npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

न्युक्लियर डस्ट अमेरिकालाई बुझाउन इरान तयार भएको ट्रम्पको दाबी

विन्देश दहाल 7 hours ago

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरान आफ्नो आणविक धूलो (न्युक्लियर डस्ट) अमेरिकालाई हस्तान्तरण गर्न तयार रहेको दाबी गरेका छन् ।

आणविक धूलो ट्रम्पले इरानको अत्यधिक संवर्धित युरेनियमका लागि प्रयोग गरेको शब्दावलि हो । यो गत वर्ष जुन महिनामा तीनवटा प्रमुख इरानी आणविक केन्द्रहरूमा अमेरिकी आक्रमणपछि जमिनमुनि गहिरो गरी पुरिएको विश्वास अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले गरेको छ ।

अमेरिकीहरू वा उनीहरूका पाकिस्तानी मध्यस्थकर्ताहरूसँगको वार्तामा यस्तो कुनै पनि शर्तमा सहमत भएको बारे इरानी पक्षबाट तत्काल कुनै पुष्टि भएको छैन । तर, यो सत्य हो भने तेहरानको आणविक हतियार उत्पादन गर्ने क्षमता घटाउने अमेरिकी प्रयासमा महत्त्वपूर्ण कदम हुनेछ ।

‘युरेनियमको कुनै संवर्धन हुनेछैन,’ ट्रम्पले भने । अमेरिकाले इरानसँग मिलेर गहिरो गरी पुरिएका सबै आणविक धूलो खनेर निकाल्ने र हटाउने काम गर्ने उनले थपे ।

जुन महिनामा अमेरिका र इजरायलले इरानमा हवाई आक्रमण गर्नुअघि इस्लामिक गणतन्त्रसँग ४०० किलोग्रामभन्दा बढी ६० प्रतिशत अत्यधिक संवर्धित युरेनियम र करिब २०० किलोग्राम २० प्रतिशत विखण्डनयोग्य पदार्थ रहेको विश्वास गरिएको थियो । त्यसलाई सजिलै ९० प्रतिशतको हतियार–ग्रेड युरेनियममा परिणत गर्न सकिन्छ ।

तेहरानले युरेनियम संवर्धनको आफ्नो उद्देश्य ऊर्जा उत्पादन र ऊर्जा सुरक्षा भएको र आणविक हतियार नभएको भन्दै आएको छ । तर, उपलब्ध तथ्यांकले अर्कै कुरा संकेत गर्छ ।

इरानले सन् २०४१ सम्ममा आफ्नो आणविक विद्युत् उत्पादन क्षमता २० गिगावाट पुर्याउने योजना घोषणा गरेको छ । तर, रुसद्वारा निर्मित र सन् २०१३ मा व्यावसायिक रूपमा खोलिएको इरानको बुशहर पावर प्लान्टको क्षमता मात्र १ हजार मेगावाट छ र यो देशको एक मात्र सञ्चालित आणविक केन्द्र हो ।

यो इरानको समग्र विद्युत् उत्पादनको करिब १ प्रतिशत मात्र हो । इरानको विद्युत् ग्रिडमा रहेको वर्तमान २५ हजार मेगावाटको अभाव पूर्ति गर्न इरानले बुशहर जस्तै थप २५ वटा पावर प्लान्टहरू निर्माण गर्नुपर्नेछ । त्यसको निर्माण सम्पन्न हुन करिब २० वर्ष लागेको थियो ।

जर्मनीको सरकारी सञ्चारमाध्यम डोयचवलसँग कुरा गर्दै अमेरिकाको जर्ज मेसन युनिभर्सिटीका ऊर्जा रणनीतिकार र सिनियर भिजिटिङ फेलो उमुद शोकरीले भने, ‘इरानसँग विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्यास र तेल भण्डारहरू छन् जसले आणविक ऊर्जाको तुलनामा निकै कम लागतमा विद्युत् उत्पादन गर्न सक्षम बनाउँछ ।’

‘व्यवहारमा यसको विद्युत् मिश्रणमा प्राकृतिक ग्यासकै वर्चस्व छ जबकि आणविक ऊर्जाले बुशहरको एउटै रिएक्टरबाट सानो हिस्सा मात्र योगदान पुर्याउँछ ।’

इरानको धेरैजसो युरेनियम भण्डार ट्रम्पले आदेश दिएको अमेरिकी बमवर्षामा ध्वस्त भएको एउटा पहाडी केन्द्रको भग्नावशेषमुनि पुरिएको विश्वास गरिन्छ । उक्त आक्रमणले तेहरानको आणविक कार्यक्रम नामेट पारेको ट्रम्पले दाबी गरेका थिए ।

आईएईएका महानिर्देशक राफेल ग्रोसीका अनुसार, इरानको आणविक सामग्री मुख्यतया अमेरिकाले आक्रमण गरेका तीनमध्ये दुईवटा स्थानमा भण्डारण गरिएको छ— इसफाहानको आणविक परिसरको भूमिगत सुरुङ र नातान्जको एउटा गोप्य भण्डारमा ।

इरानीहरूसँग युरेनियम संवर्धन गर्न सेन्ट्रीफ्युजहरू र नयाँ भूमिगत संवर्धन केन्द्र स्थापना गर्ने क्षमता रहेको रिपोर्टहरूले दाबी गरेका छन् ।

इरानको आणविक कार्यक्रमको अस्तित्व ट्रम्प प्रशासन र तेहरानबीचको तनावको मुख्य विन्दु रहेको छ । अमेरिकाले इरानको संवर्धित युरेनियमलाई सुरक्षा चिन्ताको रूपमा हेरेको छ किनभने यो सामग्री आणविक हतियार बनाउन प्रयोग गर्न सकिन्छ ।

इरानले लामो समयदेखि आफूले आणविक हतियार नखोजेको बताउँदै आएकाले भविष्यमा पनि नबनाउने कुनै पनि वाचा ठूलो उपलब्धि नहुन सक्छ । तर, तेहरान वास्तवमै संवर्धित युरेनियमको वर्तमान भण्डार हस्तान्तरण गर्न सहमत भएको हो भने यो धेरै ठूलो सम्झौता साबित हुनेछ । तर, इरानले थप संवर्र्धन गर्ने क्षमता कायम राखेमा यो अझै पनि सीमित हुनेछ ।

गत गर्मी याममा इरानको आणविक केन्द्रहरूमा गरिएको अमेरिका–इजरायली हवाई आक्रमणले इस्लामिक गणतन्त्रले युरेनियम संवर्धन गर्न प्रयोग गर्ने धेरै सेन्ट्रीफ्युजहरू नष्ट गरेको वा काम नलाग्ने बनाएको अमेरिकी अधिकारीहरूले दाबी गरेका छन् । तर, इरानसँग अन्य सेन्ट्रीफ्युजहरू पनि रहेको व्यापक रूपमा विश्वास गरिन्छ ।

Read more news from Clickmandu

Explore by Source or Category