डिजिटल ठगी बढ्दै, काठमाडौँ प्रहरीमा मात्र ६ महिनामा १३ सय ‘केस’
काठमाडौँ – जिल्ला प्रहरी परिसर काठमाडौँले राजधानीमा परम्परागत अपराधको तुलनामा साइबर र आर्थिक अपराधको जोखिम बढ्दै गएको जनाएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परिसरका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले काठमाडौँमा हुने कुल अपराधको ८५ प्रतिशत हिस्सा बैंकिङ कसुर, अभद्र व्यवहार र चोरीजस्ता १० वटा मुख्य कसुरले ओगटेको जानकारी दिए।
पछिल्लो ६ महिनामा ५ हजार ५ सय ६६ वटा मुद्दा दर्ता भएका छन्, जसमध्ये बैंकिङ कसुरका मुद्दाहरू सबैभन्दा धेरै छन्। साइबर अपराधतर्फ १ हजार ३ सय ३० वटा उजुरी प्राप्त भएका छन्, जसमा अनलाइन सपिङ फ्रड प्रमुख देखिएको छ। ओटिपी चोरी र आइडी बुस्टिङका नाममा हुने ठगी पनि नयाँ चुनौतीका रूपमा देखापरेका उनले बताए।
साथै, हुन्डीमा २ करोड ६३ लाख र सम्पत्ति शुद्धीकरणमा २९ करोड बराबरको विगो दाबीसहित अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पछिल्लो ६ महिनामा सम्पादन गरेका कामहरूको अर्धवार्षिक समीक्षा गर्दै सुरक्षा व्यवस्थालाई प्रविधिमैत्री बनाइएको परिसरले जनाएको छ।
एसपी भट्टराईले भाद्रको विनाशकारी घटनापश्चात क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माणसँगै प्रहरी सेवालाई आधुनिक प्रविधिसँग जोडिएको जानकारी दिए।
एसपी भट्टराईकाअनुसार, भाद्र २३ र २४ गतेको घटनामा काठमाडौँ जिल्लाका १ सय २७ प्रहरी संरचनामध्ये ४२ वटा पूर्णरूपमा क्षतिग्रस्त भएका थिए। हालसम्म ९४ वटा संरचनाको पुनर्निर्माण सम्पन्न भइसकेको छ, जसमा गौशाला, बानेश्वर र जनसेवा जस्ता महत्वपूर्ण युनिटहरू रहेका छन्।
प्रहरीले अनुसन्धान र अभियोजनलाई चुस्त बनाउन ‘फाइल ट्रयाकिङ सिस्टम’ शुरु गरेको छ। यस अवधिमा ३० हजार ६ सय पटक फोन सम्पर्क, १ हजार ७ सय एसएमएस र १ हजार ५ सय ५० इमेलमार्फत उजुरीकर्ता र पीडितहरूसँग फलोअप गरिएको छ। ८३ हजारभन्दा बढी सेवाग्राहीको विवरण डिजिटल माध्यमबाट सुरक्षित राखिएको र नागरिक सहजकर्तामार्फत सेवा प्रवाहलाई सरलीकृत गरिएको प्रहरीले जनाएको छ।
एसपी भट्टराईकाअनुसार, पछिल्लो ७ महिनामा काठमाडौँ प्रहरीले विभिन्न सडक दुर्घटना र विपद्मा परेका २ हजार २ सय ५० जनालाई तत्काल उद्धार गरी अस्पताल वा घरसम्म पुर्याउने काम गरेको छ। हराएका व्यक्तिहरूको खोजी कार्यमा पनि प्रहरी सक्रिय देखिएको छ। यस अवधिमा हराएका १ हजार ४ सय जनामध्ये १ हजार २ सय १९ जनालाई फेला पारेर आफन्तको जिम्मा लगाइएको छ।
त्यसैगरी, काठमाडौँका नागरिकको पहिचान र आर्थिक कारोबारसँग जोडिएको मोबाइल सेट हराउने दर पनि उच्च छ। हराएका ६ हजार ९० मोबाइलमध्ये १ हजार ८९ वटा सेट फेला पारी धनीलाई बुझाइएको छ।
आत्महत्याको प्रयास गर्ने र कोठामा थुनिएर रहेका व्यक्तिहरूको रेस्क्यु तथा सडकमा रहेका असाहाय व्यक्तिहरूलाई कल्याणकारी संस्थासम्म पुर्याउने कार्यलाई पनि प्रहरीले निरन्तरता दिएको छ। एसपी भट्टराईले यस्ता सेवाहरू पूर्ण रूपमा निःशुल्क हुने र प्रहरीको उपस्थिति नै नागरिकको सुरक्षाको ग्यारेन्टी भएको स्पष्ट पारे।
२०८२ भदौ २३ र २४ गते काठमाडौँमा भएको ठूलो जनधनको क्षतिबारे बोल्दै भट्टराईले उक्त घटनामा ४९ जनाको ज्यान गएको र ४२ शवको पहिचान भई ज्यान सम्बन्धी कसुरमा मुद्दा अगाडि बढाइएको बताए।

एसपी भट्टराईले जानकारी दिएअनुसार सो घटनासँग सम्बन्धित कुल २१० वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये २०९ वटाको अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेश गरिएको छ।
सोही घटनाको सिलसिलामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई समेत पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइएको र हाल उनीहरू हाजिरी जमानीमा रहेको प्रहरीले जनाएको छ।
यस घटनाका क्रममा १ सय ८१ वटा हातहतियार बरामद गरिएको छ भने फरार रहेका १ सय ६२ कैदी र ९० थुनुवालाई पुनः पक्रेर कारागार चलान गरिएको उनले बताए। प्रहरीले सीसीटीभी फुटेज, डीएनए परीक्षण र प्रत्यक्षदर्शीको बयानका आधारमा सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ।
राजधानीमा प्रहरीको उपस्थिति ढिलो भएको गुनासो आइरहँदा जिल्ला प्रहरी परिसर काठमाडौँले चैत्र महिनामा मात्र प्रहरीको १०० नम्बरमा २६ हजार ८ सय ८९ कल आएको बताए। जसमध्ये १० हजार ९५ वटा कलमा प्रहरी फिल्डमै पुग्नुपर्ने देखिएको उनले बताए। प्रहरीको तथ्यांकअनुसार ७ प्रतिशत घटनामा ५ मिनेटभित्र र २६ प्रतिशत घटनामा १० मिनेटभित्र प्रहरी पुग्ने गरेको छ। तर, १८ प्रतिशत घटनामा भने प्रहरी पुग्न २५ मिनेटभन्दा बढी समय लाग्ने गरेको छ।
एसपी भट्टराईकाअनुसार ट्राफिक जामका कारण सवारी साधन जक्सनहरूमा रोकिनुपर्ने अवस्था, भदौको घटनामा सवारी साधनहरू नष्ट भएपछि देखिएको साधनको न्युनता, चक्रपथ विस्तारका कारण पहिलेका प्रहरी बीट र साना युनिटहरू विस्थापित हुनु समस्याको कारण रहेको बताए।
प्रहरीले आगामी दिनमा यो ‘रेस्पोन्स टाइम’ लाई १० मिनेटको औसतमा झार्ने लक्ष्य राखेको छ। यसका लागि ड्रोन पेट्रोल र साना सवारी साधनको प्रयोग बढाउन लागिएको उनले बताए।