Sutra News
मङ्सिरमा नेपाली फिल्मको व्यापार कमजोर, के हो कारण ?
काठमाडौं । गत असोज र कात्तिकमा उत्साहजनक देखिएको नेपाली चलचित्रको व्यापार मङ्सिरमा भने कमजोर देखिएको छ ।
चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ मा पुस ५ गतेसम्म रहेको तथ्याङ्कअनुसार मङ्सिरमा प्रदर्शन भएका चलचित्रको व्यापार सुखद छैन । मङ्सिर १२ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘हर्ष’ ले गत पुस ५ गतेसम्म रु २८ लाख ७८ हजार ५३६ मात्र कमाइ गरेको छ ।
एकता पौडेलले निर्देशन गर्नुभएको चलचित्र हर्षका लागि जम्मा आठ हजार ८६६ वटा टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा खगेन्द्र लामिछाने, सन्तोष पन्त, नीर शाह, वर्षा राउतलगायत कलाकारको अभिनय छ ।
मङ्सिर १८ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘अभिमन्यू’ ले सोही अवधिसम्म रु २१ लाख ४८ हजार ७०२ कमाइ गरेको छ । सुशान्त गौतमले निर्देशन गर्नुभएको उक्त चलचित्रको छ हजार ८५० वटा टिकट बिक्री भएका छन् ।
चलचित्रमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, सरिता गिरी लगायतका कलाकारको अभिनय छ । ‘पूर्णबहादुरको सारङ्गी’ जस्तो ऐतिहासिक सफल चलचित्र निर्माण गरेका निर्माता विनोद पौडेलले निर्माण गर्नुभएको दोस्रो चलचित्र व्यावसायिक रूपमा असफल देखिएको छ।
मङ्सिर २६ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘पीआर’ ले सोहि अवधिमा रु छ लाख ६८ हजार ६३३ कमाइ गरेको छ । उक्त चलचित्रको कूल दुई हजार १०९ वटा टिकट बिक्री भएका छन् ।
शोभित बस्नेतले निर्देशन गर्नुभएको उक्त चलचित्रमा सुरज पौडेल, विनिता कार्की, नीर शाह, गौरी मल्ललगायत कलाकारको अभिनय छ ।
मङ्सिर २६ मा प्रदर्शन भएको चलचित्र ‘लोकन्ती’ ले रु चार लाख एक हजार ३४० र ‘चिराग’ ले रु ६८ हजार ४५० कमाइ गरेको तथ्याङ्क ‘सिनेपा २ बक्सअफिस’ मा उल्लेख छ । उल्लेखित कमाइ गएको पुस ५ गते बेलुकी ११ः५९ मिनेटसम्म नेपालभर भएको हो ।
‘विगतलाई हेर्दा पनि मङ्सिर र पुसमा प्रदर्शन भएका चलचित्रले व्यावसायिक रूपमा नयाँ रेकर्ड बनाउने गरेका छैनन् । यद्यपि माघदेखिको समय भने राम्रो मानिन्छ । किनकि चिसो कम हुने भएकाले नेपाली चलचित्रका निर्माताले उक्त समयलाई चलचित्र प्रदर्शन गर्न उपयुक्त मान्ने गरेका छन् । यद्यपि, कथावस्तुले आकर्षित गरे चलचित्रको व्यापार आफैँ बढ्छ’, वितरक श्रेष्ठले भने ।