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्यो। बैठकमा कांग्रेस सहमहान्त्री महेन्द्र यादव, एमाले सचिव महेश बस्नेत, नेकपाका नेता वर्षमान पुन, रास्वपा नेता शिशिर खनाल उपस्थित थिए। बैठकले सरकारले निर्वाचनको वातावरण बनाए दलहरू सहभागी हुने निष्कर्ष निकाल्यो।

तर कार्की नेतृत्वको सरकार बनेको यो ३ महिने अवधिमा पनि शीर्ष नेताहरूले सरकार वा प्रधानमन्त्रीसँग छलफल नगर्दा निर्वाचनकै शंसय पैदा भएको छ। देउवा र ओलीले २ पटक भेटवार्ता गरी संसद पुनर्स्थापना गराउने छलफल गरिरहेका छन्। यस्तोमा प्रधानमन्त्रीले शीर्ष नेतासँगको समन्वय गर्न नसकेको भन्दै आलोचना समेत भएको छ।

तर आजै राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका शीर्ष नेतालाई राष्ट्रपति भवन शीतल निवासमा बोलाए। अपराह्न ३ बजे शीतल निवासमा बोलाइएका नेता र राष्ट्रपति पौडेलबिच देशको राजनीतिक तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ।

कांग्रेस र एमालेले फागुन २१ मा निर्वाचन हुने वातावरण नबनाएको बताइरहेका बेला राष्ट्रपतिले तीन दलकै शीर्ष नेतालाई शीतलनिवास डाकेका हुन्। यसले निर्वाचनको माहौल बन्ने र देश सम्भावित क्षतिबाट गुज्रिनु नपर्ने बुझिएको छ।

 

Read more news from Sutra News

Explore by Source or Category