Clickmandu
निल सारु मगर धितोपत्र बोर्डका सञ्चालक, श्रीमतीको ब्रोकर कम्पनी दीपेन्द्र अग्रवालको सहयोगी

काठमाडौं । पहुँच हुने लगानीकर्तालाई सेयर ब्रोकरले मिति उल्लेख नभएको चेक धरौटीमै अर्बौं रुपैयाँको सेयर कारोबारको सीमा दिने गरेको पाइएको छ । सोही कारोबार सीमा प्रयोग गरी केही लगानीकर्ताले सेयरको कृत्रिम माग देखाएर मूल्य बढाउन र आम लगानीकर्तालाई महँगो मूल्यमा फसाउने गरेको पाइएको छ ।
यस्तो कार्यमा लगानीर्तासँगै नेपाल धितोपत्र बोर्डकै तत्कालीन सञ्चालकको एकाघर परिवारको लगानी रहेको सेयर ब्रोकरसमेत प्रयोग भएको पाइएको धितोपत्र बोर्डकै अध्ययनले देखाएको छ ।
सामाजिक सञ्जालमार्फत झुक्याउने विवरण दिने, भ्रामक सूचना सार्वजनिक गरी मूल्य बढाएर सेयर बिक्री गरेर कानुनबिपरित नाफा आर्जन गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेका दीपेन्द्र अग्रवालले हातेमालो फाइनान्सियल सर्भिसेस नामक सेयर ब्रोकर कम्पनीसँग मिलेर कारोबार सीमाका लागि भुक्तानी गर्नुपर्ने अग्रिम रकम भुक्तानी नगरी असीमित कारोबार सीमा दिएर कारोबार हुने गरेको खुलेको हो ।
नेपाल धितोपत्र बोर्डका तत्कालीन सञ्चालक निलबहादुर सारु मगर लगानीकर्ता भएको सेयर ब्रोकरबाट दीपेन्द्र अग्रवालले मिति र ब्यालेन्स नभएको खाताको चेक धरौटी राखी असीमित कोल्याटरल लिने गरेको पाइएको छ ।
सेयर लगानीकर्ता दिपेन्द्र अग्रवालले निलबहादुर सारु मगरकी श्रीमती कविता लामा सारु मगरको लगानी रहेको सेयर ब्रोकरबाट अग्रिम कोल्याटरल नराखी मिति नभएको चेकको आधारमा करोबार सीमा प्रदान गर्ने गरेको खुलेको छ । नेपाल धितोपत्र बोर्डले दीपेन्द्रमाथि गरेको प्रारम्भिक अध्ययन प्रतिवेदनले उक्त तथ्य खुलाएको हो । जसलाई नेपाल धितोपत्र बोर्डले प्रारम्भिक अध्ययन गरी थप अनुसन्धानको लागि प्रहरीमा पठाइसकेको छ ।
धितोपत्र बोर्डका तत्कालीन सञ्चालक तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था आइक्यानका हालका अध्यक्ष निलबहादुर सारु मगरको एकाघर परिवारको लगानी रहेको सेयर ब्रोकरबाटै मिति नै नभएको चेक धरौटी मानेर असीमित कोल्याटरल दिने गरेको पाइएको हो । आइक्यानको उपाध्यक्ष हुँदा आइक्यानको प्रतिनिधिका रुपमा निलबहादुर धितोपत्र बोर्डका सञ्चालक थिए।
आइक्यानको उपाध्यक्षका रुपमा उनी २०८१ साउन १५ गतेदेखि धितोपत्र बोर्डका सञ्चालक थिए । यता नेपाल धितोपत्र बोर्डले २०८० जेठ २२ गते सेयर ब्रोकरको अनुमतिपत्र दिएको हातेमालो फाइनानिसयल सर्भिसेसमा धितोपत्र बोर्डका तत्कालीन सदस्य तथा आइक्यानका हालका अध्यक्ष निलबहादुर सारु मगरकी श्रीमती कविता लामा सारु मगरको नाममा सेयर लगानी रहेको पाइएको छ ।

कम्पनी रजिष्ट्रारका कार्यालयबाट २०७९ माघ १३ गते स्वीकृत भएको कम्पनीको सेयर लगत अनुसार निलबहादुरकी श्रीमती कविता सेयर ब्रोकर कम्पनी हातेमालो फाइनान्सियल सर्भिसेसको दोस्रो ठूलो सेयरधनी हुन् । धितोपत्र बोर्डले सीमित कार्य गर्ने धितोपत्र दलालको इजाजत दिएको कम्पनीमा कविताको नाममा २ करोड ५० लाख रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता सेयर रहेको देखिन्छ ।
