npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

जनपक्षीय विद्यार्थी युनियनद्वारा सोमबार उपत्यकाव्यापी शैक्षिक हडतालको घोषणा

न्युज अफ नेपाल 3 hours ago

काठमाडौँ।

जनपक्षीय विद्यार्थी युनियन, नेपालले भोलि सोमबार उपत्यकाव्यापी शैक्षिक हडताल गर्ने घोषणा गरेको छ। जनविरोधी शिक्षा प्रणाली, शिक्षाको व्यापारीकरण, असमानता र राज्यको गैरजिम्मेवारीका विरुद्ध हडताल आयोजना गर्न लागिएको संगठनले जनाएको छ।

युनियनकी अध्यक्ष सुनिता बुढाथोकीद्वारा जारी विज्ञप्तिमा गलत शिक्षा नीतिका विरुद्ध विद्यार्थीहरू एकजुट भएर संघर्षमा उत्रनुपर्ने उल्लेख गरिएको छ। विज्ञप्तिमा जनपक्षीय लोकतन्त्र, समान शिक्षा र सर्वसुलभ अवसरका लागि शैक्षिक हडताल अपरिहार्य भएको दाबी गरिएको छ।

संगठनले विदेशमा रहेका नेपाली विद्यार्थी तथा नागरिकलाई मतदान अधिकार सुनिश्चित गर्नुपर्ने, संविधानअनुसार माध्यमिक तहसम्म निःशुल्क शिक्षा पूर्ण रूपमा लागू गर्नुपर्ने र सरकारी विद्यालयमा अंग्रेजी तथा राष्ट्रिय भाषामाध्यमबाट पढाइको व्यवस्था गर्नुपर्ने माग अघि सारेको छ।

त्यसैगरी कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई मासिक पाँच सय रुपैयाँ भत्ता उपलब्ध गराउनुपर्ने, कलेज तहमा अध्ययन गर्ने विद्यार्थीका लागि सरकार जमानी बसेर सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्ने तथा निजी विद्यालयले असुल्दै आएको शुल्क तत्काल ५० प्रतिशत घटाउनुपर्ने माग गरिएको छ।

युनियनले सम्पूर्ण विद्यार्थीलाई निःशुल्क इन्टरनेट सेवा, विद्यार्थी राशन कार्डको व्यवस्था, शिक्षाको निजीकरण अन्त्य, व्यवहारिक र सीपमूलक शिक्षा प्रणाली लागू गर्नुपर्ने माग पनि अघि सारेको छ। निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तलब सरकारी विद्यालय सरह हुनुपर्ने र शैक्षिक सामग्री आयातमा भन्सार शुल्क घटाउनुपर्ने मागसमेत समेटिएको छ।

यसका साथै संगठनले सबै तहमा प्राविधिक शिक्षाको प्रभावकारी कार्यान्वयन, नैतिक र वैज्ञानिक शिक्षा नीति लागू गर्नुपर्ने, राष्ट्रिय डेटा संरक्षण नीति निर्माण गर्नुपर्ने तथा अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउनुपर्ने माग गरेको छ।

अध्यक्ष बुढाथोकीले पौष ७ गतेको शैक्षिक हडताल सफल बनाउन सबै विद्यार्थीलाई आ–आफ्नो स्थानबाट सहभागिता जनाउन आह्वान गरेकी छन्।

Read more news from News of Nepal

Explore by Source or Category