npl.977 Nepal News Stream

देशसञ्चार logo देशसञ्चार

‘स्ट्रेट अफ हर्मुज’ खुलेसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट, शेयर बजार सकरात्मक

देश सञ्चार 12 hours ago

इरानका विदेशमन्त्री अब्बास अराघचीले युद्धविराम अवधिभर ‘स्ट्रेट अफ हर्मुज’ व्यावसायिक जहाजका लागि ‘पूर्ण रूपमा खुला’ गरिएको घोषणा गरेसँगै विश्व तेलबजारमा व्यापक गिरावट आएको छ।

त्यसको केहीबेरमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रुथ सोसल’मार्फत धन्यवाद दिएका थिए। तर, उनले स्थायी शान्ति सम्झौता नभएसम्म इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी जारी रहने पनि बताए।

इरानको घोषणापछि तेलको मूल्य घटेको छ। हर्मुज जलडमरूमध्य विश्वको अत्यन्त महत्वपूर्ण तेल ढुवानी मार्ग भएकाले यहाँ अवरोध हुँदा आपूर्ति प्रभावित भएको थियो भने विश्वभर महँगी र तेल अभाव देखिन थालेको थियो।

इरानको निर्णयले तेलको मूल्य घटेको छ भने सेयर बजार र सरकारी ऋणपत्र (बन्ड) मा उछाल आएको छ। इरानले हर्मुज युद्धविराम अवधिभर खुला रहने घोषणा गरेपछि बजारमा यस्तो सकारात्मक प्रभाव देखिएको हो।

इरानका विदेशमन्त्री अब्बास अराघचीले ‘एक्स’मा पोस्ट गर्दै लेबनानसँगको युद्धविरामसँगै हर्मुज हुँदै सबै व्यावसायिक जहाजहरूको आवतजावत पूर्ण रूपमा खुला गरिएको बताएका छन्।

यससँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। ब्रेन्ट क्रूड प्रतिब्यारेल ९ प्रतिशतले घटेर ९० डलरमा झरेको छ भने अमेरिकी कच्चा तेल १० प्रतिशतले घटेर ८१.५ डलरमा पुगेको छ। यद्यपि, यो मूल्य युद्धअघिको स्तरभन्दा अझै माथि नै छ, तर मार्च अन्त्यतिरको करिब १२० डलरको उच्च बिन्दुभन्दा भने उल्लेखनीय रूपमा तल आएको हो।

विश्वभरका सेयर बजारमा पनि उछाल आएको छ। युरोपको प्रमुख सूचक १.३ प्रतिशतले बढेको छ भने अमेरिकी फ्युचर्स ०.९ प्रतिशत माथि पुगेका छन्। सरकारी बन्डहरू पनि मजबुत भएका छन्। अमेरिकी १० वर्षे ट्रेजरी बन्डको प्रतिफल ०.०७ प्रतिशत बिन्दुले घटेर ४.२३ प्रतिशतमा झरेको छ, जुन मार्च मध्ययताकै न्यून स्तर हो।

युरोपमा भने युद्धपछि ऊर्जा मूल्य बढ्ने डरले बन्डहरू बढी प्रभावित भएका थिए। तर, अहिले ब्याजदर कटौतीको अपेक्षा घट्दै जाँदा युरोपेली बन्डहरू सुधारतर्फ देखिएका छन्। जर्मनीको १० वर्षे बन्डको प्रतिफल २.९६ प्रतिशतमा झरेको छ भने बेलायतको २ वर्षे बन्ड ४.१० प्रतिशतमा आएको छ। यसबीच अमेरिकी डलर पनि कमजोर बनेको छ। डलर ०.६ प्रतिशतले घटेको छ।

Read more news from देशसञ्चार

Explore by Source or Category