npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

जेनजी विद्रोहका क्रममा निजी क्षेत्रमाथि जसरी आक्रमण भयो, त्यो कहिल्यै देख्न र भोग्न नपरोस्

क्लिकमान्डु 23 hours ago

जेनजी आन्दोलन र त्यसबाट प्राप्त हुने नतिजा यतिबिघ्न विध्वंसकारी र कहालीलाग्दो होला भन्ने कल्पना सायद कसैले पनि गरेका थिएनौं । सुशासन कायम गर्नुपर्ने, भ्रष्टाचारको अन्त्य हुनुपर्ने र राज्य सञ्चालनमा सुधार आउनुपर्ने माग सहितको जेनजी आन्दोलनले त्यस्तो रूप लिन्छ भन्ने कल्पना कसैले गर्न नसक्नु पनि स्वाभाविक नै हो ।

जेनजी आन्दोलनका क्रममा जुन किसिमको तोडफोड, आगजनी र लुटपाट भयो त्यसले सबै क्षेत्रमा नकारात्मक असर पुर्‍यायो । आन्दोलनका क्रममा राज्यले संयम गुमाउँदा ठूलो मानवीय क्षति पुग्यो । राज्यको तर्फबाट कलिला बालबालिकाको टाउकोमा गोली हान्दा सबैको मन भक्कानियो । जोजसले सो क्रममा ज्यान गुमाउनुभयो, उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा समवेदना छ ।

भविष्यमा यस्तो अवस्था कहिल्यै देख्न र भोग्न नपरोस् भन्ने कामना पनि छ । प्रदर्शनका क्रममा आन्दोलन नियन्त्रणभन्दा बाहिर पुग्दा मुलुकले ठूलो मात्रामा भौतिक र आर्थिक क्षति भोग्नुपर्‍यो । आन्दोलनले निजी क्षेत्रका व्यावसायिक भवन र कारोबार खरानीमा परिणत हुँदा मनोवैज्ञानिक र मानसिक असर पर्नु स्वाभाविक थियो।

औद्योगिक र व्यावसायिक यात्राको झण्डै अढाई दशकको यात्रामा अनेकौं उतारचढाव नभोगेको होइन । तर, जेनजी आन्दोलनमा जस्तो मानसिक र मनोवैज्ञानिक त्रास भने भोग्नुपरेको थिएन । मेरो औद्योगिक र व्यावसायिक कारोबार कोशी र बागमती प्रदेशमा केन्द्रित छ भने करिब ४०० जनाले रोजगारी पाएका छन् । व्यक्तिगत रूपमा मेरो उद्योग व्यवसायमा क्षति नपुगेको भए पनि मानसिक र मनोवैज्ञानिक क्षति भने भोग्नुपर्ने स्थिति आयो ।

मुलुकको अर्थतन्त्र एउटा लयमा हिँडिरहेको समयमा भएको जनेजी प्रदर्शनले देशको दिशामा नै परिवर्तन ल्याएको छ । भोलिको बाटो के हो भन्ने अन्योलको स्थिति छ । जेनजी आन्दोलनपछि व्यावसायिक वातावरण बनाउन सरकारले केही हदसम्म प्रयास गरिरहेको छ जुन निकै सकारात्मक छ ।

सरकारले गरेका प्रयासहरूबाट केही हदसम्म सुरक्षा महसुस भएको छ । हुन त, निर्वाचन गराउने अहिलेको सरकारको मुख्य म्यान्डेट हो । त्यो म्यान्डेट सरकारले चाँडै पूरा गर्नुपर्छ । अब निर्वाचनपछि आउने सरकारले अहिलेको निजी क्षेत्रको मनोबल उकास्ने प्रयासलाई थप निरन्तरता दिन आवश्यक छ ।

