npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

नेकपा एमाले रुपन्देही २ को चुनावी प्रतिवद्धता : भौतिक र मानवीय विकासलाई एकसाथ अघि बढाउने

न्युज अफ नेपाल 9 hours ago

बुटवल ।

प्रतिनिधिसभा निर्वाचन–२०८२ नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रुपन्देही निर्वाचन क्षेत्र नं. २ का लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । उम्मेदवार विष्णुप्रसाद पौडेलको नेतृत्वमा सार्वजनिक गरिएको घोषणापत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, सडक तथा शहरी पूर्वाधार, उद्योग–व्यापार, कृषि, पर्यटनदेखि सुशासनसम्मका बहुआयामिक योजना समेटिएका छन् । पार्टीले संविधानको रक्षा, सामाजिक न्याय, समानता र सुशासनमार्फत रुपन्देहीलाई देशकै अग्रणी आर्थिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ। घोषणापत्रमा भौतिक तथा मानवीय विकासलाई समानान्तर रूपमा अघि बढाइने उल्लेख छ ।

एमालेले रुपन्देहीलाई विद्यालय र उच्च शिक्षाको प्रमुख केन्द्रका रूपमा विकास गर्ने घोषणा गरेको छ । यसअन्तर्गत विद्यालय तथा कलेजको भौतिक पूर्वाधार विस्तार, दक्ष जनशक्ति व्यवस्थापन तथा गुणस्तरीय शिक्षा सुनिश्चित गरिने उल्लेख छ । बुटवल मेडिकल कलेजको पूर्वाधार निर्माण तथा सञ्चालन, बुटवल बहुमुखी क्याम्पसको स्तरोन्नति, विभिन्न सामुदायिक क्याम्पसमा शैक्षिक भवन तथा छात्रावास निर्माण गर्ने योजना पनि प्रतिबद्धता पत्रमा समेटिएको छ । साथै कृषि र इन्जिनियरिङ क्याम्पस स्थापना गर्ने र प्राविधिक शिक्षालाई प्राथमिकता दिने उल्लेख गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा रुपन्देहीका नागरिकलाई उपचारका लागि राजधानी धाउन नपर्ने गरी गुणस्तरीय सेवा उपलब्ध गराउने एमालेको प्रतिबद्धता छ । लुम्बिनी प्रादेशिक अस्पतालको पूर्वाधार निर्माण पूरा गरी उपकरण र जनशक्ति व्यवस्थापन गरिने उल्लेख गरिएको छ । एमालेले प्रतिबद्धता पत्रमार्फत रुपन्देही निर्वाचन क्षेत्र नं. २ लाई शिक्षा, स्वास्थ्य, रोजगारी, उद्योग, पूर्वाधार र कृषि विकासको नमुना क्षेत्र बनाउने लक्ष्य लिएको जनाएको छ । पार्टीले यी कार्यक्रम कार्यान्वयनमार्फत समृद्ध, आधुनिक र आत्मनिर्भर समाज निर्माण गर्ने दाबी गरेको छ ।

Read more news from News of Nepal

Explore by Source or Category