News of Nepal
चुनावको केन्द्रमा भूमिहीनका मुद्धा
हेटौंडा ।
मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा चुनाव नजिकिँदै जाँदा भूमिहीन तथा अव्यवस्थित बसोबासीका मुद्धा बहसको केन्द्रमा पुगेको छ ।
मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा भूमिहीनको लालपुर्जा मुद्धा अब केवल चुनावी नारामा सीमित नभइ समाधानमुखी पहलतर्फ उन्मुख हुने संकेत देखिएको छ । स्थानीयले पनि यसपटक प्रतिबद्धता कार्यान्वयनमा परिणत हुने विश्वास व्यक्त गरेका छन् ।
क्षेत्र नम्बर–१ का बकैया र बागमती गाउँपालिका तथा क्षेत्र नम्बर–२ अन्तर्गत हेटौंडा उपमहानगरपालिका–११, सिमलटारका हजारौं परिवारको लालपुर्जा समस्या समाधान गर्ने विषयलाई उम्मेद्वारहरुले प्राथमिक एजेण्डाका रुपमा अघि सारेका छन् ।
वर्षौंदेखि भोगचलन गरिरहेको जग्गाको औपचारिक स्वामित्व नहुँदा कानुनी तथा आर्थिक असुरक्षा भोगिरहेका स्थानीयलाई लक्षित गर्दै विभिन्न दलका उम्मेद्वार टोलटोलमा पुगेर स्पष्ट कार्ययोजना सार्वजनिक गर्न थालेका छन् । यसले लामो समयदेखि उठ्दै आएको विषयलाई संस्थागत समाधानतर्फ लैजान दबाब सिर्जना गरेको छ ।
क्षेत्र नम्बर–२ का एमाले उम्मेद्वार महेश बर्तौलाले सिमलटार पुगेर भूमिहीन, दलित र अव्यवस्थित बसोबासीका मुद्धालाई संसद्मा सशक्तरुपमा उठाउने प्रतिबद्धता जनाउनुभयो । भूमिअधिकार मञ्च मकवानपुरले बुझाएको सुझावपत्रमार्फत खाद्यान्न, आवास र खेतीयोग्य जमिनको सुनिश्चितता गर्न माग गरिएको थियो ।
क्षेत्र नम्बर–१ मा कांग्रेसकी महालक्ष्मी उपाध्याय डीना, एमालेका रामेश्वर रानालगायत अन्य दलका उम्मेद्वारहरुले पनि भूमिहीनको समस्या समाधानलाई आफ्नो प्राथमिकतामा राख्नुभएको छ । क्षेत्र नम्बर–२ मा कांग्रेसका बुद्ध लामासहित विभिन्न दलका उम्मेद्वारहरुले लालपुर्जा वितरण प्रक्रिया छिटो र पारदर्शीढंगले अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ ।
स्थानीय तहबाट प्रारम्भिकरुपमा संकलित फारामहरु सम्बन्धित निकायसम्म पु¥याइ प्रक्रिया अघि बढाउने पहलसमेत तीव्र पारिने जनाइएको छ । सडक, खानेपानी, विद्युत् जस्ता पूर्वाधार विस्तार भइसकेको सिमलटार बस्तीमा अब स्वामित्व प्रमाणपत्र वितरणतर्फ ठोस प्रगति हुने अपेक्षा गरिएको छ ।
हेटौंडा उगमहानगरपालिका–११ स्थित मकवानपुर जिल्ला भूमिअधिकार मञ्चले नेकपाका मकवानपुर क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार लवशेर बिष्टलाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या समाधान नभएको भन्दै ध्यानाकर्षणपत्र बुझाएका छन् ।
पुस्तौंदेखि जोतभोग गर्दै आएको जग्गा हालसम्म नापी नगरेर समस्या खडा गर्दै हालसम्मका सरकारले गरिबहरुमाथि थिचोमिचो गर्दै आएकाले अब बन्ने सरकारले हेटौंडाबासीका समस्या समाधान गर्न पहल गरोस् भनेर मकवानपुर जिल्ला भूमिअधिकार मञ्च सदस्य विकास तितुङले ध्यानाकर्षणपत्र बुझाउनुभएको हो ।
मञ्चले बुझाएको भूमिसम्बन्धी ध्यानाकर्षणपत्रलाई आत्मसात गर्दै उम्मेद्वार बिष्टले आफूले जितेर गएपछि भूमिसम्बन्धी समस्यालाई पहिलो मुद्धाका रुपमा उठान गर्ने बताउनुभयो ।
मञ्च नगर अध्यक्ष गोबिन्दप्रसाद न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य कुमारी मोक्तान, प्रदेश सदस्य सागर बानियाँ, नेकपा नेता कमलचन्द्र सुमन, वीरबहादुर घलान (ज्वाला) लगायत नेताहरुको आतिथ्यता थियो । मञ्चले उम्मेद्वारत्रय दीपक सिंह, डा.प्रवीणकुमार स्यांतान र महालक्ष्मी डीनालगायतलाई पनि पत्र बुझाएको थियो ।