npl.977 Nepal News Stream

Sutra News logo Sutra News

रास्वपातर्फ उभिए बाबुराम, भने– रास्वपाले अघि सारेका एजेन्डाले आशा पलायो

सुत्र न्युज 7 hours ago

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईले सबैभन्दा राम्रो घोषणापत्र (बाचा पत्र) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को देखिएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले रास्वपाको बाचा पत्रको तारिफ गरेका हुन् ।

रास्वपाले अन्यले भन्दा अहिलेको मागलाई सम्बोधन गर्न सफल भएको उनको टिप्पणी छ ।

‘ठुला पुराना र नयाँ दलहरूको चुनावी घोषणापत्र/प्रतिबद्धता पत्र/बाचापत्र सर्सर्ती हेर्दा जनताको र विशेषतः युवाहरूको बढ्दो आकांक्षाको चाप राम्रै परेको देखिन्छ, परिणामतः विगतको तुलनामा घोषणापत्रहरूको गुणवत्ता बढेको प्रस्ट अनुभूत हुन्छ, यसमा रास्वपा सापेक्ष रूपले संक्षिप्तमा आफ्ना कुरा राख्न बढी सफल देखिन्छ’, उनले भनेका छन् ।

राज्यको संरचना, अर्थतन्त्र र बाह्य सम्बन्धका सन्दर्भमा रास्वपाले अघि सारेको एजेन्डाले आशा पलाएको उनको भनाई छ । यदि रास्वपाले अघि सारेको एजेन्डा कार्यान्वयन भएमा नयाँ समृद्ध नेपालको सपना पूरा हुने उनको टिप्पणी छ ।

‘खासगरी आन्तरिक रूपमा दिगो राजनीतिक स्थिरताको निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको व्यवस्था र बाह्य रूपमा दुई ठुला छिमेकी अर्थतन्त्रसँग जोडिन ’गतिशील पुल’को अवधारणा कार्यान्वयन गर्नै पर्छ, त्यो विना घोषणापत्रका राम्रा महत्वाकांक्षी कुरा ’आकाशको फल आँखा तरी मरी भने झैँ हुन्छ’, भट्टराईले भनेका छन्, ‘यसबारे प्रमुख दलहरू चुप रहनु वा विपक्षमा उभिनु विडम्बनापूर्ण छ । कमसेकम रास्वपाले झिनै स्वरमा भए पनि यी दुई कुरा उठाएकोमा केही आशा पलाएको छ । निर्वाचनबाट म्यान्डेट लिएर यसलाई कार्यान्वयन गर्न सके नयाँ समृद्ध नेपालको सपना अवश्य पूरा हुनेछ । अन्यथा यो निर्वाचन पनि अर्को कर्मकाण्ड मात्र हुनेछ ।’

भट्टराईले आफू संरक्षक रहेको प्रलोपाको चुनावी घोषणापत्रबारे केही बोलेका छैनन् ।

प्रलोपा संरक्षक भट्टराई यस पटकको प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ उम्मेदवार बनेका थिए । यद्यपि, रास्वपासँग छलफलपछि उनले उम्मेदवारी फिर्ता लिए ।

रास्वपाको बाचा पत्रमाथि तारिफ गर्दै भट्टराईले दिएको अभिव्यक्तिले उनी रास्वपाको पक्षमा ढल्किएको देखिन्छ । हुन त भट्टराईले यसअघि नै रास्वपासँग एकताको प्रयास गरेका थिए ।

Read more news from Sutra News

Explore by Source or Category