डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति

काठमडौं । पुष ६, २०८२–अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रममा यसपटक गायक तथा संगीतकार आभासका सांगीतिक सिर्जनाहरू प्रस्तुत हुने भएका छन् ।
विगत २० वर्ष पहिले सुरु भएको ‘पलेँटी’ कार्यक्रमलाई संगीतकार आभासले नै संयोजन गर्दै आएका छन् ।
डिसेम्बरको अन्तिम शुक्रबार र शनिबार हुने पलेँटीको सहगायनमा अभिज्ञा घिमिरे रहने भएकी छिन् । अभिज्ञा घिमिरे विगत एक वर्षदेखि पलेँटीसँग संगत गर्दै आएकी नयाँ पुस्ताकी कण्ठ-शिल्पी हुन् ।
यसपालिको पलेँटीको शीर्षक ‘संगत र सहकार्य’ राखिएको छ । आभास आफै गीत लेखनमा क्रियाशील कलाकार हुन् । तर उनले अन्य गीतकारका रचनामा पनि धुन भर्ने गरेका छन् । साथै अन्य संगीतकारका धुनलाई स्वर दिनेसमेत गरेका छन् ।
नेपालयका अनुसार यो महिनाको पलेँटीमा आभासले धुन भरेका र गाएका गरेर झन्डै एक दर्जन रचनाकारका शब्द र धुनहरू समेटिएका छन् । त्यसैले यसपालिको पलेँटीको शीर्षक ‘संगत र सहकार्य’ राखिएको हो ।
यो पलेँटीका निम्ति आभासले महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि नयाँ पुस्ताका शब्दलाई आफ्नो धुनमा समेटेका छन् । उनले तयार पारेको सूचीमा संगीतकारहरु अम्बर गुरुङ, भीमबिराग र चन्द्र भण्डारी; गीतकारहरु कालीप्रसाद रिजाल, मञ्जुल, वूँद राना, दिनेश अधिकारी, तीर्थ श्रेष्ठ, श्रवण मुकारुङ र कुमार नगरकोटीका रचना छन् ।
पलेँटीमा प्रस्तुत गर्नका निम्ति आभासले सीमापारिका नेपाली भाषी सर्जकका गीतलाईसमेत समेटेर अभ्यास गरिरहेका छन् । जसमा दार्जिलिङका पुराना गीतकार नरदेन रुम्बा र कवि सञ्जय बान्तावाका गीतहरू पनि छन् ।
आभास भन्छन्- ‘गीत, संगीत जीवन्त कला हो । यसले हरदम सर्जकहरूको संगत र सहकार्यको खोजी गरिरहेको हुन्छ । हामीले सञ्चालन गर्दै आएको पलेँटी त्यही खोजको एउटा पाटो हो । यसपालिको पलेँटी पनि त्यही खोजको निरन्तरता हो ।’ उनी थप्छन्- ‘संगीतमा सर्जकको मात्र होइन श्रोता र दर्शकको संगत र सहकार्यको पनि आवश्यकता हुन्छ । मलाई विश्वास छ सधैँ झैँ यसपालि पनि पलेँटीका श्रोता र दर्शकबाट न्यानो संगत पाउने नै छौं ।’
सन् २००५ जनवरी महिनादेखि आरम्भ भएको पलेँटीले यही महिनाबाट आफ्नो २० औँ वर्ष पूरा गर्दैछ । आउँदो २०२६ मा पनि पलेँटी निरन्तर रहने आयोजक संस्था नेपालयले जानकारी गराएको छ ।
यो महिनाको पलेँटी कार्यक्रम डिसेम्बर २६ तारिख शुक्रबार र २७ तारिख शनिबार कालिकास्थान स्थित नेपालयको ‘आर’शालामा आयोजना हुनेछ । टिकट लगायत यस कार्यक्रमको सम्पूर्ण जानकारी www.paleti.com.np मा उपलब्ध छ ।
पलेँटीलाई आर शालामा आएर प्रत्यक्ष अनुभव गर्न असमर्थ संसारभरका संगीत प्रेमीलाई घरमै बसेर फोन वा टिभीमा प्रत्यक्ष अनुभव गर्न पलेँटीलाई लाइभ हेर्ने व्यवस्थ पनि गरिएको छ । पलेँटीकै वेब साइटमार्फत पे पर भ्यू को अवधारणा अनुरुप यो सेवा प्रयोग गर्न सकिन्छ ।