१२ वर्ष पुरानो यौनिक अल्पसंख्यक द्वेषी भिडियो हटाउन प्रधानमन्त्री शाहलाई सुनीलबाबु पन्तको आग्रह
काठमाडौँ- पहिलो संविधानसभा सदस्य सुनिल बाबु पन्तले प्रधानमन्त्री बालेन शाहलाई भिडियो हटाउने पहल गर्न र उठाइएका चिन्ताहरूलाई संवेदनशील रूपमा सम्बोधन गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहले १२ वर्षअघि र्याप भिडियोमा प्रयोग गरेका शब्दहरूका कारण लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूमाथि मनोवैज्ञानिक असर, सामाजिक अपमान र घृणाको वातावरण बनेको पन्तले बताएका छन्।
उनले यो कुनै राजनीतिक विषय नभई सीमान्तकृत समुदायमाथि भएको घृणाको अभिव्यक्ति भएको उल्लेख गरेका छन्।
उनका अनुसार शुक्रबार लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्यहरूले प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियोविरुद्ध उजुरी दर्ता गरेपछि उजुरीकर्तामाथि उनका उग्र समर्थकहरूबाट अनलाइन माध्यममा अपमानजनक टिप्पणी, घृणा, गालीगलौज र चरित्रहत्या गर्ने अभिव्यक्तिहरू अत्यधिक रूपमा बढेको पाइएको छ।
यसले समुदायमा भय, असुरक्षा र मानसिक पीडा थप बढाएको पन्तको भनाइ छ। उनले यस्तो व्यवहार पूर्ण रूपमा अस्वीकार्य भएको स्पष्ट पारेका छन्।
उनका अनुसार न्यायको माग गर्ने नागरिकहरूलाई डर, धम्की र अपमान सहन बाध्य बनाइनु लोकतान्त्रिक मूल्य र मानवअधिकारको मूल मर्मविपरीत हो।
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले उठाएको विषय कुनै राजनीतिक षड्यन्त्र नभई विगतमा प्रयोग गरिएका शब्दहरूले पारेको नकारात्मक असरप्रति जबाफदेहिता र सुधारको माग मात्र भएको उनले उल्लेख गरेका छन्।
साथै, त्यतिबेला प्रयोग गरिएको भाषाको गम्भीरता स्वयं प्रधानमन्त्रीले पनि पूर्ण रूपमा नबुझेका हुन सक्ने सम्भावनालाई उनले औँल्याएका छन्, तर त्यसले अहिले उत्पन्न भएको घृणा र विभेदको प्रभावलाई कम नगर्ने उनले स्पष्ट पारे।
त्यस्तै, उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई आफ्ना समर्थकहरूलाई संयमित र जिम्मेवार बन्न अपिल गर्न आग्रह गरेका छन्। लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई पूर्वप्रधानमन्त्री केपी ओलीका झोलेका रूपमा चित्रित गर्दै झुटा, भ्रामक र द्वेषपूर्ण आरोप लगाउनु अत्यन्त गैरजिम्मेवार र समाजलाई विभाजित गर्ने कार्य भएको उनले बताएका छन्। यो विषयलाई राजनीतिक कोणबाट नभई मानवअधिकार र सम्मानको दृष्टिले हेर्नुपर्नेमा पन्तले जोड दिएका छन्।
उनले सबैलाई भीडको मानसिकताबाट बाहिर निस्केर जिम्मेवार नागरिकका रूपमा प्रतिक्रिया जनाउन आग्रह गर्दै सामाजिक सहिष्णुता, पारस्परिक सम्मान र संवेदनशीलताको आवश्यकता पनि औँल्याएका छन्।