npl.977 Nepal News Stream

देशसञ्चार logo देशसञ्चार

संघीय सरकारको निर्णय अवज्ञाः धनगढीमा आजदेखि भर्ना अभियान सुरु हुने

देश सञ्चार 4 hours ago

धनगढी- बैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने संघीय सरकारको निर्णयको अवज्ञा गर्दै धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूका लागि नयाँ शैक्षिक सत्रको भर्ना अभियान र कक्षा सञ्चालन सम्बन्धी निर्णय सार्वजनिक गरेको छ।

उपमहानगरपालिकाको नगर शिक्षा समितिको मिति २०८३ वैशाख ३ गते बसेको बैठकले विद्यार्थीको पढाइ र वार्षिक कार्यघण्टालाई मध्यनजर गर्दै नयाँ कार्यतालिका तय गरेको हो।

नगरपालिकाद्वारा जारी सूचना अनुसार, धनगढीका सबै विद्यालयहरूले मिति २०८३ वैशाख ४ गते (आज)देखि वैशाख ११ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्नुपर्नेछ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यसअघि तोकेको समयसीमामा केही परिमार्जन गर्दै स्थानीय सरोकारवालाहरूको सुझावका आधारमा यो निर्णय लिइएको नगर प्रमुख गोपाल हमालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

विद्यार्थीहरूको अध्ययन अध्यापन कार्यमा अवरोध नहोस् र पाठ्यक्रमले तोकेको वार्षिक कार्यघण्टा पुगोस् भन्ने उद्देश्यले विद्यालयहरूमा नियमित कक्षा सञ्चालनका लागि पनि मिति तोकिएको छ। जसअनुसार, वैशाख १४ गतेदेखि सबै विद्यालयहरूमा नियमित रूपमा पठनपाठन सुरु हुनेछ।

यसअघि केन्द्र सरकारको निर्देशनमा वैशाख २१ गतेदेखि मात्र कक्षा सुरु गर्ने भनिए तापनि अध्ययनको गुणस्तरमा ह्रास आउन सक्ने र पर्याप्त शैक्षिक दिन नपुग्ने देखिएकाले धनगढी उपमहानगरपालिकाले अलि चाँडो कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

यस निर्णयलाई कडाइका साथ पालना गर्न नगर क्षेत्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरूलाई जानकारी गराइएको छ।

Read more news from देशसञ्चार

Explore by Source or Category