Clickmandu
३ दिनसम्म लास खाटमुनि राखेर सुते सूर्य, ५ सय ऋण र यौन सम्बन्धले निम्त्याएको बीभत्स हत्या

काठमाडौं । सूर्य थापा मगरको जीवन भारतमा जसोतसो चलिरहेकै थियो । तर, जति-जति दिन बित्दै गयो, उनलाई आफ्नो जीवनप्रति निरस लाग्न थाल्यो । तीव्र गतिमा अघि बढ्न खोजेको उनको जीवनको रफ्तार बिस्तारै सुस्त हुँदै गयो । भारतमा भन्दा नेपालमै रहेर केही गर्ने सोचले उनलाई काठमाडौँतर्फ डोर्यायो, तर नेपाल आएको केही समयमा उनी एउटा बीभत्स हत्याराका रूपमा निस्किए ।
सूर्य नयाँ दिल्लीको एउटा कपडा फ्याक्ट्रीमा काम गर्थे । तर, दुई वर्षसम्म गरेको कमाइले उनलाई पुगेन । भारतको बसाइलाई बिट मार्दै उनी सदाका लागि काठमाडौँ फर्किए र नयाँ बसपार्कस्थित गोंगबुको मिलनटोलमा बस्न थाले । उनले सुरुमा शिवपुरी होटलमा गाइडको काम गरे, तर त्यहाँको तलबले काठमाडौँको महँगी र विलासी जीवनशैली धान्न सकेनन् ।
कामको खोजीमा उनी ‘होटल रोयल कुण्डला’ पुगे, जहाँ उनले कुकको काम पाए । सोही होटलको स्टाफ रुमलाई उनले विगत ७ महिनादेखि आफ्नो संसार बनाइरहेका थिए ।
होटलमा मानिसहरूको आउजाउ भइरहने क्रममा करिब एक महिनाअघि उनको भेट आईसा श्रीपाली भनिने आयुषा कामीसँग भयो । आयुषाले सूर्य काम गर्ने होटलमा गेष्टहरू ल्याउने गर्थिन् । त्यहीँबाट सुरु भएको उनीहरूको चिनजान प्रेम, पैसाको कारोबार र यौन सम्बन्धमा बदलियो । सूर्यले सरकारी वकिल समक्ष दिएको बयान अनुसार, उनीहरूबीच शारीरिक सम्पर्क भएपछि सूर्यले उनलाई ५०० रुपैयाँ दिने गर्थे ।
हत्याको बीउ: ५ सयको विवाद र ‘रेप केस’ को धम्की
घटनाको सुरुवात गत कात्तिक २२ गते भयो, जब आयुषाले सूर्यसँग ५०० रुपैयाँ मागिन् । सूर्यले भोलिपल्ट फिर्ता दिने सर्तमा पैसा दिए । भोलिपल्ट बेलुकी आयुषा आफ्नी साथी डोल्मा तामाङसँग होटल आइन् । डोल्मा सोही होटलको ‘गोसाईकुण्ड’ नामक कोठामा कात्तिक २५ गतेदेखि बस्दै आएकी थिइन् । त्यस समयमा होटलका सञ्चालक गाउँ गएका थिए भने म्यानेजर नविन खड्का काउन्टरमा थिए ।
मदिराको लतमा रहेका सूर्य साढे ९ बजेतिर नशामा लठ्ठिएर स्टाफ रुममा पुग्दा आयुषा त्यहाँ सुतिरहेकी थिइन् । सूर्यले बत्ती बालेपछि आयुषा बिउँझिइन् । उनीहरूबीच दुई पटक यौन सम्पर्क भयो । त्यसपछि सूर्यले अघिल्लो दिन दिएको ५०० रुपैयाँ मागे । तर, आयुषाले उल्टै १५ सय रुपैयाँ मागिन् र पैसा नदिए ‘पुलिसमा रेप केस हालिदिन्छु’ भन्दै धम्की दिइन् । आफू फस्ने डरले सूर्यले तत्कालै आयुषाको हत्या गर्ने योजना बनाए ।
सूर्यले आयुषाको छाती र पेटमा चढेर दुवै खुट्टाले हात अठ्याए र जुत्ताको तुना (लेश) ले घाँटी कसे । आयुषाले छटपटाउन र सास फेर्न छोडेपछि पुनः मरेको निश्चित गर्न उनले घाँटी र टाउकोमा दुई-दुई मुक्का प्रहार गरे ।
हत्यापछि उनले शवलाई होटलको ‘लो-बेड’ (खाट) भित्र लुकाए र म्यानेजरलाई जानकारी दिए । तर, म्यानेजरले प्रहरीलाई खबर गर्नुको साटो घटना गोप्य राख्न सुझाव दिए । तीन दिनसम्म बेडभित्रै रहेको शव दुर्गन्धित हुन थालेपछि उनीहरूले शव फाल्ने योजना बनाए ।
कात्तिक २६ गते राति सूर्यले किचनबाट दुईवटा ठूला काला प्लास्टिक र एउटा प्याजको रातो बोरा ल्याए । उनले शवलाई ‘के’ लेखिएको तन्नामा पोको पारे र त्यसको माथिबाट घ्यु रङको १४५५ नम्बर लेखिएको कपडाको तन्नाले बेरे । आधा भाग जेब्रा झोलाले छोपेर उनले शव तयार पारे । रातको अन्दाजी २ बजेतिर म्यानेजरले होटलको गेट खोलिदिए र सूर्यले उक्त शवलाई नजिकैको सडकमा फाले ।
शव फालिसकेपछि सूर्य ढुक्क भएर अरू दिनजस्तै होटलमा मदिरा पिउने र रमाइलो गर्ने गर्थे ।
गोंगबुस्थित नयाँ बसपार्क नजिक मंसिर पहिलो साता सडक किनारामा पोको देखिएको थियो । आसपासबाट गन्ध आइरहेको थियो । त्यसपछि स्थानीय तथा भीडले नजिकैको प्रहरीलाई खबर गरे । प्रहरी उपस्थित भएपछि पोको खोलियो । पोकोमा शव रहेको खुल्यो । शव कसको हो भन्ने पहिचान भने खुलेन । प्रहरी अनुसन्धानपछि सूर्य पक्राउ परे ।
मंसिर ७ गते बिहान उनी मिलनटोलको एउटा खाजा घरमा मदिरा पिइरहेका बेला सादा पोसाकका प्रहरीले उनलाई घेरे । प्रहरीले सीसीटीभी फुटेज देखाउँदै सोधपुछ गर्दा उनले अपराध स्वीकार गरे । त्यसपछि प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लियो ।