राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
पर्सा १ का मतदाता रिझाउन घरदैलोमा उम्मेद्वारहरु
वीरगन्ज । ‘आश्वासनका पोका’ स-याउँदै मतदाता रिझाउन पर्सा १ का उम्मेद्वार पनि मतदाताको घरदैलोमा पुग्न थालेका छन् । २०८४ मा हुनुपर्ने निर्धारित निर्वाचन मिति सरेर २०८२ फागुन २१ मा हुने भएपछि आश्वासनका पोका गुजुल्ट्याउँदै मतदाताको घर दैलोमा उनीहरु बाड्न पुगेका हुन् ।
पुराना दलका उमेद्वार विगतका आश्वासनका पोकाको धुलो टक्टक्याउँदै नयाँ रंग घसेर मतदाताको घर आँगनमा निढुक्क मत माग्दैछन् । जसमा नेपाली काँग्रेसका उमेद्वार अनिल रुंगटा लागि परेका छन् । उनको सरल व्यवहार प्रति मतदाता पनि चिढिएका छैनन् ।
ह्याट्रिकको दाऊ
त्यसै गरी पुराना मध्ये २०७४ तथा २०७९ मा दुई पटक पर्सा १ बाट निर्वाचित प्रदिप यादव अब ह्याट्रिक मार्ने दाउमा मतदाता रिझाउन ध्याउन्नमा छन् । उनी निर्वाचनमा मतदाता रिझाउन अरुभन्दा अनुभवि मानिन्छिन् । तर साविकमा फोरम अनि जसपा र अहिले एमालेबाट उमेद्वार बनेका यादव मतदाताको नजरमा ‘दलबदलु’ नेताका रुपमा जिल्लामा चिनिन्छन् । टिकटका लागि एमालेमा पनि उमेद्वारी मनोनयनको अघिल्लो दिन मात्र प्रवेश गरेको आरोप खेप्दै मतदाताबाटै खेप्दै पनि आएका उनी मधेश आन्दोलनका समयमा सबैभन्दा बढि एमालेलाई उछितो काड्ने नेता मध्येमा पनि पर्छन् ।
तथापि राजनीतिमा आफ्नो पार्टीमा प्रवेश गर्नेलाई सो पार्टीले सुनपानी छर्किने मान्यताले यादव पनि एमालेका चोखिएका कार्यकर्तामा दर्ज भइसकेको एमाले जनले स्वीकारेका छन् । प्रतिस्पर्धीहरु मध्ये यादव यो पटक पनि अब्बल नै रहेको पर्सा क्षेत्र नम्बर १ का मतदाताहरुको तर्क छ । जसपा नेपालबाट निर्वाचित यादव पछिल्लो ३ वर्षे प्रतिनिधि सभा सदस्यकालमा वन मन्त्री, स्वास्थ्य मन्त्री हुँदै पछिल्लो समय अशोक राईको जसपाबाट, पुनः खानेपानी मन्त्रीका रुपमा सरकारको वागडोर सम्हाल्ने मन्त्री मध्येका पनि हुन् ।
गएको भदौ २३ र २४ गतेको ध्वंसात्मक आन्दोलन पछि भने उनी पुनः उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल हुँदै निर्वाचनमा मुखमा उमेद्वार बन्ने टिकटसँगै एमाले प्रवेश गरेको अधिकाँश पर्सावासी जानकार छन् । उनी प्रतिपर्धाको कम चर्चामा छैनन् ।
नयाँ अनुहार पुरानाका लागि चुनौति
उदीयमान भनिएका नयाँ दलका उमेद्वारमा रास्वपाका पर्सा सभापति हरि पन्त पनि पुराना दलका कमजोरीको पोका गुजुल्ट्याउँदै मतदाताको मन तान्न खप्पिस रहेको मतदाताको दावी छ । त्यसमा पनि ‘मधेशका बेटा, अबकी बार बालेन सरकार’ भन्ने नारा घन्किएको मधेशमा घन्टी छापका पन्त पनि पर्सा क्षेत्र नम्बर १ मा पुराना भनिएका कांग्रेस, एमालेलाई सहजै अबिर पैरन नदिने ध्याउन्नमा छन् । पर्साको क्षेत्र नम्बर १ को बजार क्षेत्रका अधिकाँस मतदाता कांग्रेसका रुंगटा, रास्वपामा पन्त र एमालेका यादवको प्रतिस्पर्धा नै भाले जुधाईको भीडन्त भएको दावी गर्छन् ।
तर, पर्सा १ मा जनमत पार्टीका ओम प्रकाश सर्राफ, जसपा नेपालका राम नरेश यादवसहित ३० जना उमेद्वार नै मैदान दरिएकाले बाजी मार्ने प्रतिक्षा फागुन २१ प्छि नै निक्र्योल हुने प्रष्ट छ ।
आश्वासनको ठोस प्रतिवद्धता सार्वजनिक गर्ने पराग पहिलो
फागुनको ६ गते काँग्रेसले मधेश प्रदेशको जनकपुरमा पुगेर दलको प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । त्यसै गरी फागुन ७ गते बढि चर्चामा रहेका अरु दलहरु एमाले र रास्वपाले पनि निर्वाचन घोषणा पत्र र बाचा पत्र तथा अन्यले पनि प्रतिवद्धता पत्रहरु सार्वजनिक गरी बल्ल फागुन ७ गते पछि प्रायः सबै उमेद्वार व्यवस्थित ढंगले पार्टीको आगामी रणनीति सहित आफ्नो निर्वाचन क्षेत्रमा होमिएका छन् । पर्साको क्षेत्र नम्बर १ मा होमिएका उमेद्वारहरु मध्ये संचारकर्मी सामु पहिले उज्यालो नेपाल पार्टीका तर्फबाट उमेद्वार बनेका रामशिोर सिंह (पराग) ले ४ गते नै पार्टीको ठोस प्रतिवद्धता पत्र सार्वजनिक गरेका थिए । उनी आधिकारिक दस्तावेज सार्वजनिक गर्ने पर्सा १ का पहिलो उमेद्वार पनि बनेका छन् ।
अन्य उमेद्वारले पनि आफ्नै तरिकाले जनता रिझाउने आवश्वासनका दस्तावेजहरु सार्वजनिक गरिरहेका छन् ।
The post पर्सा १ का मतदाता रिझाउन घरदैलोमा उम्मेद्वारहरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....