npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

नेपाल संस्कृत विश्वविद्यालयमा भएको दुर्व्यवहारप्रति नेविसंघको कडा आपत्ति

न्युज अफ नेपाल 13 hours ago

काठमाडौँ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपाल, उनका स्वकीय सचिव चोलेन्द्र रिजाल तथा कर्मचारी संघका पूर्व अध्यक्ष खिमबहादुर केसीमाथि गरिएको अमानवीय र निन्दनीय दुर्व्यवहारप्रति कडा आपत्ति जनाएको छ।

नेविसंघ नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय समितिद्वारा जारी विज्ञप्तिमा विन्दूवासिनी विद्यापीठमा प्राचार्य नियुक्तिको विषयलाई लिएर उपप्राध्यापक विपिन न्यौपानेबाट परिचालित समूहले गुरिल्ला शैलीमा आक्रमण गरेको आरोप लगाइएको छ। उक्त घटना शैक्षिक मर्यादा विपरीत र अत्यन्तै निन्दनीय भएको संघको ठहर छ।

विज्ञप्तिमा शिक्षा क्षेत्र ज्ञान, मर्यादा र नैतिकताको केन्द्र भएको उल्लेख गर्दै यस्ता पवित्र शैक्षिक स्थलमा जिम्मेवार तथा सम्मानित व्यक्तिहरूमाथि गरिएको दुर्व्यवहार सम्पूर्ण शैक्षिक क्षेत्रमाथिको ठाडो आक्रमण भएको जनाइएको छ। यसले शैक्षिक वातावरणमा भय सिर्जना गर्ने र शिक्षाको गुणस्तर कमजोर बनाउने खतरा रहेको नेविसंघले चेतावनी दिएको छ।

नेविसंघले घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ। साथै, संलग्न दोषीमाथि कानुनअनुसार कडा भन्दा कडा कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन शैक्षिक संस्थामा सुरक्षित तथा भयमुक्त वातावरण सुनिश्चित गर्न पनि आग्रह गरिएको छ।

सम्बन्धित निकायहरूले घटनालाई गम्भीरतापूर्वक नलिए आन्दोलनका चरणबद्ध तथा सशक्त कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत संघले दिएको छ। शिक्षकको सम्मान, शैक्षिक मर्यादा र न्यायका पक्षमा नेविसंघ सदैव दृढतापूर्वक उभिने प्रतिबद्धता पनि विज्ञप्तिमा व्यक्त गरिएको छ।

Read more news from News of Nepal

Explore by Source or Category