npl.977 Nepal News Stream

देशसञ्चार logo देशसञ्चार

पोखरामा शनिबारदेखि राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै

देश सञ्चार 13 hours ago

कास्की – देशको पर्यटकीय राजधानी पोखरास्थित पोखरा रङ्गशालामा शनिबारदेखि पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता सुरु हुँदै छ।

पोखरा रङ्गशालाको टेनिस कम्प्लेक्समा यही वैशाख ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी आयोजक कास्की जिल्ला टेनिस सङ्घले आज पत्रकार सम्मेलनमार्फत दिएको हो।

प्रतियोगितामा यु–८, यु–९, यु–१०, यु–१२, यु–१४, यु–१६ र यु–१८ उमेर समूहका ‘ब्वाइज’ तथा ‘गल्र्सतर्फ’ ‘सिङ्गल्स’ र ‘डबल्स’ गरी कुल १६ इभेन्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक लोकबहादुर गुरुङले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा कास्कीका १५ जना खेलाडीसहित देशका अन्य जिल्लाबाट गरी ९० खेलाडीको सहभागिता रहनेछ।

प्रतियोगितामा पोखरासहित काठमाडौँ, चितवन र बुटवलका खेलाडीहरूको सहभागिता रहने सङ्घका कार्यवाहक अध्यक्ष नवीन चालिसेले बताए। यस प्रतियोगिताले नयाँ तथा प्रतिभाशाली खेलाडीहरूको प्रतिभा प्रस्फुटनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने चालिसेले बताए।

‘विद्यालय तहदेखि नै टेनिस खेल विकास गरी योग्य सक्षम खेलाडी उत्पादनमा प्रतियोगिताले सहयोग पुग्ने विश्वास लिएका छौँ। पोखरामा खेल पर्यटन प्रवर्द्धनका लागि पनि प्रतियोगिता महत्त्वपूर्ण हुनेछ,’ चालिसेले भने।

प्रतियोगिताको तयारी पूरा भएसँगै स्थानीय खेलाडीहरूले यो प्रतियोगितालाई अवसरका रूपमा लिएको बताउँदै यहाँबाट उत्पादित खेलाडीहरूको अन्य प्रतियोगितामा समेत उत्साहजनक सहभागिता रहेको बताइन्छ।

प्रतियोगिता सम्पन्न गर्न करिब रु तीन लाख खर्च लाग्ने अनुमान गरिएको छ। विजेता खेलाडीलाई मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ। साथै, प्रतियोगिताले खेलाडीको जुनियर वरियतामा सुधार ल्याउनसमेत सहयोग पुग्ने आयोजकले जनाएको छ।

प्रतियोगिताको मुख्य प्रायोजन कुमार मोहनबहादुर शाहीले गरेका छन्। उनले आफ्ना नातिनातिनीको नाममा यस प्रतियोगितालाई विगत पाँच वर्षदेखि प्रायोजन गर्दै आएको सङ्घका सचिव भीष्मराज पौडेलले जानकारी दिए। रासस

Read more news from देशसञ्चार

Explore by Source or Category