Clickmandu
बिमा प्राधिकरणले सोध्यो हिमालयन रि–इन्स्योरेन्सका सीईओसहित ५ व्यवस्थापकलाई सात दिने स्पष्टीकरण

काठमाडौं । नेपाल बिमा प्राधिकरणले हिमालयन रि–इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सहित पाँच व्यवस्थापकलाई सात दिने स्पष्टिकरण सोधेको छ ।
प्राधिकरणले कम्पनी सञ्चालनका क्रममा आर्थिक अनियमितता भएको आशंकामा सात दिने स्पष्टिकरण सोधेको हो ।
प्राधिकरणले सीईओ उपासना पौडेलसहित, डेपूटी सीईओ मुकेश कुमार कपुर र कार्यकारी निर्देशकहरु मनिश कुमार, शिशिर गैह्रे, सन्तोष केसीलाई सात दिने स्पष्टिकरण सोधेको हो ।
‘अनुसन्धानका क्रममा आर्थिक अनियमितता भएको हुनसक्ने देखिएपछि प्राधिकरणले उनीहरुलाई सात दिने स्पष्टिकरण सोधेको छ,’ प्राधिकरणकी प्रवक्ता पुजन ढुंगेल अधिकारीले क्लिकमान्डुसँग भनिन्, ‘अब उनीहरुबाट स्पष्टिकरण प्राप्त गरेपछि कारबाही गर्ने वा नगर्ने भन्ने विषयमा आवश्यक निर्णय हुनेछ ।’ उनले उनीहरुबाट प्राप्त जवाफका आधारमा थप निर्णय गरिने जानकारी दिइन् ।
नेपाल पुनर्बिमा कम्पनी लगायतका विभिन्न कम्पनीहरूको सेयर खरिद गर्नका लागि हिमालयन रि–इन्स्योरेन्स र यससँग आबद्ध अन्य संस्थाहरूको ३ अर्ब ८१ करोड ४६ लाख ४ हजार २३० रुपैयाँ १७ पैसा बराबरको रकम दुरुपयोग गरेको विषयमा आवश्यक छानबिन गरी रायसहितको प्रतिवेदन पेस गर्न सम्पत्ति शुद्धीकरण विभागले नेपाल बिमा प्राधिकरणलाई फागुन २८ गते पत्राचार गरेको थियो ।
विभागको पत्रमा उल्लेख भएअनुसार भट्टले हिमालयन रि–इन्स्योरेन्सबाट २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६०, हिमालयन सेक्युरिटिजबाट २ करोड २१ लाख ९७ हजार १४४ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सका सहायक कम्पनीबाट ३७ करोड र हिमालयन लार्ज क्याप फन्डबाट २५ करोड १४ लाख ८४ हजार ७४८ रुपैयाँ दुरुपयोग गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।
यस्तै, नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड १७ लाख ५२ हजार ८७३ रुपैयाँ पनि अपचलन गरेको उल्लेख छ । यहि, आधारमा प्राधिकरणले हिमालयन रि–इन्स्योरेन्समाथि अनुसन्धान गर्दा संकास्पद देखिएपछि स्पष्टिकरण सोधिएको हो ।