npl.977 Nepal News Stream

देशसञ्चार logo देशसञ्चार

लेबनान र इजरायलबीच १० दिने युद्ध विराम

देश सञ्चार 4 hours ago

इजरायल र लेबनानबीच १० दिनको युद्धविराम सहमति भएको छ। नेपाली समय अनुसार युद्धविराम आज बिहान २:४५ बाट लागु भएको छ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत लेबनानका राष्ट्रपति जोसेफ औन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सँग कुराकानी गरेपछि यस्तो सहमति भएको बताएका छन्।

उनले दुवै नेतालाई वासिङ्टनमा वार्ताका लागि निमन्त्रणा दिने पनि बताएका छन्। यसै हप्ता वासिङ्टनमा यी दुई देशबीच ३४ वर्षपछि पहिलोपटक प्रत्यक्ष वार्ता भएको थियो, जसमा अमेरिकी विदेश मन्त्री मार्को रुबियो समेत सहभागी थिए।

ट्रम्पले उपराष्ट्रपति जेडी भान्स, विदेश मन्त्री रुबियो तथा ज्वाइन्ट चिफ्सका अध्यक्ष जनरल ड्यान केन लाई दुवै देशसँग समन्वय गर्दै दीर्घकालीन शान्ति स्थापना गर्न काम गर्न निर्देशन दिएका छन्।

यो युद्धविराम सुरुमा १० दिनका लागि लागू गरिएको भएपनि अमेरिकाले आवश्यक परे यसलाई थप विस्तार गर्न सकिने बताएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू का अनुसार यसले लेबनानसँग ‘ऐतिहासिक शान्ति सम्झौता’ गर्ने अवसर सिर्जना गर्न सक्ने बताएका छन्।

इरान समर्थित हेजबोल्लाह ले युद्धविराम पालना गर्ने सहमति जनाएको छ, तर उसले सम्पूर्ण लेबनानी भूभागमा आक्रमण पूर्ण रूपमा रोक्नुपर्ने र इजरायली सेनालाई स्वतन्त्र रूपमा चल्न नदिइनुपर्ने माग राखेको छ।

नेतन्याहूले भने इजरायली सेना दक्षिण लेबनानमा १० किलोमिटर गहिराइसम्मको ‘सुरक्षा क्षेत्र’ भित्र रहने बताएका छन्, जुन हेजबोल्लाहको पूर्ण फिर्ताको मागसँग मेल खाँदैन।

अमेरिकी विदेश मन्त्रालयका अनुसार सम्झौताअनुसार लेबनान सरकारले हेजबोल्लाहले इजरायलमाथि आक्रमण गर्न नदिन ‘अर्थपूर्ण कदम’ चाल्नुपर्ने छ। साथै, लेबनानको सार्वभौमिकता र राष्ट्रिय सुरक्षाको जिम्मा केवल त्यहाँका सरकारी सुरक्षा निकायहरूमै रहने पनि उल्लेख गरिएको छ।

युद्धविराम लागू हुनुअघि नै इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले पछिल्लो २४ घण्टामा दक्षिण लेबनानमा ३८० भन्दा बढी हेजबोल्लाहका लक्ष्यहरूमा आक्रमण गरेको जनाएको छ, जसमा रकेट लञ्चर, मुख्यालय र लडाकुहरू समेत परेका छन्। युद्ध बिराम पछि अबको कदम के हुने भन्ने स्पष्ट छैन।

डोनाल्ड ट्रम्पले इजरायल र लेबनानका नेताहरूलाई व्हाइट हाउसमा निमन्त्रणा दिएको बताएका छन्, तर त्यसबारे अहिलेसम्म कुनै औपचारिक पुष्टि भएको छैन।

Read more news from देशसञ्चार

Explore by Source or Category