News of Nepal
एमाले उप—महासचिव भट्टले प्रतिवद्धतापत्र सार्वजनिक गर्दै भन्नुभयो — हामी काम गर्छौ , काम देखाउँछौं
धनगढी ।
नेकपा एमालेका उप महासचिव एवम कैलाली क्षेत्र नम्वर ४ का उम्मेदवार लेखराज भट्टले काम गर्छौ काम देखाउँभछौ भन्ने संकल्प गर्दै आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको छ । विकासमा निरन्तरताm जनताको हितमा राजनीति,स्पष्ट दृष्टिकोण दूरदर्शी नेतृत्व भन्ने मुल संकल्प सहित विहीवार सार्वजनिक गर्नुभएको प्रतिवद्धतापत्रमा जिल्लाको विकास र जनजीवनसँग प्रत्यक्ष जोडिने एजेन्डासहित आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।

उहाँले घोषणापत्रमा स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, रोजगारी, उद्योग तथा पर्यटनलाई मुख्य प्राथमिकताका क्षेत्रका रूपमा प्रस्तुत गर्नुभएको छ। प्रतिवद्धतापत्रमा भट्टले सबै नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
स्थानीय स्वास्थ्य संस्था सुदृढीकरण, आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन, आधुनिक उपकरणको प्रयोग र ग्रामीण भेगमा लक्षित स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको छ। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि विशेष सेवा विस्तार गरिने उल्लेख छ। दीर्घकालीन रोग तथा जनस्वास्थ्य समस्याको समाधानका लागि विशेषज्ञ सेवा र संरचना विस्तारमा पनि जोड दिइएको छ।
शिक्षा क्षेत्रमा विद्यालयको भौतिक पूर्वाधार सुधार, प्रविधिमैत्री कक्षा सञ्चालन, शिक्षक तालिम तथा गुणस्तरीय शिक्षामा प्राथमिकता दिने प्रतिबद्धता घोषणापत्रमा समेटिएको छ। स्थानीय आवश्यकताअनुसार प्राविधिक तथा सीपमूलक शिक्षा विस्तार गरी युवालाई रोजगारीसँग जोड्ने नीति लिइने बताइएको छ। विद्यालयमा खेलमैदान, अतिरिक्त क्रियाकलाप र समग्र व्यक्तित्व विकासका कार्यक्रमलाई पनि प्राथमिकतामा राखिने उल्लेख गरिएको छ।
पूर्वाधारतर्फ कैलाली–४ क्षेत्रभित्रका सडक स्तरोन्नति, नियमित मर्मत, नयाँ सडक निर्माण तथा आवागमन सहज बनाउन आवश्यक स्थानमा पक्की पुल र झोलुङ्गे पुल निर्माण गर्ने योजना अघि सारिएको छ। बाढी, पहिरो र नदीकटानबाट जोखिममा रहेका बस्ती र खेतीयोग्य जमिनको संरक्षणका लागि तटबन्ध तथा दीर्घकालीन पूर्वाधार निर्माणमा पहल गरिने प्रतिबद्धता जनाइएको छ।
कृषि, सिँचाइ र खानेपानी क्षेत्रमा उत्पादनमुखी योजना लागू गर्ने लक्ष्य घोषणापत्रमा उल्लेख छ। कृषकलाई उन्नत बीउबिजन, मल, आधुनिक प्रविधि तथा बजारसम्म पहुँच सुनिश्चित गरिने बताइएको छ। सिँचाइ सुविधा विस्तार, कृषि उत्पादन केन्द्र स्थापना, पशुपालन, तरकारी, फलफूल तथा नगदे बाली प्रवद्र्धनमार्फत किसानको आयस्तर वृद्धि गर्ने योजना प्रस्तुत गरिएको छ। खानेपानीको पहुँच विस्तारलाई पनि प्राथमिकतामा राखिएको छ।
उद्योग र रोजगारी सिर्जनातर्फ स्थानीय स्रोत–साधनमा आधारित साना तथा घरेलु उद्योग प्रवद्र्धन गर्ने, युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने र सीपमूलक तालिममार्फत स्वरोजगार सिर्जना गर्ने नीति घोषणापत्रमा समावेश गरिएको छ। विपन्न, दलित, महिला तथा पिछडिएका समुदायलाई लक्षित कार्यक्रम सञ्चालन गरी आर्थिक समावेशीकरणमा जोड दिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
धर्म, कला, संस्कृति र पर्यटन क्षेत्रको विकासलाई समेत घोषणापत्रको महत्त्वपूर्ण पक्ष बनाइएको छ। धार्मिक स्थल, ऐतिहासिक धरोहर तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रचार–प्रसार गर्ने, होमस्टे प्रवद्र्धन गर्ने तथा स्थानीय कला, संस्कृतिलाई पर्यटनसँग जोड्ने योजना अघि सारिएको छ। प्राकृतिक ताल, धार्मिक स्थल र रमणीय स्थानलाई व्यवस्थित गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य लिइएको छ।