npl.977 Nepal News Stream

Nepali Link

हाम्रो नेपाली समाज वेष्ट मिडल्यान्डमा नयाँ वर्ष उत्सव, नचाइन् सपना रोकाले

Dhruba Aryal 2 days ago

लन्डन- मिडल्यान्डको वुल्भरह्याम्पटनस्थित हाम्रो नेपाली समाज वेष्ट मिडल्यान्डले नेपाली नयाँ वर्ष २०८३ लाई एक विशेष कार्यक्रमका साथ स्वागत गरेको छ ।

सोमबार साँझ वुल्भरह्याम्पटनको सितारा कम्युनिटी हलमा आयोजित नयाँ वर्ष शुभकामना कार्यक्रममा विविध सांस्कृतिक र मनोरजनात्मक प्रस्तुतिका साथ नयाँ वर्षको शुभकामना आदानप्रदान गरियो ।

समाजकी अध्यक्ष लक्ष्मी खरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि साझा नेपाली समाज यूके अध्यक्ष नारायण फुयांलले नयाँ वर्षको शुभकामना दिंदै हाम्रो नेपाली समाजले गर्दै आएका कार्यको प्रशंसा गरे ।

महिला नेतृत्वमा रहेको संस्थाले स्थानीय बालबालिकालाई नेपाली भाषा, संस्कृति र रहनसहन सिकाउन गरेका प्रयास बेलायतभरमै उदाहरणीय लागेको उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लक्ष्मी खरालले समाजका सबै सदस्यहरुलाई नयाँ वर्षको शुभकामना दिइन् । समाजको आफ्नै भवनका लागि कोष संकलन अभियान शुरु भइसकेको जानकारी गराउँदै अध्यक्ष खरालले यस कार्यमा सबैको साथ, सहयोग र सहभागिताका लागि आव्हान गरिन् ।

समाजका पूर्व अध्यक्ष एवम् साझा नेपाली समाज यूकेका उपाध्यक्ष शिव खरालले नयाँ वर्षको शुभकामना दिंदै कार्यक्रममा उपस्थित सबै अतिथि तथा सहभागीलाई धन्यवाद दिए। महासचिव ईश्वर रिजालले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सागर गैरेले दिए ।

कार्यक्रममा अतिथिका रुपमा गल्कोट समाज यूके उपाध्यक्ष सुरेश भण्डारी, सरल सहकारी अध्यक्ष गुरु भण्डारी, समाजका संस्थापक अध्यक्ष गंगाधर गौतम, पूर्व अध्यक्षहरु मिलन सापकोटा, कृष्ण शर्मा र गोमा पौडेल, निवर्तमान अध्यक्ष भिम शर्मालगायतको सहभागिता थियो ।

समाजकै निमन्त्रणामा नेपालबाट आएकी राष्ट्रिय गायिका सपना रोका मगरको प्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएको थियो । उनले आफ्नो प्रस्तुतिमा उपस्थित दर्शकलाई धेरैबेरसम्म नचाएकी थिइन् ।

सोही अवसरमा समाजद्धारा सञ्चालित नेपाली कक्षाका बालबालिकाले आफ्नो सिकाइलाई कलात्मक रुपमा प्रस्तुत गरे । अन्य स्थानीय कलाकारले पनि आकर्षक नृत्यहरु देखाएर मनोरञ्जन दिलाएका थिए ।

समाजकी अध्यक्ष लक्ष्मी खरालले कार्यक्रम सफल पार्न आ आफ्नो स्थानबाट योगदान गर्ने सबै अतिथि, सहभागी तथा कार्यसमितिका पदाधिकारी, सदस्य एवम् सबै सहयोगीहरुप्रति आभार प्रकट गरेकी छन् । नयाँ वर्ष शुभकामना कार्यक्रममा भाग लिन २ सय ५० भन्दा बढी स्थानीय नेपालीहरु भेला भएका थिए ।

Read more news from Nepali Link

Explore by Source or Category