Clickmandu
९ महिनामै १ खर्बसम्म बढ्यो बैंकहरूको निक्षेप, कर्जा विस्तारमा आक्रमक एभरेष्ट

काठमाडौँ । चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरूले निक्षेप करिब ६ खर्ब रुपैयाँले बढाउँदा कर्जा भने पौने ३ अर्ब रुपैयाँले मात्रै वृद्धि भएको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको चैत मसान्तसम्मको तथ्यांकअनुसार निक्षेप ५ खर्ब ९७ अर्ब १७ करोड रुपैयाँले वृद्धि भएको छ ।
सोही अवधिमा कर्जा भने २ खर्ब ७६ अर्ब ३९ करोड रुपैयाँले मात्रै वृद्धि भएको नेपाल बैंकर्स संघले जनाएको छ । गत असार मसान्तमा ६५ खर्ब ३० अर्ब ७९ करोड रुपैयाँ रहेको वाणिज्य बैंकहरूको कुल निक्षेप चैत मसान्तमा आउँदा ९.१४ प्रतिशतले बढेर ७१ खर्ब २७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।
यस्तै, गत असार मसान्तमा ५० खर्ब २५ अर्ब २१ करोड रुपैयाँ रहेको कर्जा प्रवाह चैत मसान्तमा आउँदा ५.५६ प्रतिशतले बढेर ५२ खर्ब ५० अर्ब ९४ करोड रुपैयाँ पुगेको बैंकर्स संघको तथ्यांकले देखाउँछ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२ प्रतिशतले विस्तार हुने अनुमान गरेको थियो । यस्तै, विस्तृत मुद्राप्रदायको वृद्धिदर १३ प्रतिशत हुने अनुमान गरिएको थियो । ‘आर्थिक वर्ष २०८२/८३ को लागि विस्तृत मुद्रा प्रदायको वृद्धिदर १३.० प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि दर १२.० प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ,’ मौद्रिक नीतिमा भनिएको छ ।
विस्तृत मुद्रा प्रदायमा ‘करेन्सी इन सर्कुलेसन’ र निक्षेप समावेश हुन्छ । करेन्सी इन सर्कुलेसनमा खासै ठुलो परिमार्जन नहुने भएकोले निक्षेपमा हुने वृद्धिले नै विस्तृत मुद्राप्रदायको वृद्धिदर कति रहन्छ भन्ने देखाउँछ । आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नै निक्षेपको वृद्धिदर ९ प्रतिशतमाथि पुगिसकेको छ । वाणिज्य बैंकहरूको तुलनामा विकास बैंक र फाइनान्स कम्पनीको निक्षेप वृद्धि भने केही न्यून छ ।
चैत मसान्तसम्मको तथ्यांक अनुसार निक्षेप ९.१४ प्रतिशतले वृद्धि हुँदा कर्जा भने साढे ५ प्रतिशतले मात्रै बढेको देखिन्छ । राष्ट्र बैंकको २०८२ फागुन मसान्तको वार्षिक विन्दुगत विस्तृत मुद्राप्रदायको वृद्धिदर १४.५ प्रतिशत र ८ महिनाको ६.७ प्रतिशत छ । यस्तै, निक्षेपको वार्षिक विन्दुगत वृद्धिदर १५.१ प्रतिशत र ८ महिनाको ६.६ प्रतिशत रहेको छ ।
निजी क्षेत्रमा प्रवाह भएको कर्जाको वृद्धिदर वार्षिक विन्दुगत आधारमा ६.७ प्रतिशत र ८ महिनाको ४.४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ । चैतमा मात्रै वाणिज्य बैंकहरूले निक्षेप १ खर्ब २३ अर्ब ४१ करोड रुपैयाँले बढाउँदा कर्जा ७७ अर्ब ९९ करोड रुपैयाँले बढेको बैंकर्स संघले जनाएको छ ।
एउटै बैंकको करिब १ खर्ब बढ्यो निक्षेप
बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म राष्ट्रिय वाणिज्य बैंकको मात्रै निक्षेप करिब १ खर्ब रुपैयाँले बढेको छ । २०८२ असार मसान्तमा ४ खर्ब ९३ अर्ब ९८ करोड रुपैयाँ रहेको बैंकको कुल निक्षेप चैत मसान्तमा ९८ अर्ब ३८ करोड रुपैयाँले बढेर ५ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, ग्लोबल आईएमई बैंकको निक्षेप ८० अर्ब ६४ करोड रुपैयाँले बढेर ६ खर्ब ५५ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।
नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा र नेपाल बैंकको निक्षेप पनि ५० अर्ब रुपैयाँभन्दा बढीले वृद्धि भएको छ । नबिल बैंकको निक्षेप ५६ अर्ब ६० करोड रुपैयाँले बढेर ५ खर्ब ८८ अर्ब ८४ करोड पुगेको छ । नेपाल बैंकको ५२ अर्ब ८६ करोड रुपैयाँले बढेर ३ खर्ब ८६ अर्ब ७३ करोड पुगेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५२ अर्ब ९२ करोड रुपैयाँले बढेर ५ खर्ब २९ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । प्रभु बैंकको भने निक्षेप बढेको छ । २०८२ असार मसान्तमा ३ खर्ब ३८ अर्ब ९ करोड रुपैयाँ रहेको उक्त बैंकको निक्षेप चैत मसान्तमा ३ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।
कर्जा लगानीमा एभरेष्ट आक्रामक, ३ बैंकको घट्यो
चालु आर्थिक वर्षको चैत मसान्तसम्मको कर्जा विस्तारमा एभरेष्ट बैंक आक्रामक देखिएको छ । ९ महिनामा बैंकको कर्जा ३९ अर्ब ९ करोड रुपैयाँले बढेको छ । २०८२ असार मसान्तमा २ खर्ब २३ अर्ब ६६ करोड रहेको कुल कर्जा चैत मसान्तमा १७.४८ प्रतिशतले बढेर २ खर्ब ६२ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।
प्रतिशतका आधारमा धेरै कर्जा बढाउनेमा माछापुच्छ्रे बैंक रहेको छ । असार मसान्तमा १ खर्ब ४७ अर्ब ३ करोड रहेको बैंकको कर्जा १२.८२ प्रतिशत अर्थात् १८ अर्ब ८५ करोड रुपैयाँले बढेर १ खर्ब ६३ अर्ब ९६ करोड पुगेको छ । नबिल बैंकको कर्जा ३८ अर्ब ७१ करोड (८.९३ प्रतिशत) ले बढेर ४ खर्ब ७२ अर्ब ४० करोड पुगेको छ भने ग्लोबल आईएमई बैंकको ३५ अर्ब ५४ करोड (८.०७ प्रतिशत) ले बढेर ४ खर्ब ७६ अर्ब १७ करोड पुगेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको कर्जा ३० अर्ब १४ करोड (९.७६ प्रतिशत) ले बढेर ३ खर्ब ३९ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । स्ट्यान्डर्ड चार्टर्ड, एनआईसी एशिया र प्रभु बैंकको भने कर्जा प्रवाह घटेको छ । स्ट्यान्डर्ड चार्टर्डको कर्जा १० अर्ब ४७ करोड (११.८४ प्रतिशत) ले घटेर ७७ अर्ब ९९ करोडमा झरेको छ । एनआईसी एशियाको १९ अर्ब ३७ करोड (८.०९ प्रतिशत) ले घटेर २ खर्ब २० अर्ब १७ करोडमा झरेको छ भने प्रभु बैंकको कर्जा ४ अर्ब २७ करोड (१.७७ प्रतिशत) ले घटेर २ खर्ब ३६ अर्ब ९० करोड रुपैयाँ कायम भएको छ ।