निल बहादुरकी श्रीमतीको लगानी रहेको सोही ब्रोकरमार्फत दीपेन्द्र अग्रवालकै नियन्त्रणमा रहेको उनकी दिदी ज्योति अग्रवाललाई मिति उल्लेख नभएको साढे ३ अर्ब रुपैयाँको चेक धरौटी राखी कारोबार सीमा प्रदान भएको पाइएको छ । धितोपत्र बोर्डको अध्ययन प्रतिवेदनले दीपेन्द्रले ज्योति अग्रवालसहित १५ व्यक्तिको टीएमएएस आफैँ चलाउने गरेको र त्यहि १५ व्यक्तिबीच नै सेयर कारोबार र उच्च दरमा खरिद आदेश राखेर मूल्य बढाउने गरेको देखाएको छ ।
झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरी मूल्य बढाएर सेयर बिक्री गरेर कानुनबिपरीत नाफा आर्जन गरेको आरोपमा सीआईबीले दीपेन्द्रलाई गत शुक्रबार पक्राउ गरी अनुसनधान गरिरहेको छ । त्यस्तै अग्रवालले १५ लगानीकर्ताको टीएमएसमार्फत एकआपसमा सेयर कारोबरा गर्ने र वास्तविक स्वामित्व परिवर्तन भने नहुने गरेको र यस्तो कार्यलाई कृत्रिम र झुटो कारोबार भएको बोर्डको अध्ययन प्रतिवेदनमा नै उल्लेख छ । यसरी झुटो कारोबार र टीएमएसमा कृत्रिम माग सिर्जना गराउने असीमित कोल्याटरलका लागि धितोपत्र बोर्डका तत्कालीन सञ्चालक निल बहादुर सारुकी श्रीमतीको लगानी रहेको सेयर ब्रोकरको प्रयोग भएको पाइएको हो ।
अग्रवालले निल बहादुरकी श्रीमती कविताको लगानी रहेको सेयर ब्रोकरले अग्रवाललाई अग्रिम रकम नलिई मिति उल्लेख नभएको चेकको आधारमा कारोबार सीमा दिएर धितोपत्र बजारमा कारोबार प्रभावित बनाउन सहयोग गरेको देखिन्छ ।
अग्रवालले सामाजिक सञ्जालमा विभिन्न कम्पनीको सेयर मूल्य यति पुग्छ भनेर टिप्पणी गर्ने र सोही कम्पनीमा कारोबार समयमा एउटै कारोबार २ लाख ५ लाख कित्तासम्मको खरिद अर्डर देखाउने गरेका थिए । तर, यस्तो ठूलो कित्ता खरिद अर्डर भएकोमा कहिले मूल्य म्याच भएर कारोबार भने हुँदैन थियो । यस्ता कृत्रिम खरिद अर्डर राख्नका लागि हातेमालो फाइनान्सियल सर्भिसेसले धितोपत्र कारोबार सञ्चालन विनियमावलीको व्यवस्थाबिपरित मिति नभएको चेक धरौटीमा अग्रिम भुक्तानीबिनै कारोबार सीमा प्रदान गरेको धितोपत्र बोर्डको प्रारमिभ्क अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
दीपेन्द्र अग्रवालले भ्रामक सूचना फैलाएर मूल्य बढाई कानुनबिपरित नाफा कमाएको र झुटा कारोबार गरेको लगायतका विषयमा अध्ययन गर्ने क्रममा बोर्डले हातेमालो फाइनान्सियल सर्भिसेससँग विवरण मागेर अध्ययन गर्दा उक्त तथ्य फेला परेको हो ।
सेयर ब्रोकर कम्पनी हातेमालो फाइनान्सियल सर्भिसेससँग २०८१ फागुन २७ गते ज्योति अग्रवालको सेयर कारोबार गर्न दिने गरेको खरिद आदेश तथा कारोबार रकमका आधारमा के कसरी कारोबार सीमा दिएको छ भनि विवरण माग गरेर अध्ययन गरेको थियो । उक्त अध्ययनमा हातेमालो फाइनान्सियल सर्भिसेसले ज्योति अग्रवाललाई कारोबार सीमा प्रदान गर्दा धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को विनियम ८ बमोजिम लिनुपर्ने अग्रिम रकमको प्रमाण माग गर्दा मिति नभएको ज्योति अग्रवालको नामबाट खिचेको अस्वभाविक रकमको चेक फेला परेको बोर्डको प्रतिवेदनमा उल्लेख छ ।
कारोबार सीमाको लागि २५ प्रतिशत अग्रिम रकम जम्मा गर्नुपर्ने भए पनि हातेमालो फाइनान्सियल सर्भिसेसले ज्योति अग्रवाललाई ८० करोडका ५ वटा चेकबाट ३ अर्ब ५० करोड धरौटी राखेर कारोबार सीमा दिएको पाइएको बोर्डको प्रतिवेदनमा उल्लेख छ ।
