Clickmandu
रवि-बालेन ६ घण्टा लामो कुराकानीमा के भयो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच सोमबार राति भएको ६ घण्टा लामो भेटवार्ताले मुलुकको राजनीतिमा नयाँ तरंग पैदा गरेको छ ।
पछिल्लो पटक झण्डै ९ महिनाको जेल बसाइपछि शुक्रबार मात्रै धरौटीमा रिहा भएका लामिछाने र पछिल्लो राजनीतिक परिवर्तनका ‘सुत्रधार’ मानिएका बालेनबीचको यो भेटलाई आगामी फागुन २१ गते हुने निर्वाचनको निर्णायक मोडका रूपमा हेरिएको छ ।
रास्वपा नेता असिम साहको निवासमा भएको यो ‘मध्यरात संवाद’ सकारात्मक भएको बताइएको छ ।
विगतमा रवि लामिछाने गृहमन्त्री हुँदा सुकुम्बासी बस्ती हटाउने विषयमा देखिएको सम्बन्धको चिसोपनलाई बिर्सिँदै दुई नेताबीच ‘दाजुभाइको मिलन’ भएको रास्वपा नेताहरूले बताएका छन् ।
भेटपछि दुवै नेता एउटै गाडीमा चढेर बाहिरिएको दृश्य यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ जसलाई समर्थकहरूले ‘आशाको मिलन’ भनिरहेका छन् ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनले पुराना दलहरूको वर्चस्वलाई धक्का दिएपछि मुलुकमा नयाँ राजनीतिक कोर्ष सुरु भएको थियो । सोही आन्दोलनको बलमा अन्तरिम सरकार गठन भएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको छ भने संसद विघटन भएको छ । बालेन शाहले स्वयं सरकारको नेतृत्व गर्न अस्वीकार गरे पनि सुशीला कार्कीको नाम प्रस्ताव गरेर आफ्नो राजनीतिक उचाइ पुष्टि गरिसकेका छन् । उनकै एजेण्डाम देश अघि बढेको छ ।
जेनजी आन्दोलन पछि केही सयम गुमना पुराना भनिएका कांग्रेस एमालेसहितका पार्टी यतिबेला ‘जागेका’ छन् । उनीहरूले राजनीतिक चहलपहल दिइरहँदा फेरि पुरानै दलको बोलवाला हुने अवस्था बनेको विष्लेषण भइरहँदा गत चुनावअघि मात्र बनेर संसदको चौथो शक्ति बनेको रास्वपाले नयाँ अनुहारहरूलाई समेटेर लैजाने प्रयत्न भने लामिछाने जेलमै हुँदा गरेको थियो ।
रास्वपाले बालेन र कुलमान घिसिङसँग सहकार्यको प्रयास गरे पनि त्यो सफल हुन सकेको थिएन । अहिले कुलमान र हर्क साम्पाङले आफ्नै दल खोलेर निर्वाचनमा जाने तयारी गरेपछि ‘नयाँ शक्ति’ भित्र हुन सक्ने मत विभाजनलाई रोक्न रवि-बालेन भेट केन्द्रित रहेको बुझिएको छ ।
फागुन २१ को निर्वाचनका लागि अब करिब दुई महिना मात्र बाँकी छ । बालेन रविबीचको ६ घण्टाको छलफलमा भएका विषयबारे जानकारी सार्वजनिक गरिएको छैन तर मुख्यतया तीनवटा विषयमा कुराकानी भएको स्रोतको दाबी छ ।
नयाँ दल र स्वतन्त्रहरूबीच मत नबाँडिने गरी अघि बढ्ने । विभाजित देखिएका नयाँ शक्तिहरूलाई एउटै मोर्चामा ल्याएर पुराना दलहरूलाई चुनौती दिने । जेनजीका मागलाई सम्बोधन गरि अघि बढ्ने तथा सुशासन र नागरिकका तत्कालीन मुद्दाहरूलाई साझा संकल्पका रूपमा लैजाने लगायतका विषयमा छलफल भएको छ । आगामी दिनमा पनि छलफललाई निरन्तरता दिने सहमति भएको स्रोतको दाबी छ ।
रवि र बालेन मिल्नु भनेको केवल दुई व्यक्तिको मिलन मात्र नभइ ‘नयाँ राजनीति’ को संस्थागत जग बसाल्ने प्रयासको रुपमा लिइएको छ । यदि यी दुईले कुलमान र हर्कलाई पनि एउटै केन्द्रमा ल्याउन सके भने आगामी चुनावमा परम्परागत राजनीतिक शक्तिहरूलाई पूर्ण रूपमा विस्थापित गर्न सक्ने सम्भावना उच्च देखिन्छ ।
नेता असिम साहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो ।’
रवि लामिछानेको आक्रामक पुनरागमन र बालेनको रणनीतिक मौनताबीचको यो मिलनले नेपाली राजनीतिमा अबको केही दिनभित्रै ‘ठूलो राजनीतिक घोषणा’ हुन सक्ने संकेत दिएको स्रोतको दाबी छ ।