Sutra News
कस्ता विद्यार्थीको अमेरिकी भिसा रद्द हुन्छ ? दूतावासले पार्यो स्पष्ट
काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले अध्ययनका क्रममा अमेरिकामा रहेका विद्यार्थीको भिसा रद्द कुन अवस्थामा हुन्छ भनेर प्रष्ट पारेको छ ।
शुक्रबार (फागुन ८) दूतावासले सार्वजनिक सूचना निकालेर पढाइ छोड्ने, कक्षाहरूमा अनुपस्थित हुने, विद्यालयलाई जानकारी नदिई आफ्नो शैक्षिक कार्यक्रम त्यागेमा भिसा रद्द हुने जानकारी दिएको हो । साथै यस्ता क्रियाकलाप गर्ने विद्यार्थीलाई भविष्यमा पुनः भिसा पाउन अयोग्य हुन सक्ने सूचनामा उल्लेख छ ।
यसैगरी, लागुपदार्थको प्रयोग तथा मदिरा सेवन गरी सवारी चलाउने लगायत अमेरिकी कानुनको उल्लङ्घन गरेमा पनि भविष्यमा भिसा पाउने सम्भावनामा असर गर्ने भनिएको छ ।
‘यदि तपाई अमेरिकामा विद्यार्थी भिसामा हुनुहुन्छ भने, तपाईले आफ्नो शैक्षिक संस्थामा आफ्नो भिसाको हैसियत कायम राख्नुपर्छ। पढाइ छोड्ने, कक्षाहरूमा अनुपस्थित हुने अथवा विद्यालयलाई जानकारी नदिई आफ्नो शैक्षिक कार्यक्रम त्याग्ने गरेमा भिसा रद्द हुन सक्छ र भविष्यमा पुनः भिसा पाउन अयोग्य हुन सक्नुहुन्छ,’ सूचनामा उल्लेख छ, ‘लागुपदार्थको प्रयोग तथा मदिरा सेवन गरी सवारी चलाउने लगायत अमेरिकी कानुनको उल्लङ्घन गरेमा भविष्यमा भिसा पाउने तपाईको सम्भावनामा स्थायी असर पर्न सक्छ।’