राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
जेनजी फकाउन ‘सूचना प्रविधि’का सपना
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलद्वारा सार्वजनिक घोषणापत्रमा नयाँ मतदाता र जेनजी पुस्तालाई आकर्षित गर्न सूचना प्रविधि क्षेत्रका निकै महत्वाकांक्षी बाचा अघि सारिएका छन् । नेपाली कांगे्रस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), उज्यालो नेपाल पार्टी (उनेपा)लगायत दलले विशेषगरी सूचना प्रविधिमा झुम्मिएको जेनजी पुस्तालाई आकर्षित गर्न वार्षिक एकलाख रोजगारी न्यूनत्तम प्रक्षेपणसहितको घोषणापत्र अगाडि सारेका हुन् ।
५ लाख युवालाई रोजगारी, ४ खर्बको सेवा निर्यात
उनेपाबाहेक अन्य दलले आईटी शिक्षा प्रदान गर्ने संख्याको न्यूनत्तम प्रस्ताव नगरे पनि रोजगारी सिर्जना र सेवा निर्यातमा आईटीलाई दिइएको प्राथमिकता घोषणापत्रमार्फत प्रस्टिएको छ । नेपाली कांगे्रसले घोषणापत्रमार्फत सूचना प्रविधि र डिजिटल युगलाई मतदातासमक्ष स्पष्ट पारेको बताएको छ । उसले सूचना प्रविधि र डिजिटल रूपान्तरण पहुँच र पूर्वाधार विस्तारमार्फत आमनागरिकलाई सहज बनाउने कार्यक्रम प्रस्ताव गरेको छ । हुलाक सेवालाई डिजिटल युगसँग जोडेर राज्यले पार्सल तथा सरकारी सेवा वितरण सुनिश्चित गर्ने कार्यक्रमदेखि डिजिटल अर्थतन्त्र र इकमर्सका विभिन्न कार्यक्रम प्रस्ताव गरेको सभापति गगनकुमार थापाले बताएका छन् ।
डिजिटल शासन र साइबर सुरक्षा र डिजिटल साक्षरतामा जोड दिँदै कांगे्रसले सार्वजनिक सेवालाई सुरक्षित पारदर्शी र नागरिकमूखी बनाउन डिजिटल साक्षरता र संस्थागत सुशासन एवं पूर्वाधार विस्तारसँग जोडिएको बताएको छ । ‘कीर्तिपुर डाँडोमा बसेर महिनाको तीन लाख रुपैयाँ कमाउन सकिन्छ’ भन्ने अभिव्यक्ति जोडेर सभापति थापाले भनेका छन्, ‘कसरी सूचना प्रविधिमार्फत समृद्धि प्राप्त गर्न सकिन्छ भन्ने नेपाली कांगे्रसको घोषणापत्रमा उल्लेख भएको डिजिटल पौरख क्लाउडमा काम, नेपाली युवाको विश्वमा नाम भन्ने नाराबाट प्रष्ट हुन्छ ।’
नेपाली कांगे्रसले पाँच वर्षमा ४ खर्बको सूचना प्रविधि सेवा निर्यात गर्ने तथा गार्हस्थ उत्पादनमा आईटी क्षेत्रको योगदान ५ प्रतिशत पु¥याउने घोषणा गरेको छ । ५ वर्षमा एकलाख आईटी रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी योजना पनि अगाडि सारिएको छ । बहुराष्ट्रिय प्रविधि कम्पनी नेपाल भित्र्याउनेदेखि नवप्रवर्तन केन्द्र स्थापनाका लोकप्रिय कार्यक्रम कांगे्रसले घोषणापत्रमा समेटेको छ ।
विद्यालय तहदेखि नै कोडिङ, एआई, साइबर सुरक्षा र एसटीइएमलाई शिक्षामा प्राथमिकता दिएर मानव पुँजी विकास योजना अगाडि सारेको कांगे्रसले अन्तरआबद्ध एकीकृत डिजिटल पहिचान विकासदेखि प्रविधिमैत्री सरकारी सेवा, प्रणालीमा विश्वास र डाटा सुरक्षामा जोड दिएको छ । कांगे्रसले सार्वभौम क्लाउड पूर्वाधार विकास गरी तथ्यांकी सुरक्षामा पनि जोड दिने बाचा गरेको छ । त्यस्तै, नेकपा एमालेले डिजिटल पूर्वाधार विकास र सुशासन आधार भन्दै सूचना प्रविधिलाई विकास र समृद्धिसँग जोड्ने योजना अगाडि सारेको छ ।
