‘सुशासन दिने’ बालेन सरकारले पनि रोकेन राससका पत्रकारलाई सहयोगी बनाउने कार्य
काठमाडौँ – देशमा सुशासन दिने एजेण्डा बोकेको रास्वपा नेता बालेन्द्र शाह नेतृत्वको सरकारले पनि राष्ट्रिय समाचार समितिका पत्रकारलाई सहयोगी बनाउने कार्यलाई निरन्तरता दिएको छ।
अघिल्ला सरकारमा रहेका प्रभावशालीहरूले राससका पत्रकारलाई सहयोग बनाएर लैजाने विकृत अभ्यासलाई शाह नेतृत्वको सरकारका मन्त्रीहरुले पनि निरन्तरता दिएका हुन्।
राससबाट सरकारी सेवा सुविधा लिइरहेका चार जना पत्रकारहरुलाई अहिले मन्त्रीहरुको सचिवालयमा काम लगाइएको स्रोतले बतायो।
अघिल्ला कांग्रेस, एमाले र नेकपाका सरकारका मन्त्रीहरुले आफू सत्तामा पुग्ने वित्तिकै निकटलाई सार्सफोर्स र पहुँचका आधारमा आफ्नो सहयोगीका रुपमा लैजाने गर्थे। राससका एक पत्रकारले भने, ‘प्रत्येकपटक सरकार बन्दा यहाँबाट मन्त्रीको सहयोगी बनेर सचिवालयमा काम गर्न जाने अभ्यास पुरानै हो। यसपटक पनि साथीहरु मिलाएर गएकै छन्।’ राससमा काम गर्नभन्दा मन्त्रीको सचिवालयमा बस्न पत्रकारहरु नै तँछाडमछाड गर्ने रासस प्रशासनका एक अधिकारीले बताए।
स्रोतका अनुसार राष्ट्रपतिमा रामचन्द्र पौडेल नियुक्त भएपछि उनको सचिवालयमा पुगेका सूर्यचन्द्र बस्नेत अझै कार्यालय फर्किएका छैनन्। १०औँ तहका बस्नेत सोर्सफोर्सका आधारमा राष्ट्रपतिको सचिवालयमा काम गरिरहेका छन्।
त्यस्तै बालेन सरकारले ६औँ तहकी पत्रकार सृजना राईलाई प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालयमा लगेर काम लगाएको छ। उनी बालेको नेतृत्वमा सरकार बन्ने वित्तिकै आफ्नो कार्यालयको काम छाडेर राई प्रधानमन्त्री कार्यलयमा पुगेकी हुन्।
राससका वरिष्ठदेखि कनिष्ठ पत्रकार काम छाडेर प्रभावशालीको सहयोगी बन्नेको ताँती
६औँ तहका अर्का पत्रकार हेमन्त जोशी सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाको सहयोगीका रुपमा काम गरिरहेका छन्।
५औँ तहका सिबी अधिकारी शिक्षामन्त्री सष्मित पोखरेलको सचिवालयमा छन्। उनी यसअघि सुशीला कार्कीको नेतृत्वमा सुनावी सरकार हुँदा तत्कालीन सञ्चारमन्त्री जगदिश खरेलको सहयोग भएर पनि काम गरेका थिए। सरकार फेरिएसँगै अधिकारी पनि मन्त्री फेरेर सहयोगी बनेका छन्।
सरकारी निकायहरुलाई पुनःसंरचना गर्दै सुशासन दिने दाबी गरिरहेको सरकारले नै समाचार लेख्ने पत्रकारलाई अन्यत्र लैजादा राससको काममा असर परिरहेको छ।