जहाँसम्म निजी क्षेत्रको विषय छ, आजका दिनसम्म पनि निजी क्षेत्रमाथि नकारात्मक दृष्टिकोण राख्नुपर्ने आवश्यकता देखिँदैन । निजी क्षेत्र मुलुक र नागरिक समाजको महत्त्वपूर्ण हिस्सा हो । निजी क्षेत्रबिना मुलुकमा आर्थिक गतिविधि र रोजगारीका अवसरको सृजना सम्भव छैन । निजी क्षेत्र र उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गर्न आवश्यक छ ।

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न सरकार र मिडियाको पनि महत्त्वपूर्ण भूमिका छ । कानुनमा पनि परिवर्तन गर्नुपर्ने आवश्यकता छ । निजी क्षेत्रलाई पहिला सुन्ने र पछि मात्र थुन्ने नीति राज्यले लिन आवश्यक छ । निजी क्षेत्र भनेको नितान्त व्यवसाय गर्ने, रोजगारी सिर्जना गर्ने, सरकारलाई राजस्व तिर्ने तथा आफ्नो र देशकै आर्थिक अवस्था उकास्ने उद्देश्यका साथ लागेको वर्ग हो । तसर्थ, यस वर्गमाथि गलत दृष्टिकोण राखेर हुँदैन ।

हाम्रो समाजमा अहिले अपराध गर्नेलाई पुरस्कार र निर्दोषलाई सजाय दिने किसिमको प्रवृत्ति छ । कुशासन र भ्रष्टाचारको जड नेपाली समाजमा व्याप्त हुँदा जनआक्रोश बढेको छ । अब मुलुकका सबै तह यसमा गम्भीर हुनुपर्ने समय आएको छ । अब नयाँ पुस्ताको भावनालाई समेटेर, उनीहरूलाई साथमा लिएर अघि बढ्ने बाटोमा सरकार र समाज हिँड्नुपर्छ । नयाँ नेतृत्वमा पुरानै झल्को देखियो र विगतका कमजोरी फेरि दोहोरिने भयो भने त्यसले युवाहरूको असन्तुष्टि थप बढाउँछ ।

आजका दिनमा मुलुकमा युवाहरूका लागि पर्याप्त अवसरको अभाव छ । कसैलाई पनि रहरले विदेश जान मन लाग्दैन । तर, यहाँ धेरै युवाहरू दिनहुँ बिदेसिन बाध्य छन् ।

यो अवस्था अन्त्यका लागि हामीले एउटा आधार (प्लेटफर्म) तयार गर्नुपर्छ । निजी क्षेत्रका नाताले हामी आफ्नो भूमिका निर्वाह गर्न तयार छौं । सरकारले पूर्वाधार विकास गरेर सहजकर्ताको भूमिका निर्वाह गरिदिनुपर्छ । निजी क्षेत्रलाई काम गरेर खाने वातावरण बनाइदिनुपर्छ । हाम्रो समाजमा अत्यधिक नकारात्मक आक्रोश थियो । त्यो आक्रोश कुनै न कुनै समयमा विस्फोट हुन्छ जस्तो लागेको थियो । दुर्भाग्यवश, त्यो नराम्रोसँग विस्फोट भयो ।

अब हामीले त्यसलाई एउटा नराम्रो सपनाका रूपमा बिर्सेर अघि बढ्नुको विकल्प छैन । त्यसका लागि सरकारले सुरक्षाको प्रत्याभूत गरेर लगानीको वातावरण सृजना गर्नुपर्छ । व्यापार घाटालाई न्यूनीकरण गर्न स्वदेशी उत्पादन बढाउने रणनीति तर्जुमा गर्नुपर्छ । स्वदेशमा निकासीजन्य उद्योग स्थापना गर्न विद्यमान कानुनी झन्झट हटाएर नीति र करका दरमा संशोधन गर्नुपर्छ । यसो गरेमा मुलुकमा लगानीको वातावरण बन्ने देखिन्छ ।

(प्रस्तुत लेख ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन तयार गर्ने क्रममा सोधिएका प्रश्नहरुमा एमएम ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक सुयस प्याकुरेलले दिएको जवाफका आधारमा तयार पारिएको हो।)

Read more news from Clickmandu

Explore by Source or Category