npl.977 Nepal News Stream

Nepali Link

तमुधिं यूकेको ल्होछारका लागि लन्डन आइपुगे कलाकारहरु, तयारी व्यापक

Nabin Pokharel 1 day ago

लन्डन । तमुधिं यूकेको ‘त ल्हो ल्होछार २०२५’ समारोहका लागि नेपालबाट राष्ट्रिय कलाकारहरु लन्डन उत्रिएका छन् ।

ल्होछारमा ‘परफर्म’ गर्न गायक-गायिका केशबहादुर गुरुङ र सलोमी गुरुङ बेलायत आइपुगेका हुन् ।

ति कलाकारलाई तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ, आमा समूहकी अध्यक्ष कमलादेवी गुरुङ, वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक परशु गुरुङ, उपाध्यक्ष कमल कोने गुरुङ, उपाध्यक्ष दिलमाया गुरुङ, महासचिव डा. विशाल गुरुङ, सचिव विमल गुरुङलगायत पदाधिकारीले हिथ्रो विमानस्थलमा स्वागत गरे ।

सलोमी नेपाल आइडल सिजन ६ मा द्वितीय स्थान ओगट्न सफल गायिका हुन् भने युवा गायक केशबहादुर गुरुङ पनि पछिल्लो समय चर्चामा छन् ।

तमुधिं यूकेले आगामी २७ डिसेम्बर शनिबार अल्डरसटस्थित एम्पायर हलमा भव्य रुपमा ल्होछार मनाउने तयारी गरेको छ । डा. हर्क अवार्ड र कम्युनिटी अवार्ड वितरण एवं सांस्कृतिक प्रस्तुतिसहित ल्होछार कार्यक्रम हुन लागेको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासबाट कार्यवाहक राजदूत विपिन दुवाडीसहित विभिन्न नेपाली सामाजिक तथा धार्मिक संघसंस्थाका प्रतिनिधि एवं तमुधिं यूके इकाई सदस्यहरु सहभागी हुनेछन् ।

यसवर्ष तमु जातीले सर्प वर्गको विदाइ र घोडा वर्गलाई स्वागत गर्दै आफ्नो मौलिक पर्व ल्होछार मनाउंदै छन् । तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले ल्होछार कार्यक्रममा सहभागिताका लागि सबैमा निमन्त्रणा गरेका छन् ।

तमुधिं यूकेले बेलायतमा आयोजना गर्ने गोर्खा कप, नेपाली मेला र ल्होछार महोत्सव विशेष रुपमा लिइन्छ ।

Read more news from Nepali Link

Explore by Source or Category