npl.977 Nepal News Stream

Nepali Link

बुद्धिष्ट गुम्बा रेडिङमा पहिलोपटक स्थानीय मेयर र काउन्सिलरहरुको स्वागत

Dhruba Aryal 2 hours ago

लन्डन- बेलायतको रेडिङमा स्थानीय नेपालीहरुद्वारा स्थापित बुद्धिष्ट गुम्बामा पहिलोपटक स्थानीय बरोका मेयर तथा काउन्सिलरहरुले भ्रमण गरेका छन्।

स्थानीय वर्किङह्याम बरो काउन्सिलका मेयर काउन्सिलर लुईस टिम्लिन, उपमेयर काउन्सिलर एल्विन जोन्ससहित आधा दर्जन बढी काउन्सिलहरुले शनिबार गुम्बा भ्रमण गरेका हुन्।

सन् २०१८ मा स्थापित गुम्बामा पहिलोपटक आइपुगेका स्थानीय सरकारका प्रतिनिधिहरुलाई गुम्बाका अध्यक्ष पूर्व इन्स्पेक्टर खेमबहादुर गुरुङ, महासचिव कमल कोने गुरुङ, कोषाध्यक्ष मेजर रिटायर्ड बुद्धि गुरुङलगायतले स्वागत गरेका थिए।

गुम्बा भ्रमणमा वर्किङह्याम बरो काउन्सिलका मेयर र उपमेयरसंगै काउन्सिलरहरू माइक स्मिथ, स्टेफेन न्युनटन, एन्डी एनजी सिउ–मङ, क्यानेडिन स्मिथ तथा चेतना जान्टे लगायतको सहभागिता थियो।

त्यस अवसरमा काउन्सिल प्रतिनिधिहरूलाई बुद्धिष्ट गुम्बाको संरचना, उद्देश्य तथा समुदायसँगको सहकार्यबारे विस्तृत जानकारी गराइएको थियो।

गुम्बाका कोषाध्यक्ष रिटायर्ड मेजर बुद्धि गुरुङले गुम्बाको परिकल्पना, हालको सदस्य संख्या, भविष्यका योजना तथा सञ्चालन हुँदै आएका विविध धार्मिक तथा सामाजिक कार्यक्रमहरूको बारेमा जानकारी गराए। साथै, गुम्बाले समुदायमा खेलेको भूमिका र आगामी दिनमा विस्तार गर्न खोजिएको गतिविधिबारे समेत उनले प्रकाश पारे।

गुम्बाका अध्यक्ष पूर्व इन्सपेक्टर खेमबहादुर गुरुङले बुद्ध धर्मको मूल दर्शन, शान्ति, करुणा र मानव कल्याणमा आधारित शिक्षाको महत्वबारे काउन्सिल प्रतिनिधिहरूलाई अवगत गराए। उनले बुद्ध धर्मले बहुसांस्कृतिक समाजमा सहिष्णुता र सद्भाव प्रवर्द्धन गर्ने सन्देश दिने बताए।

कार्यक्रममा पूजा प्रमुख लामा गुरु हर्कजंग घले तथा लामा गुरु प्रदीप गुरुले पूजापाठका साथै बुद्ध धर्म, ध्यान अभ्यास र धार्मिक संस्कारसम्बन्धी जानकारी प्रदान गरेका थिए। उनीहरूले गुम्बा धार्मिक आस्थाका साथै सामाजिक सद्भावको केन्द्रका रूपमा विकसित हुँदै गएको उल्लेख गरे।

गुम्बाका महासचिव कमल कोने गुरुङले बुद्धिष्ट गुम्बाले हालसम्म सञ्चालन गरेका विभिन्न परोपकारी (च्यारिटी) गतिविधिहरूका साथै बेलायतका विभिन्न विद्यालयहरूमा गुम्बाका लामा गुरूहरूद्वारा बुद्ध धर्मसम्बन्धी ज्ञान, नैतिक शिक्षा र शान्तिको सन्देश प्रदान गरिएको विषयमा जानकारी दिए।

सो अवसरमा मेयर तथा काउन्सिलरहरुले स्थानीय समुदायमा गुम्बाले निर्वाह गर्दै आएको महत्वपूर्ण भूमिकाको प्रशंसा गरेका थिए। उनीहरुले आगामी दिनमा स्थानीय बरोका तर्फबाट गुम्बासंग सहकार्य र सहयोगको प्रतिवद्धता पनि जनाएका थिए।

 

 

Read more news from Nepali Link

Explore by Source or Category