npl.977 Nepal News Stream

देशसञ्चार logo देशसञ्चार

गहुँ भित्र्याएर चैते धान रोपाई

दशरथ घिमिरे 4 hours ago

दाङ- दाङको तुलसीपुरमा गहुँ भित्र्याएका किसान प्रमोदमणि देवकोटाले चैते धान रोपेका छन् । तुलसीपुर–१७ का किसान देवकोटाले गहुँ काटिसकेपछि खाली रहने जमिनलाई उपयोग गर्दै चैते धान खेती सुरु गरेका हुन् ।

वनकट्टी क्षेत्रमा करिब पाँच बिघा जमिनमा सुरु गरिएको यो खेती सिँचाइ सुविधा भएको जमिनको अधिकतम उपयोग गर्ने उद्देश्यले गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाको सहयोग तथा बिजौरी साना किसान कृषि सहकारी संस्थामार्फत देवकोटाले पहिलो पटक चैते धान रोपेका हुन् ।

देवकोटाका अनुसार चैतदेखि असारसम्म बाँझो रहने जमिनलाई उपयोग गर्दै अब एउटै खेतमा वर्षमा दुई पटक धान उत्पादन गर्ने योजना अघि बढाइएको छ । उनले यसअघि बर्खे धान मात्र उत्पादन हुने गरेको क्षेत्रमा अब हिउँदमा पनि धान खेती सम्भव रहेको सन्देश दिन खोजिएको बताए ।

ट्याक्टरको प्रयोग गरी खेत जोतेर रोपाइँ गरिएको धान असारको अन्त्यतिर पाक्ने अपेक्षा गरिएको छ । एउटै जमिनमा गहुँ र दुई बाली धान उत्पादन गर्ने अभ्यासले अन्य किसानलाई समेत प्रेरणा मिल्ने विश्वास देवकोटाले व्यक्त गरेका छन् ।

चैते धान रोपाइँ कार्यक्रमको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले उत्पादन वृद्धि र जमिनको सदुपयोग गर्ने किसानलाई स्थानीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले सिँचाइ सुविधा भएका क्षेत्रमा चैते धान खेती विस्तार गर्न योजना बनाइए पनि किसानको उत्साह कम देखिएको अवस्थामा देवकोटाको पहल उदाहरणीय भएको उल्लेख गरे ।

कार्यक्रममा कृषि शाखा प्रमुख कुलराज चौधरीले बर्खे धानको तुलनामा चैते धानको उत्पादन बढी हुने जानकारी दिँदै खाली जमिनको उपयोग गर्न किसानलाई आग्रह गरे ।

उनले खाद्यान्न उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लागि बहुउपयोगी खेती आवश्यक रहेको बताउँदै अहिले सुरु गरिएको यो अभ्यास आगामी वर्षदेखि अन्य क्षेत्रमा विस्तार हुने विश्वास व्यक्त गरे ।

Read more news from देशसञ्चार

Explore by Source or Category