npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

कांग्रेसले दोस्रो चरणको आर्थिक पुनरुत्थान सुरु गर्ने, १० लाखसम्मको आम्दानीमा कर नलगाउने घोषणा

क्लिकमान्डु 17 hours ago

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अब देशमा दोस्रो चरणको आर्थिक पुनरुत्थान सुरु गर्ने बताएका छन् । २०४८ देखि ०५१ सम्मको तीन वर्षलाई अर्थतन्त्रको ‘स्वर्णिम युग’को रूपमा व्याख्या गर्दै थापाले अब दोस्रो चरणको आर्थिक पुनरुत्थान सुरु गर्ने बताएका हुन् ।

बिहीबार नेपाली कांग्रेसको चुनावी प्रतिज्ञापत्रमाथि भएको छलफल तथा प्रश्नोत्तर कार्यक्रममा बोल्दै अध्यक्ष थापाले उक्त अवधिमा कांग्रेस सरकारले अर्थतन्त्र सुधारका लागि महत्वपूर्ण र दह्रो नीतिगत कदम चालेको र त्यसकै आधारमा आजको आर्थिक प्रगति सम्भव भएको दाबी गरे ।

‘यदि त्यो समयको सुधारको गति कायम राखिएको भए आज नेपालको प्रतिव्यक्ति आय २५ सय डलर पुगिसक्थ्यो,’ थापाले भने।

अब पाँच वर्षभित्र उक्त आर्थिक घाटा पूर्ति गर्ने लक्ष्य कांग्रेसले लिएको उनको भनाइ छ ।

अबको पाँच वर्षलाई ‘आर्थिक पुनरुत्थानको अर्धदशक’का रूपमा अघि बढाउने र ‘सेकेन्ड जेनेरेसन रिफर्म’मार्फत प्रतिव्यक्ति आय २५ सय डलर पुर्‍याउने लक्ष्य राखिएको उनको भनाइ छ । यसका लागि करिब १३७ खर्ब रुपैयाँ बराबरको अर्थतन्त्र परिचालन आवश्यक पर्ने उनको भनाइ छ ।

उनका अनुसार कांग्रेसले ‘प्रो–ग्रोथ’, ‘प्रो–बिजनेस’ र ‘प्रो–सोसियल जस्टिस’को अवधारणामा आधारित नीति अवलम्बन गर्नेछ। निजी क्षेत्रमैत्री नीतिको आलोचना भए पनि त्यसलाई स्वीकार गर्ने उनको भनाइ छ ।

थापाले अबको कांग्रेसले कुनै पनि नियुक्तिमा भाग नलिने प्रतिबद्धता व्यक्त गरे । ‘कुनै पनि नियुक्तिमा दल होइन, अब्बल’ भन्ने नारा अघि सार्दै उनले संवैधानिक आयोग, विश्वविद्यालय लगायतका निकायमा राजनीतिक भागबन्डा अन्त्य गरिने बताए ।

साथै, विगत लामो समयदेखि सरकारमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नुपर्ने उनको भनाइ छ ।

Read more news from Clickmandu

Explore by Source or Category