एमालेले आफ्नो घोषणापत्रमा आफ्नै भूउपग्रह स्थापनादेखि ग्रामीण तथा दुर्गम क्षेत्रमा आधारभूत दूरसञ्चार सेवादेखि डिजिटल कनेक्टिभिटीको सुनिश्चिततासम्म अगाडि सारेको छ । गलत सूचना झुटा समाचार ‘डिपफेक’ र ‘अल्गोरिदम’ पूर्वाग्रहमार्फत सत्यलाई विकृत बनाएर समाज विभाजित गर्ने तथा सार्वजनिक सेवा, वित्तीय क्षेत्र तथा राष्ट्रिय सुरक्षा र कुटनीतिलाई प्रभावित गरेको विषयमा एमालेले घोषणापत्रमार्फत अगाडि सारेको छ ।
एमालेले एआई र जेनेरेटिभ एआईमा आधारित नवप्रवर्तनलाई प्राथमिकता दिँदै ‘सोभरन लार्ज ल्याङवेज मोडल’मार्फत छोटो समयमै ठूलो प्रभाव पार्नसक्ने प्रविधि तत्काल लागू गर्ने घोषणा गरेको छ । नागरिक एप, डेटा सेन्टर, राष्ट्रिय परिचयपत्र प्रणाली, एआई केन्द्र, डिजिटल नेपाल फ्रेमवर्कलगायत प्रमुख डिजिटल पूर्वाधार इकाइ सञ्चालनमार्फत सार्वजनिक सेवालाई ‘सुपर एप’मार्फत एकीकृत गरेर सुशासन तथा विकास प्रत्याभूति गर्ने घोषणा उसको छ ।
एआई तथा ‘हाइपरस्केल डेटा सेन्टर’ पूर्वाधारमा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने तथा लगानी सुरक्षासहित वातावरणीय दिगोपन र र दीर्घकालीन मूल्य सुनिश्चितता गर्ने भन्दै विशेषगरी सूचना प्रविधि बुझेको पुस्तालाई दीर्घकालीन प्रभाव देखाएर आकर्षित गर्ने प्रयास एमालेको देखिन्छ । यसैगरी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सार्वजनिक सेवा प्रवाहमा सुशासनका लागि डिजिटल र इशासन ब्लुप्रिन्ट कार्यान्वयन घोषणा गरेको छ ।
६० पृष्ठको घोषणापत्रमा सूचना प्रविधि तथा सञ्चारको अलग्गै विषयगत खण्डसहित अन्य विषयमा समेत सूचना प्रविधि प्रयोग र परिचालन सम्भावनालाई नेकपाले घोषणापत्रमार्फत अगाडि सारेको छ । ‘सूचना प्रविधि तथा सञ्चार’ भन्ने अलग्गै विषयगत क्षेत्रमार्फत पनि नेकपाले विभिन्न कार्यक्रमको प्रस्ताव गरिएको छ । सूचना प्रविधि प्रयोगमार्फत रोजगारी सिर्जना र आयआर्जनका नयाँ क्षेत्र खोजी र विकास गर्ने घोषणापत्रमा उल्लेख छन् । न्यू मिडिया र डिजिटल क्षेत्रलाई नेकपाले सञ्चार क्षेत्रसँग धेरै जोडेको पाइन्छ ।
सूचना प्रविधि प्रयोगमार्फत मुहाररहित, कागजरहित र नगदरहित प्रशासन प्रणाली विकास गर्ने घोषणा उसको छ । नेकपाले सूचना प्रविधि तथा डिजिटल अर्थतन्त्रका लागि डिजिटल पूर्वाधार इकमर्स तथा आईटी उद्योग विकास र नीतिगत सुधारलाई पनि प्राथमिकता दिएको छ । आगामी पाँच वर्षमा १५ लाख मर्यादित रोजगारी सिर्जनाका लागि पनि आईटी क्षेत्रलाई प्राथमिकतामा राखिएको उसको घोषणापत्रमा उल्लेख छ । कृषि, पर्यटन र उद्योगसँगै सूचना प्रविधिलाई पनि महत्वपूर्ण रोजगारी सिर्जना क्षेत्रका रूपमा लिइएको सो पार्टीका नेता प्रमेश हमाल बताउँछन् ।
नेकपाले डिजिटल टुरिजम ड्यासबोर्डमार्फत पर्यटकीय गन्तव्य, बाटा, स्थानीय व्यवसायको उपलब्धता र तथ्यांक उपलब्धता सुनिश्चित गरिने घोषणापत्रमार्फत जनाएको छ । ट्रेकिङ मार्गमा जीपीएस र सुरक्षा प्रणालीको सूचना प्रविधिमार्फत जानकारी दिने व्यवस्थादेखि स्वास्थ्य, सुरक्षा मुख्य सडकलगायत सेवा सूचना प्रविधि प्रणालीमा जोडिने घोषणा गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डिजिटल तथा सूचना प्रविधि क्षेत्रलाई समाज रूपान्तरण तथा समृद्धिको प्रमुख माध्यम मानेर हर क्षेत्रमा सूचना प्रविधि प्रयोगलाई जोड दिएको छ । सार्वजनिक सेवा लाइनमा नभइ अनलाइनमा हुने उल्लेख गरेको रास्वपाले राष्ट्रिय अभिलेख र डिजिटल सुशासन सुदृढीकरणमा जोड दिइएको छ ।
