राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
बाँके १ का उम्मेदवार मतदाता रिझाउन गाउँगाउँमा
नेपालगन्ज । यहाँका तीन निर्वाचन क्षेत्रमध्ये सबैभन्दा ठूलो क्षेत्र हो—क्षेत्र नं १ मा एक लाख २४ हजार ७२७ मतदाता रहेको छन् । यस क्षेत्रमा १४१ मतदान केन्द्र छन् ।
यस क्षेत्रमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्रसहित १४ जना उम्मेदवार प्रतिस्प्रधामा छन् । हाल यहाँका उम्मेदवार तथा दलहरू मतदाता रिझाउन गाउँगाउँ पुगिरहेका छन् । पहिलो चरणको भेटघाट पूरा गरिसकेका राजनीतिक दलका उम्मेदवार औपचारिक रूपमा घरदैलो अभियानमा व्यस्त देखिन्छन् ।
जिल्लाको कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका यस निर्वाचन क्षेत्रान पर्छन् । उम्मेदवारहरू यी क्षेत्रका घरघरमा पुगेर मतदातालाई रिझाउने कोसिसमा छन् । यसअघि यस क्षेत्रबाट एमालेका सूर्य ढकाल निर्वाचित भएका थिए । यसपटक पनि उनी प्रतिस्पर्धामा छन् ।
विसं २०७९ को चुनावमा २५ हजार २६ मत ल्याएर विजयी भएका ढकालले तीन वर्षमै संसद् विघटन भएकाले आफ्नो पाँचवर्षे कार्ययोजना पूरा गर्न नपाएको भन्दै मत मागिरेका छन् । “निर्वाचन क्षेत्रका धेरै योजना अलपत्र अवस्थामा छन्, तिनलाई पूरा गर्न पनि म चुनावी मैदानमा आएको छु”, उनले भने ।
ढकालले राप्ती नदीका कतिपय क्षेत्रमा पुल नभएका कारण एम्बुलेन्स र दमकल पनि जान नसक्ने अवस्था रहेकाले बाटोघाटो निर्माण आफ्नो प्राथमिकतामा रहेको बताए ।
यहाँ कांग्रेसबाट जिल्ला सभापति नारायण गौडेल उम्मेदवार छन् । विसं २०७४ मा यस क्षेत्रको प्रदेश ‘ख’ बाट प्रत्याशी बनेर पराजित हुनुभएका गौडेल यसपटक प्रतिनिधिसभा सदस्य जित्ने लक्ष्यसहित चुनावी मैदानमा आएको बताउँछन् । उनले बाँके राष्ट्रिय निकुञ्जका कारण भोग्नु परेका सास्ती’bout स्थानीयले ध्यानाकर्षण गराएको उल्लेख गर्दै मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि कानुनी संरचनागत सुधार तथा अन्य अत्यावश्यक पूर्वाधार निर्माणमा आफूले भूमिका खेल्ने बताए ।
नेकपाबाट नरेन्द्र पाण्डे उम्मेदवार छन् भने प्रगतिशील लोकतान्त्रिक पार्टीबाट कृष्णा केसी ‘नमूना’ उम्मेदवार छन् । नमूना यस क्षेत्रको प्रदेश ‘क’ बाट लगातार दुईपटक विजयी भएका थिए । प्रदेश सांसद पदबाट राजीनामा दिएर उनी प्रतिनिधिसभा सदस्यका लागि प्रत्याशी भएका थिए ।
पाण्डेले स्वास्थ्य, शिक्षा, कृषि, उद्योग, पूर्वाधार, सामाजिक न्याय, युवा तथा खेलकुद र सुशासनलाई प्राथमिकतामा राखेको बताए । प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित, आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन तथा मातृशिशु स्वास्थ्य सेवालगायत मुद्दामा विशेष ध्यान दिने योजना रहेको उनले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुरेश चौधरी यसअघि २०७९ सालको चुनावमा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिस्पर्धा थिए । उनी ११ हजार ४६५ मतसहित तेस्रो भएका थिए ।
यस क्षेत्रको विगत हेर्दा २०६४ मा माओवादीका तिलक परियार, २०७० मा एमालेका देवराज भार र २०७४ मा माओवादीका महेश्वर गहतराज निर्वाचित भएका थिए ।
यहाँका प्रमुख समस्याका रूपमा राप्ती नदीको कटान र बाँके राष्ट्रिय निकुञ्जका जनावरबाट हुने क्षति रहेका छन् । राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजना पूर्ण नहुनु पनि यहाँको मुख्य मुद्दा मानिन्छ । यससँगै स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधार निर्माण पुराना ‘एजेन्डा’ छन् ।
हालका प्रायः सबै उम्मेदवारले यी मुद्दा उठाएका छन् । जनसङ्ख्या र भूगोलका हिसाबले यस निर्वाचन क्षेत्रलाई ठूलो मानिएको छ । राप्तीसोनारी गाउँपालिका–४ की रामरजित थारूले कृषि क्षेत्रमा मलखाद र सिँचाइको अभाव झेल्दै आएको उल्लेख गर्दै खेतमा काम गरिरहेको अवस्थामा खेतमा नै पुगेर उम्मेदवारले भोट मागेको बताए । “यसरी आउने उम्मेदवारलाई मलखाद, सिँचाइ सुविधा, स्वास्थ्य र शिक्षामा सहज पहुँचका लागि ठोस योजना चाहिन्छ भने उम्मेदवारलाई भनिरहेका छौँ”, उनले भने ।
राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका केही बस्ती अहिले पनि दुर्गम बस्तीका रूपमा रहेका छन् । यी क्षेत्रमा थारू र मुस्लिम समुदायको बाहुल्यता रहेको छ ।
The post बाँके १ का उम्मेदवार मतदाता रिझाउन गाउँगाउँमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....