npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

थप लगानीको पहिलो शर्त भनेकै सुरक्षाको प्रत्याभूति हो

क्लिकमान्डु 9 hours ago

गोल्छा परिवारले विराटनगरलाई कर्मथलो बनाएर व्यापार थालेको एक शताब्दी बितिसकेको छ । यस अवधिमा परिवारका चार पुस्ताले उद्योग र व्यापारलाई निरन्तर अघि बढाएका छन् । आज पनि उद्योग तथा व्यापार क्षेत्रमा गोल्छा परिवारको मुलुकभरि उल्लेखनीय योगदान र प्रभावको विषयमा धेरैलाई थाहा छ । तर, यति लामो व्यावसायिक यात्राको दौरानमा भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनजस्तो अवस्था भने भोग्नुपरेको थिएन ।

उक्त प्रदर्शनका क्रममा निजी क्षेत्रले भौतिक र आर्थिक क्षतिसँगै गम्भीर मानसिक तनाव पनि बेहोर्नुपर्‍यो । आक्रमण र आगजनीका घटनामा पसल, कार्यालय र शोरूममा तोडफोड भयो । धेरै गोदाम तथा सामग्री नष्ट भए भने निजी सवारी साधनमा ठूलो क्षति पुग्यो । प्रत्यक्ष क्षतिसँगै व्यापार अवरुद्ध हुँदा आम्दानी गुम्नुको साथै आपूर्ति शृंखला प्रभावित भयो । यसले नियमित खर्च यथावत रहे पनि बजार र ग्राहकको विश्वासमा नकारात्मक असर पुर्‍यायो ।

मेरो उद्योग तथा व्यवसाय कोशी र लुम्बिनी प्रदेशमा फैलिएको छ । त्यहाँ करिब एक हजारले रोजगारी पाएका छन् । जेनजी आन्दोलनका क्रममा भौतिक रूपमा मेरो व्यवसायमा ठूलो नोक्सानी नपुगे पनि अन्य ठाउँमा असर पर्दा त्यसको असर भने पक्कै पर्न गयो । जेनजी आन्दोलनपछि म र मेरा कर्मचारीमा त्रासको वातावरण सिर्जना भयो।

तर, जेनजी आन्दोलनप्रतिको मेरो डर र चिन्ता आंशिक रूपमा सही भए पनि मैले यसलाई सुधारको अवसरका रूपमा पनि लिनुपर्छ भन्ने लाग्छ । प्रदर्शनले सिर्जित अनिश्चितताले लगानी वातावरणमा केही समयका लागि असर पारेको यथार्थ हो । तर, उचित संवाद, स्थिर नीति, दृढ विश्वास र कुशल नेतृत्वमार्फत यस असरलाई न्यूनीकरण गर्न सकिन्छ भन्नेमा हामी आशावादी छौं ।

अबका दिनमा सरकार र निजी क्षेत्रबीच सहकार्य सुदृढ हुन सके लगानी वातावरण मजबुत बन्ने सम्भावना छ । जेनजी प्रदर्शनपछि व्यक्तिगत रूपमा, कर्मचारीहरूमा र समग्र व्यावसायिक जगतमा डर, असुरक्षा र अनिश्चितताले तनाव बढाएको छ । व्यापार अवरुद्ध हुने डर, कर्मचारीको सुरक्षाबारे चिन्ता र थप लगानीमा अन्योलको स्थिति छ । तर, अवस्था क्रमशः सामान्य बन्दै जाँदा विश्वास र स्थिरता पनि बिस्तारै फर्किंदै गएको कुरा बुझ्नुपर्छ ।

समग्रमा जेनजी आन्दोलनको एक–दुई महिनापछि निजी क्षेत्र खरानीबाट उठेर पुनः आफ्नो नियमित कर्ममा फर्किसकेको छ । निजी क्षेत्रको यस मनोबललाई सरकारले अझ मजबुत बनाउन आवश्यक छ । जेनजी प्रदर्शनपछि व्यावसायिक वातावरण जोगाउन सरकारले सुरक्षा व्यवस्था मजबुत बनाउने, शान्ति–सुरक्षा कायम गर्ने, निजी क्षेत्रसँग संवाद बढाउने र प्रभावित व्यवसायको अवस्था बुझ्ने प्रयास गर्नुपर्छ ।

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको सरकार निर्वाचनको सीमित म्यान्डेटसहित गठन भएकाले धेरै ठूला वा दीर्घकालीन निर्णय गर्ने अधिकार र क्षमता सीमित हुन सक्छ भन्ने कुरा बुझ्न जरुरी छ । यस्तो अवस्थामा सरकारले कम्तीमा पनि शान्ति–सुरक्षा सुनिश्चित गर्ने, निजी क्षेत्रसँग निरन्तर संवाद कायम गर्ने, प्रशासनिक अड्चन नआउने वातावरण बनाउने र नीतिगत स्पष्टताको संकेत दिने काम गर्नुपर्छ ।

निजी क्षेत्रलाई हेर्ने सरकार र समाजको दृष्टिकोण परिवर्तन हुनु जरुरी छ । धनी वर्ग र व्यवसायी सधैं खराब हुन्छन् भन्ने पुरातन सोच अझै विद्यमान रहेकाले यसले निजी क्षेत्रप्रति नकारात्मक धारणा पैदा गरेको छ । निजी क्षेत्रको विस्तारमार्फत बढी रोजगारी सिर्जना गर्ने, स्थिर काम र सम्मानजनक आम्दानीका अवसर उपलब्ध गराउन सकियो भने आम जनताले व्यवसायीलाई हेर्ने नजर बदलिनसक्छ ।

रोजगारी, आय वृद्धि र समावेशी विकासले नै निजी क्षेत्र र सर्वसाधारणबीचको दूरी घटाउँदै आपसी विश्वास बलियो बनाउन सक्छ । त्यसका लागि सरकारले उद्योग र व्यापार क्षेत्रको सुरक्षाको स्पष्ट ग्यारेन्टी दिनु आवश्यक छ । जेनजी आन्दोलनपछि लगानी वातावरण कमजोर बन्दै गएको छ । अब सरकारले सुरक्षा प्रत्याभूत गर्दै लगानीमैत्री वातावरण निर्माण गर्नुपर्छ ।

लगानीकर्ताका लागि थप लगानीको पहिलो सर्त भनेकै सुरक्षाको प्रत्याभूति हो । नेपालमा लगानीमैत्री वातावरण बनाउन सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाले आ–आफ्नो भूमिकालाई स्पष्ट र जिम्मेवार रूपमा निर्वाह गर्नुपर्छ । सरकारले नीति स्थिरता, कानुनी स्पष्टता, शान्ति–सुरक्षा र लगानी संरक्षण सुनिश्चित गर्नुपर्छ । यसो भएमा मुलुकमा लगानीको वातावरण बन्न मद्दत पुग्छ ।

(प्रस्तुत लेख ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन तयार गर्ने क्रममा सोधिएका प्रश्नहरुमा भूदेव खाद्य उद्योगका प्रबन्ध निर्देशक गोल्छाले दिएको जवाफका आधारमा तयार पारिएको हो।)

Read more news from Clickmandu

Explore by Source or Category