रास्वपाले विभिन्न क्षेत्रमा गर्ने आफ्ना घोषणालाई बाचापत्रमार्फत प्रस्तुत गर्दै सूचना प्रविधि क्षेत्रका कामलाई ‘डिजिटल सर्भिस डेलिभरी’मार्फत नागरिकलाई विश्वस्त पार्नुपर्ने धारणा प्रस्तुत गरेको छ । सार्वजनिक सेवालाई ‘डिजिटाइज्ड’ र झन्झटरहित गर्न भन्दै टिप्पणी ‘डट जिओभी डटएनपी’, ‘परिपत्र डट जिओभी डटएनपी’ नामक अनलाइन प्लेटफर्म नै प्रस्ताव गर्दै सरकारी सेवालाई झन्झटमुक्त सहज र पारदर्शी पार्ने अवधारणा अगाडि सारेको छ ।
प्रतिव्यक्ति आय तीन हजार डलर नाघ्ने र अर्थतन्त्रको आकार सय अर्ब डलरनजिक पुग्ने गरी वार्षिक ७ प्रतिशत आर्थिक वृद्धिदर कायम राख्ने बाचा गरेको रास्वपाले डिजिटल रूपान्तरणलाई आर्थिक रणनीतिको प्रमुख आधारका रूपमा अगाडि सारेको छ । रास्वपाले नेपाली अर्थतन्त्रम आईटीलाई रेमिट्यान्सपछिको दोस्रो खम्बा बनाउनेगरी राष्ट्रिय रणनीतिक उद्योगका रूपमा प्रस्ताव गरेको छ ।
१०वर्ष े अवधारणा अगाडि सार्दै रास्वपाले आईटी सेवा निर्यात ३० अर्ब डलर पु¥याउने र त्यसका लागि स्वायत्त आईटी प्रवर्धन बोर्ड गठन गर्ने बाचा गरेको छ । सातवटै प्रदेशमा आईटी पार्कक स्थापना गर्ने तथा पाँच लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने रास्वपाको बाचामा अन्तर्राष्ट्रिय ‘पेमेन्ट गेटवे’का कानुनी अड्चन हटाउनेदेखि नेपाललाई ‘डिजिटल फस्र्ट’ राष्ट्रका रूपमा चिनाउने महत्वाकांक्षी कार्यक्रम प्रस्तावित छन् । आगामी पाँच वर्षभित्र नेपालले कृत्रिम बौद्धिकता र कम्प्युटेसन शक्ति निर्यात गर्नेसमेत रास्वपाको बाचापत्रमा उल्लेख छ ।
हरित उर्जालाई सर्भर फार्म र क्लाउड पूर्वाधारमा प्रयोग गर्ने पनि रास्वपाको बाचा रहेको छ । नेपालले पाँच वर्षभित्रै एसियाका प्रविधि केन्द्रलाई क्लाउड स्टोरेज, एआई मोडल प्रशिक्षण, ग्रीन जीपीयु तथा कम्प्युटिङ भाडा सेवा उपलब्ध गराउनेसमेत रास्वपाको बाचापत्रमा उल्लेख छ । १००बु ँदे बाचापत्रमा रास्वपाले कन्सुलर सेवादेखि शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, आर्थिक विकासलगायत अधिकांश क्षेत्रमा सूचना प्रविधि प्रयोग र त्यसमार्फत स्तरीय जीवनशैली सुनिश्चितता प्रस्ताव गरेको छ ।
त्यस्तै, उज्यालो नेपाल पार्टी (उनेपा)ले डिजिटल नवीनता र कानुनी सहजता शीर्षकमा सूचना प्रविधि क्षेत्रलाई प्राथमकितामा राखेको जनाएको छ । डाटा संरक्षण र साइबर सुरक्षालाई प्राथमिकता दिँदै सूचना प्रविधिलाई तथ्यांक सुरक्षा, साइबर सुरक्षा, ब्लक चेन प्रयोग र भ्रष्टाचार नियन्त्रण क्षेत्रमा प्राथमिकतासाथ प्रयोग गर्ने घोषणा गरेको छ । उज्यालो नेपाल पार्टीले १० अर्बको स्टार्टअप कोष स्थापना गरी सातै प्रदेशमा आईटी पार्क स्थापना गर्न कर छुट व्यवस्था गर्नेदेखि स्टार्टअप इकोसिस्टमको विकास गरिने जनाएको छ ।
डिजिटल सीप विस्तार कार्यक्रममार्फत पाँच वर्षमा ६ लाख युवालाई कोडिङ, एआई, साइबर सेक्युरिटीलगायत आईटी शिक्षा दिने कार्यक्रम उज्यालो नेपालले घोषणा गरेको छ । सूचना प्रविधिलाई सुशासन र समृद्धिको प्रमुख आधारका रूपमा लिनुपर्ने भन्दै आफूहरूले कार्यान्वयन गर्न सक्ने कार्यक्रम घोषणापत्रमार्फत प्रस्ताव गरेको उनेपाका नेता जितराम लामा बताउँछन् ।
The post जेनजी फकाउन ‘सूचना प्रविधि’का सपना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....