धितोपत्र बोर्डले उक्त चेक जारी भएको खाताको विवरण समेत मागेर अध्ययन गर्दा उक्त खातामा यति धेरै रकम अग्रिम भुक्तानी हुनेगरी ब्यालेन्स नै नभएको देखिएकोले गलत नियतका साथ चेक धरौटी राखेको र सोही चेकका आधारमा कारोबार सीमा दिएको भन्दै हातेमालो फाइनान्सियल सर्भिसेसलाई पनि धितोपत्र बोर्डले कारबाहीका लागि सिफारिस गरेको छ ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले २०८१ फागुन ९ गते दीपेन्द्र अग्रवालमाथि अनुसनधान गर्न प्रारम्भिक जाँचबुझ अधिकृत तोकेका थिए । सोही आधारमा प्रतिवेदन तयार भएको करिब एक वर्ष भइसकेको छ । तर बोर्डमा सञ्चालक रहेका निल बहादुर सारु मगरको दबाबमा नै धितोपत्र बोर्डको सञ्चालक समितिले निर्णय गरेर थप अनुसन्धानको लागि प्रहरीमा पठाउन रोकेको स्रोतको दाबी छ । श्रीमतीको कम्पनीबाट दीपेन्द्र अग्रवाललाई सहयोग गरेको बारेमा प्रश्न उठेपछि धितोपत्र बोर्ड सञ्चालक समिति बैठकमै निल सारु मगरले आफ्नी श्रीमतीको नाममा रहेको सेयर बिक्री भइसकेको जानकारी गराएको एक सञ्चालकले क्लिकमान्डुलाई जानकारी दिए ।
धितोपत्र बोर्डको प्रारम्भिक अध्ययन रिपोर्टले हातेमालो फाइनान्सियल सर्भिसेसलाई पनि कारबाही सिफारिस गरेको छ । हातेमालो फाइनान्सियल सिर्भिसेसले ज्योति अग्रवालको ग्राहक परिचय विवरण सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को व्यवस्था बमोजिम अन्य व्यक्तिको तर्फबाट व्यवसायिक सम्बन्ध स्थापना तथा कारोबार गर्ने व्यक्तिको पहिचान तथा सम्पुष्टि नगरेको देखिएको औंल्याएको छ । जसबाट कर्पोरेट डेभलपमेन्ट बैंकको अन्तिम मूल्य ११६.८३ रुपैयाँले वृद्धि हुने वातावरण तयार भएको देखिएकोले हातेमालो फाइनान्सियल सिर्भिसेसलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७फ को उपदफा (१) को खण्ड (ख) बमोजिम १० लाख रुपैयाँ जरिवाना गर्न सिफारिस गरेको छ ।
यस्तै हातेमालो फाइनान्सियल सर्भिसेसले ज्योति अग्रवाललाई कारोबार गर्ने सीमा दिँदा धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम ८ बमोजिम लिनुपर्ने अग्रिम रकम नलिई केवल मिति उल्लेख नभएको चेकको आधारमा कारोवार सीमा दिई विनियमावलीको व्यवस्थाको उल्लंघन गरेकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा ९६० बमोजिम हदैसम्मको जरिवाना गर्नुपर्ने सिफारिस धितोपत्र बोर्डको प्रारम्भिक अध्ययन प्रतिवेदनले गरेको छ ।
बोर्डका तत्कालीन अध्यक्ष तथा आइक्यानका अध्यक्ष निल बहादुर सारु मगरकी श्रीमतीको लगानी रहेको ब्रोकर कम्पनीले नै अग्रवालको गतल कार्यमा सहयोग गरेको देखिन्छ ।
दीपेन्द्र अग्रवालले आफैँले नियन्त्रण गर्ने १५ वटा टीएमएस प्रयोग गरी अन्तिम समयमा मूल्य बढाउने, सेयर स्वामित्वमा फरक नपर्ने गरी झुटा कारोबार गर्ने, आफ्नै नियन्त्रणमा रहेको टीएमएस युजरबाट एक आपसमा सेयर खरिदबिक्री गरी कृत्रिम कारोबार गर्ने र त्यति मात्रै नभएर उनले मूल्य बढाउन विभिन्न कम्पनीको विषयमा झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरी मूल्य बढाउने गरेको पाइएको धितोपत्र बोर्डको प्रतिवेदनमा उल्लेख छ ।
उनले आफूले सेयर खरिद गरिसकेपछि विभिन्न कम्पनीको नाममा सर्किट लाग्ने, हकप्रद आउने, ‘यो सेयर बिक्री गरेर यो कम्पनीको सेयर खरिद गर्दैछु’ भनी सामाजिक सञ्जालमा पोस्ट राख्ने तथा भिडियो सेयर गर्ने गरेको पाइएको धितोपत्र बोर्डको प्रतिवेदनमा उल्लेख छ । यसमा हातेमालो फाइनान्सियले सर्भिसेलले कारोबारको २५ प्रतिशत अग्रिम जम्मा नगरी कारोबार सीमा दिएर सहयोग गर्ने गरेको पाइएको हो ।