News of Nepal
लुम्नाङवासी भन्छन्– मतदान अघि उम्मेदवारको प्रतिवद्धता
दोलखा ।
दोलखाको दुर्गम लुम्नाङ (लप्ची) का स्थानीय यो पटकको निर्वाचनमा शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, टेलिफोन र तिब्बतको नाका खोल्ने प्रतिवद्धता सहित गाउँमै उम्मेदवार आउने प्रतिक्षामा रहेका छन् ।
हामीले हरेक निर्वाचनमा उम्मेदवार नदेखि केही अगुवाको भनाईमा लागेर निश्चित राजनीतिक दललाई मतदान ग¥यौ, स्थानीय कुन्जु नोर्बु शेर्पाले भने– यो पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा भने विकासका प्रतिवद्धता सहित उम्मेदवारहरु नै गाउँमा आउने प्रतिक्षामा छौ ।
दोलखाको विगु गाउँपालिका वडा नम्बर– १ मा पर्ने लुम्नाङसम्म अहिले दुगड हाइड्रो पावरले सडक पु¥याएको छ । १३ घर र ७० जना मतदाता रहेको यो गाउँमा अझै पनि यातायात सञ्चालन हुन सकेको छैन । खानेपानी, शिक्षा, स्वास्थ्य, विजुली र टेलिफोनको समस्या पनि उस्तै छ– अर्का स्थानीय कर्मा शेर्पाले भने ।
विगतमा जस्तो यो पटक लुम्नाङ वासिले दुई– चार अगुवाको भनाईमा लागेर मतदान गर्ने पक्षमा छैनन् । उम्मेदवार नै गाउँमा पुगेर समस्याहरु बारे चासो दिने र विकासको प्रतिवद्धता व्यक्त गर्ने अपेक्षा हामीले गरेका छौ– स्थानीय कर्मा शेर्पा भन्छन् ।
यस अघिका निर्वाचनहरुमा गाउँमा उम्मेदवार नपुगेपनि लप्चीबाट ६ घण्टा पैदल लुम्नाङ (मतदान केन्द्र रहने गाउँ) झरेर स्थानीयले मतदान गर्दै आएका थिए । यो पटक भने चिसो मौसममा निर्वाचन भएकोले लप्चीका स्थानीय सडकले छोएको दोस्रो घर लुम्नाङमै रहेका छन् । लप्ची र लुम्नाङ दुबै ठाउँमा घर भएका उनीहरु कार्तिक– मंसिरतिर लप्चीबाट दोस्रो घर लुम्नाङ झर्ने र चैत्र लागेपछिमात्र लप्ची जाने गर्छन ।
धार्मिक एवम् प्राकृतिक रुपमा निक्कै संभावना भएको लप्चीमा जडिबुटी र चौरी पालन समेत हुने गरेको छ । आफ्ना उत्पादन सहज रुपमा तिब्बत तर्फ लाने वातावरण बनाउन उताको नाका खोलिनुपर्ने उनीहरुको माग छ ।
अहिले लामाबगरबाट ११ सय मिटरको सुरुङ मार्ग सहित २४ किलोमिटर सडकले थाङसेमुसम्म जोडेको छ । यो निर्वाचनमा यातायात सञ्चालन हुनुपर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी, विजुली र टेलिफोन– इन्टरनेट जोडिनुपर्ने माग सहित उम्मेदवारको प्रतिवद्धता लिएरमात्र मतदान गर्ने लुम्नाङवासीको तयारी छ ।
विगतका निर्वाचनहरुमा हामीले विकासको अपेक्षा सहित केही अगुवाले भनेको ठाउँमा मतदान ग¥यौ, यो पटक भने स्वयम उम्मेदवारको उपस्थितिमा प्रतिवद्धता लिएरमात्र मतदान गछौ– स्थानीय कर्मा शेर्पाले भने ।