News of Nepal
बर्दिबासमा भूतपूर्व सैनिक सम्मेलन, कल्याण र पुनर्मिलनमा जोड
काठमाडौं ।
“भूतपूर्व सैनिक सम्मेलनको प्रण– सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन” भन्ने मूल नारासहित भूतपूर्व सैनिक सम्मेलन–२०८३ सम्पन्न भएको छ। नेपाली सेनाको मध्य पूर्वी पृतनाको जिम्मेवारी क्षेत्रअन्तर्गतका जिल्लाहरूमा आयोजित सम्मेलनको मुख्य कार्यक्रम बर्दिबासमा सम्पन्न भएको हो।

प्रधानसेनापति महारथी अशोक राज सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा करिब २,५०० अवकाशप्राप्त सैनिक तथा उनीहरूका परिवारजनको उल्लेख्य सहभागिता रहेको थियो। यसैगरी, अन्य दुई पृतनामा उपरथीहरूको प्रमुख आतिथ्यतामा समानान्तर रूपमा कार्यक्रम आयोजना गरिएको थियो।
नेपाली सेना कल्याणकारी बोर्डको समन्वयमा सम्पन्न सम्मेलनमा ज्येष्ठ भूतपूर्व सैनिक तथा एकल महिलाका चार जना सन्तानलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने अभिभावकहरूलाई सम्मान गरिएको थियो। साथै, उत्कृष्ट तथा सर्वोत्कृष्ट उद्यमीहरूलाई प्रशंसा–पत्रसहित पुरस्कार प्रदान गरिएको जनाइएको छ।
कार्यक्रमका क्रममा फरक क्षमता भएका तथा अशक्त आठ जना भूतपूर्व सैनिकलाई ह्वीलचेयर र बैसाखी वितरण गरिएको थियो। यसले नेपाली सेनाको सामाजिक उत्तरदायित्व र कल्याणकारी कार्यप्रति प्रतिबद्धता झल्काएको छ।
सम्मेलनले सेवामा रहेका र अवकाशप्राप्त सैनिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ। साथै, हिताधिकारीहरूका लागि शिक्षा, स्वास्थ्य, सहुलियत तथा स्वरोजगारका क्षेत्रमा समयानुकूल सुविधा विस्तार गर्न उपयोगी सुझावहरू संकलन गरिएको नेपाली सेनाले जनाएको छ।

आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालन भइरहेको यस सम्मेलनअन्तर्गत आगामी वैशाख ५ गते हिमाली तथा पहाडी जिल्लाहरूमा समेत कार्यक्रम आयोजना गरिने जानकारी दिइएको छ।