npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

सुदूरपश्चिम प्रहरीद्वारा मंसिरमा ५२४ फरार प्रतिवादी पक्राउ, डेढ करोड जरिवाना असुल

दीपक ओली 1 day ago

धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रहरीले एक महिनामा ५ सय २४ जना फरार प्रतिवादी पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले मंसिर महिनाको प्रगती विवरण सार्वजनिक गर्दै एक महिना अर्थात् मंसिरमा ५ सय २४ जना फरार प्रतिवादी पक्राउ गरेको जानकारी दिएको हो ।

त्यस्तै, सुदूरपश्चिममा मंसिर महिनामा २५६ मुद्दा प्रहरीमा दर्ता भएका छन् । त्यसमध्ये जघन्य अपराधका ७४ मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । यस्तै, वर्षौदेखि पेन्डिङमा रहेका दुई हजार ५५३ मुद्दा मध्ये ११४ मुद्दा मंसिर महिनामा फछ्र्यौट भएको प्रदेश प्रहरीले जनाएको छ ।

अदालतको फैसाला कार्यान्वयन गर्न प्रहरीले प्रदेशभरबाट ५२४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ भने उनीहरूबाट एक करोड ६१ लाख ९९ हजार २९१ रुपैयाँ जरिवाना उठाइएको प्रहरीले जनाएको छ ।

मंसिर महिनामा प्रदेशका नौ वटै जिल्लामा महिला तथा बालबालिका सम्बन्धी २८ वटा उजुरी परेको प्रहरीले जनाएको छ । यस्तै, प्रदेशभर १५५ जना हराएको उजुरी आएकोमा ९० जनालाई फेला पारेर आफन्तको जिम्मा लगाइएको प्रहरीले बताएको छ ।

मंसिर महिनामा प्रदेशभरबाट प्रहरीमा ८११ वटा ठाडो उजुरी परेकामा ७५६ वटा उजुरी फछ्र्यौट भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मंसिरमा मानव बेचविखनका ६ मुद्दा दर्ता भएका छन् । बेचविखनमा संलग्न पाँच जना पक्राउ परेका छन् भने एक जना फरार रहेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै मंसिरमा मात्रै लागु औषधका ५६ मुद्दा दर्ता भएको र दुई जना महिला र ८६ जना पुरूष पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेशभर २१ जनाले आत्महत्या गरेको र सबैभन्दा बढी झुन्डिए आत्महत्या गरेको घटना घटेको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयले मंसिरमा घरेलु हिंसाका ८० वटा उजुरी प्रहरीमा आएकोमा ६५ मा मिलापत्र गरेको बाँकी अदालत पठाइएको जनाएको छ ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा प्रदेश प्रहरी कार्यालयले हरेक महिनाको ५ गते पत्रकार सम्मेलन गरेर प्रहरीको गतिविधि र उपलब्धिको जनाकारी गराउने जनाएको छ ।

पत्रकार सम्मेलनमा गत भदौ २४ मा भएको आन्दोलनका क्रममा प्रदेशका विभिन्न कारागारबाट भागेका कैदीबन्दी मध्ये ३६५ जना बन्दी कारागार नफर्केको प्रहरीले बताएको छ । कारागारबाट भागेका मध्ये ६५ जना भारतीय कैदी रहेको प्रदेश प्रहरीले जनाएको छ । फरार रहेका मध्ये धेरैजसो कैदीबन्दी भारत भागेको प्रहरीले जनाएको छ ।

The post सुदूरपश्चिम प्रहरीद्वारा मंसिरमा ५२४ फरार प्रतिवादी पक्राउ, डेढ करोड जरिवाना असुल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category