npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

नाबालिकाको चरित्र हत्या गर्ने युवक पक्राउ

न्युज अफ नेपाल 20 hours ago

काठमाडौं ।

सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।

साइबर ब्यूरोमा प्राप्त निवेदनअनुसार आरोपीले सामाजिक सञ्जालमा नाबालिकाको तस्बिर प्रयोग गरी फेक एकाउन्ट बनाएको र साथी बनेर कुराकानी सुरु गरेको खुलेको छ। कुराकानीका क्रममा विभिन्न प्रलोभन, दबाब र प्रभावमा पार्दै नाबालिकासँग नग्न तस्बिर तथा भिडियो मागी संकलन गरी सुरक्षित राखेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

नाबालिकाले थप गलत गतिविधिमा संलग्न हुन अस्वीकार गरेपछि आरोपीले ती तस्बिर तथा भिडियो पीडित नाबालिकाको विद्यालयका साथीहरू र आफन्तजनका सामाजिक सञ्जाल खातामा पठाई चरित्र हत्या गरेको प्रहरीले जनाएको छ।

घटनापछि नाबालिकाका अभिभावकले आवश्यक कारबाहीको माग गर्दै साइबर ब्यूरोमा निवेदन दिएका थिए। सोही निवेदनका आधारमा गरिएको अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट उक्त कार्यमा कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–१२, दुगेडा ली गाउँ स्थायी घर भई हाल काठमाडौं बस्दै आएका २७ वर्षीय सन्दीप चन्द संलग्न रहेको पुष्टि भएको हो।

प्रहरीले उनलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा कैलाली जिल्ला प्रहरी कार्यालयको सहयोगमा मिति २०८२ पुस ३ गते कैलालीबाट पक्राउ गरेको जनाएको छ।

सम्मानित काठमाडौं जिल्ला अदालतको आदेशअनुसार आरोपीलाई ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको साइबर ब्यूरोले जानकारी दिएको छ।

Read more news from News of Nepal

Explore by Source or Category